न्युयोर्क — बहुपक्षीय कूटनीति आफैंमा जति आकर्षक सुनिन्छ, कार्यान्वयनमा जाँदा त्यत्तिकै चुनौतीपूर्ण हुन्छ । बहुपक्षीय कूटनीति र त्यसको परिवेशलाई बुझ्न तथा आफ्ना अनुभव सुनाउन नेपालबाट यस पटक संयुक्त राष्ट्रसंघ (यूएन) को ७९ औं महासभामा तीन युवा नेताहरू प्रतिनिधिका रूपमा आएका छन् ।
जसमा पर्शुराम नगरपालिकाका प्रमुख भरत जोशी, काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनीता डंगोल र एमालेका युवा नेता अब्दुस मियाँ छन् ।
बहुपक्षीय कूटनीतिक मेलामा जिज्ञासा राख्ने, सिक्ने र आफ्नो अनुभव पनि अन्य मुलुकका प्रतिनिधिहरूलाई सुनाउने काम नेपाली युवा प्रतिनिधिहरूले गरेका छन् । राष्ट्रसंघको मुख्यालयको मुख्य सभा हलमा ‘समिट अफ द फ्युचर’ को पूर्वसन्ध्यामा शुक्रबार दुईदिने ‘एक्सन डेज’ कार्यक्रम सुरु भएको थियो । उक्त कार्यक्रममा यूएनका महासचिव एन्टोनियो गुटेरेसले युवाको महत्त्वपूर्ण र प्रभावकारिताका बारेमा मन्तव्य राखेका थिए ।
सभा हलमा भएको छलफलमा महासचिव गुटेरेसले भनेका थिए, ‘शक्ति भनेको अरूले दिने होइन, आफैंले लिने हो ।’ उनले युवाहरूलाई लक्षित गरेर उक्त अभिव्यक्ति दिएका थिए । जसलाई लिएर हलमा उपस्थित १ सय ५० भन्दा बढी मुलुकका युवाहरूले प्रशंसा गरे । महासचिवको अभिव्यक्तिमा नेपाली युवा प्रतिनिधिहरूले पनि समर्थन जनाए ।
पहिलोपटक यूएनको कार्यक्रममा सहभागी हुन आएकी उपप्रमुख डंगोलले केही अपवादलाई छाड्ने हो भने संसारभर युवाहरूको उही समस्या रहेको आफूले पाएको बताइन् । ‘विश्वका अन्य मुलुकका अनुभवहरू सुन्दा मैले के पाएँ भने संसारभर युवाहरूमा लगभग उही प्रवृत्तिका समस्या हुँदा रहेछन् । निर्णय गर्ने तहमा युवाहरूको पहुँच कमजोर छ भन्ने रहेछ । अन्य देशको अनुभव सुन्दा नेपालका युवाहरू पछाडि छैन रहेछन् । हामी सही बाटोमा हिँडिरहेको महसुस गरें,’ उनले कान्तिपुरसँग भनिन् ।
उपप्रमुख डंगोलले महासचिव गुटेरेसले युवाले नेतृत्व गर्नुपर्छ र आज त्यसको आवश्यकता छ भन्ने कुरा सुन्दा खुसी लागेको बताइन् । ‘साथै, महासचिवले म युवाहरूको भूमिका भएको विश्व छान्छु भनेको कुरा मेरा लागि निकै प्रेरणादायी पाएँ,’ उनले भनिन् । उनले यूएनले अघि बढाउन लागेको ‘समिट अफ द फ्युचर’ महत्त्वपूर्ण हुने उल्लेख गर्दै थपिन्, ‘यो दस्ताबेज अरूजस्तो हुनेछैन । यो दस्ताबेज कार्यान्वयनमा आधारित छ ।’ डंगोलले ‘ग्लोबल डिजिटल कम्प्याक्ट’ ले समावेशितामा महत्त्वपूर्ण भूमिका खेल्ने पनि बताइन् ।
कार्यक्रममा सहभागी भएर यूएनको मुख्यालयको भ्रमण तथा भेटवार्ता गरेका अर्का युवा प्रतिनिधि मेयर जोशीले न्युयोर्कमा सिकेका राम्रा कुराहरू आफ्नो मुलुक र नगरपालिकामा गएर प्रयोगमा ल्याउने उल्लेख गरे । साथै, उनले नेपालको विषयमा विश्व समुदायलाई पनि जानकारी दिने प्रस्ट पारे । ‘अहिले विश्वमा सबैभन्दा महत्त्वपूर्ण विषयका रूपमा जलवायु परिवर्तन परेको छ । यसका कारण नेपालले ठूलो क्षति व्यहोर्नुपरिरहेको छ । त्यसको असर मेरै नगरपालिकामा पनि परिरहेको छ,’ उनले भने, ‘नेपाल विश्वमै सबैभन्दा कम
कार्बन उत्सर्जन गर्ने मुलुकको सूचीमा पर्छ । तर हामी जलवायु परिवर्तनको सिकार भइरहेका छौं । अब नेपाललाई अन्य मुलुकहरूले क्षतिपूर्ति दिनुपर्छ भन्ने आवाज उठाउँछौं ।’
यस्तै, अर्का युवा नेता मियाँले ‘समिट अफ द फ्युचर’ को वर्किङ डेजको उद्घाटन सत्र रोचक लागेको प्रतिक्रिया दिए । महासचिव गुटेरेसले युवाहरूसँग बसेर भविष्य कसका लागि, कसको संसार, कस्तो संसार भन्नेबारेमा छलफल गरेको उल्लेख गर्दै यसलाई नेतृत्व परिवर्तन र अरू पाटोसँग जोडेर हेर्न सकिने उल्लेख गरे । उनले थपे, ‘नेपालजस्तो हिमाली मुलुकले जलवायु परितर्वनको कारण धेरै समस्या व्यहोर्नुपरेको छ । त्यसले नेपाललाई मात्र होइन, संसारलाई नै असर गर्छ भन्नेबारेमा बुझाउन आवश्यक छ ।’ उनले नयाँ पुस्तालाई पनि त्यसबारेमा जानकारी दिनुपर्ने बताए ।
