सहकारी छानबिन प्रतिवेदन : जीबी राईको यात्रा- गोल्डक्वेष्टदेखि हर्बो हुँदै सहकारी

नेटवर्क व्यापारबाट शिक्षित र दिक्षित बनेर जीबी राई सहकारीको क्षेत्रमा ससुरालीको सम्बन्ध प्रयोग गरेर छिरेको देखिन्छ

आश्विन ४, २०८१

कान्तिपुर संवाददाता

Cooperative Inquiry Report: GB Rai's Journey - From Goldquest to Harbo to Cooperative

काठमाडौँ — सहकारी संस्था बचत रकम दुरुपयोगसम्बन्धी संसदीय विशेष छानबिन समितिको प्रतिवेदन सार्वजनिक भएको छ । प्रतिनिधिसभाले आफ्नो वेबसाइट मार्फत् प्रतिवेदन सार्वजनिक गरेको हो । उक्त रिपोर्टले सहकारीका बेथितीहरूमाथि विस्तृत विश्लेषण गरेको छ ।

त्यसमध्ये गोर्खा मिडिया र सहकारीको एउटा प्रसँग यस्तो छ :

नेटवर्किङ्ग व्यवसायसँग जोडिएको सहकारी ठगी

गितेन्द्रबाबु (जीबी) राई र उँनको समूहले सहकारीका बचतकर्ताको १६ अर्बभन्दा बढी रकम दुरुपयोग गर्दै नेटवर्किङ व्यवसाय चलाइरहेको रिपोर्टहरू सार्वजनिक भएका छन् । राई कुनै समय सबभन्दा ठूलो नेटवर्किङ व्यवसाय हर्बो इन्टरनेसनलका एक साझेदार थिए । सो कम्पनीमा रहँदै गर्दा उनले २०६६ सालमा गोर्खा ग्रुप अफ कम्पनी खोलेको थिए । सरकारले नेटवर्किङ व्यवसायमा २०६८ मा प्रतिबन्ध लगायो । त्यसपछि नेपालमा हर्वो बन्द गरी त्यही नेटवर्कलाई प्रयोग गरेर देशभर करिब एक दर्जन सहकारी सञ्चालनमा ल्याए। तिनै सहकारीमा सर्वसाधारणले जम्मा गरेको रकम दुरुपयोग गरी नेचर हर्ब्स, नेचर नेस्टलगायतको नाममा नेपालसहित ७ देशमा नेटवर्किङ व्यवसाय चलाइरहेका छन्।'

सहकारी संस्थामा बचतकर्ताको बचत रकम अपचलन र दुरुपयोग गर्ने एवं सहकारीको बचत रकम गैरकानूनी रूपमा निजी कम्पनी र व्यक्तिको नाममा प्रवाह गर्ने जीबी राई समेतको गिरोह लामो समयदेखि नेटवर्किङ्ग व्यवसायमा रहेका र नेटवर्किङ शैलीमै सहकारी संस्थाहरूको फैलावट र प्रसार गरी हरेक संस्थाबाट रकम अपचलन गर्ने गरेको पाइन्छ । त्यस्ता सहकारी सञ्चालकहरूले कम्पनीकै शैलीमा सहकारी संस्थाहरूको बिस्तार गर्नुका साथै अरूको नाममा कर्जा खडा गरी आफैले दुरूपयोग समेत गर्ने गरेको पाइएको छ ।

गोल्डक्वेष्टदेखि हर्बो हुँदै सहकारी

२०५६ सालदेखि २०५८ सालसम्म नेपालमा गोल्डक्वेष्ट भन्ने हङ्कङबाट सञ्चालित कम्पनीले सुनको सिक्का प्रतिव्यक्ति ३७ हजार ५०० को दरले दिने भन्दै गैरकानूनीरूपमा नेटवर्किङ (प्रत्यक्ष बिक्री प्रणाली) गर्दै पैसा उठाएको देखिन्छ । यस्तो व्यवसायमा गितेन्द्रबाबु राई ( जीबी राई) । सुरुदेखि नै आफ्नो दाजु अनन्तबाबु राईको माध्यमबाट जोडिएका थिए। यस्तै नेटवर्क व्यापारमा लागेर सुरुदेखि नै नेतृत्व विकास भन्दै अनेक प्रशिक्षण र कला समेत सिकेका थिए । गोल्डक्वैष्टमा नेपाल सरकारले प्रतिबन्ध गरेपछि पनि उनी यस्तै गैरकानूनी धन्दामा रमाउन थालेका छन् ।

यस्तैक्रममा स्वदेशी जडीबुटीजन्य वस्तुको व्यापार नेटवर्किङ तरिकाले गर्ने भनेर २०६१ सालमा हर्बी लगायत धेरै कम्पनीहरू खुल्छन् । अनन्तबाबु राई हबको संस्थापक निर्देशक बन्छन् र उनैको साथमा उनका भाईहरू देबेन्द्रबाबु राई माइलो र गितेन्द्रबाबु राई (जीबी राई कान्छो पनि हर्बो व्यापारमा लाग्ने र पढ्ने पढाउने र संगठन बनाएर काम गर्न सुरु गर्छन् ।

तत्कालीन यो व्यापारलाई व्यवस्थित गर्न सरकारले उपभोक्ता ऐन अन्तर्गत नेटवर्क मार्केटिङ् व्यवसाय सम्बन्धी निर्देशिका जारी गरेर चारवटा कम्पनीहरू सञ्चालित हुन्छन् । अन्यले अनुमति लिन कोशिस गरिरहेकै बेला हर्बोले सरकारसँग मिलेर स्थायित्व दिन काम सुरु गर्छ। तर युनिटी लगायत कम्पनीले निर्देशिकाको विपरीत हुने गरी बस्तुको व्यापार नगरेको देखिएको र पैसा उठाएर कमिसन दिने मात्र काम गरेकोले अनुमति पाउँदैन र कारबाहीमा पर्दछन् ।

यहीबीचमा देशी विदेशी कम्पनीका प्रतिनिधिहरूको पहलमा तत्कालिन वाणिज्य मन्त्री राजेन्द्र महतोको मन्त्रीस्तरीय निर्णयबाट निर्देशिका खारेजको सूचना निस्किन्छ। यो सूचना सरोकारवालाको लगानी डुबाउने खेल र दुई पक्षीय छलफल नभई गरिएको निर्णय गलत छ भनेर हर्वो लगायत ४ वटा कम्पनी सर्वोच्चमा रिट हाल्छन् र न्यायाधीश खिलराज रेग्मीको इजालसले अन्तरिम आदेश दिएपछि काम सुचारु हुन्छ ।

यही समयमा जीबी राईको भगवती बम्जन (निशा बम्जन) सँग विवाह हुन्छ । गोर्खा सेभिङ्गससँग सम्बन्धित ज्ञानबहादुर बम्जनले आफ्ना धेरै सहकारीमध्ये पोखराको सूर्यदर्शनमा आफ्ना ज्वाई जीबीलाई काम गर्न लगाउँछन् र हर्बोको काम बीचमै साइड बिजनेस बनाएर कर्मचारीको रूपमा काम गर्न पोखरा बस्न सुरु गरेको देखिन्छ । किनकि जीबी राईले हर्बोबाट उल्लेखनीय कमाइ गर्न नसकेको देखिन्छ । हर्बोमा जीबी राई सामान्य लिडर र हबोंको बारेमा प्रेजेन्टेसन गर्न सक्ने भूमिकामा मात्र देखिन्छन् ।

यसरी नेटवर्क व्यापारबाट शिक्षित र दिक्षित बनेर जीबी राई सहकारीको क्षेत्रमा ससुरालीको सम्बन्ध प्रयोग गरेर छिरेको देखिन्छ र पछि त्यही सहकारी कब्जा गरेर देशै भरी नेटवर्क कम्पनी कै जस्तो गरी सहकारीको नेटवर्क बनाएको देखियो ।

सङ्गतबाट कामाद हुँदै स्वर्णलक्ष्मी

हर्बो इन्टरनेशलन प्रा. लि.मा कार्यकारी निर्देशक रहेका अनन्तबाबु राईले भाइ गितेन्द्रबाबुलाई मार्केटिङ्गमा जागिर लगाइदिएका थिए। पछि उनी सूर्यदर्शन सहकारी पोखरामा जागिर खानका लागि गए। उनै गितेन्द्रबाबु राईले हर्बी ग्रुप र साबिक हाम्रो ग्रुप हाल गोर्खा ग्रुप सञ्चालन गर्नका लागि २०६८ सालमा सङ्गत ग्रुप प्रा. लि. मा पुष्पराज पौडेल ( पुरुष सँग मिली विभिन्न निर्णयहरू गरेको देखिएको छ । उक्त निर्णयअनुसार सबै सम्पत्ति र कम्पनीको हरहिसाब गरेर सङ्गत ग्रुपमा राखे भनेता पनि सबै सेयर र जग्गा लिएपछि निज गितेन्द्रबाबु राई सम्पर्कविहीन भएर हिसाब नगरेको भन्ने सङ्गतकै अन्य सञ्चालकरूको दावी छ। गितेन्द्रबाबु राई सम्पर्कमा नरहेपछि ती निर्णयहरू कार्यान्वयन हुन सकेनन् । कम्पनी सञ्चालनको विषय कम्पनी रजिस्ट्रारको कार्यालयको क्षेत्राधिकारभित्रको विषय देखिन्छ ।

आर्थिक वर्ष २०६२/०६३ तिर पुष्पराज सहितले स्थापना गरेको कामाद सहकारीलाई पनि सञ्चालकहरूको इच्छाविपरीत कब्जा गरेर अरु सहकारीमा एकीकरण गराएको देखिन्छ । कामाद सहकारीका अरू सञ्चालकहरूको सेयर आफुखुसी शून्य बनाइदिएको, बैङ्क खाताको पैसा पनि आफुखुसी चलाउने गरेका थिए। सहकारी एकीकरणपछि कतिपय बचतकर्तालाई पासबुक पनि नबनाइदिएको वा पैसाको ग्राहकलाई हिसाब दिएका थिएनन् ।  सेयरधनी र बचतकर्ताको पनि छुट्याएर २/३ करोडको कारोबार नमिलाएको तर स्वर्णलक्ष्मी र प्रणोदयिनीका कानूनी समस्याहरू लुकाउन कामादको विधान प्रयोग गर्न एकतर्फी एकीकरण गरेर हिसाब नदिएको भन्ने निवेदन यस समितिमा पनि परेको देखिन्छ ।

हर्बोबाट गोर्खा ग्रुपसम्म ९ सय सेयरधनी पीडित

हर्बो इन्टरनेसनल प्रालि र साविक हाम्रो ग्रुप अफ कम्पनी हाल गोर्खा ग्रुप अफ कम्पनी प्रा. लि. लाई आफ्नो हिसाब मिलाउन हर्बोका तत्कालिन अध्यक्ष गोकूल श्रेष्ठले जग्गा दिने निर्णय भएको तर किर्ते कागज बनाएर निज गितेन्द्रबाबु राईले दुवै कम्पनीलाई ठगी गरेको देखियो । त्यसैले उक्त जग्गाहरूको विषय अहिले पनि विवादित छ ।

गोर्खा ग्रुप र हर्बोोंको नाममा जग्गा पास गरेको भनेर लालपूर्जा ल्याएर दिने र जग्गा किन्ने कार्य लगायत कम्पनीको कारोबार सबै गोकूल श्रेष्ठले गर्ने गरेको देखिँदा गोकूल श्रेष्ठ र गितेन्द्रबाबु राई गोर्खा ग्रुपमा सञ्चालक समितिमा सँगै काम गरेका र अन्य कम्पनीमा पनि साझेदार देखिएकाले र जग्गा किन्न भनेर हर्बोको ४ करोड भन्दा बढी र जीबी राई बाट १ करोड २५ लाख पैसा पनि गोकूल श्रेष्ठले लगेको देखिएको तर अहिले आएर कम्पनीको नाममा उक्त जग्गा रहेको देखिँदैन । गितेन्द्रबाबु राई र गोकूल श्रेष्ठ दुवै जनाले कागजपत्र पनि नदिने, जानकारी पनि नदिने हर हिसाव पनि नगर्ने गरेर पुष्पराज पुरुष लगायत गोर्खा ग्रुपका ९०० भन्दा बढी सेयरधनीहरूलाई ठगी गरेको भन्ने अर्को छुट्टै विवाद रहेको छ ।'

नयाँ कम्पनीहरूको सञ्जाल, लगानी नगरी सेयर

गितेन्द्रबाबु राई राई सञ्चालक समितिमा आएपछि प्रणोदयिनी सहकारी र स्वर्णलक्ष्मी सहकारीबाट ऋण लिएर नेचरनेस्ट प्रालि र ८४ परिकार कम्पनी, कपास सटिङ् एण्ड सुटिङ कम्पनी र कामद बहुउद्देश्यीय सहकारी लगायत सञ्चालन गरेका गितेन्द्रबाबु राईले सबै कम्पनी सम्पत्ति र सहकारी कब्जा गरेर लेखापरीक्षणमा कुनै हिसाब सम्म नदेखाएको र खिमानन्द कँडेल र पुष्पराज पुरुषको नामबाट ऋण पनि नहटाएको तथा लगानी पनि हिसाब नगरिदिएको देखिन्छ । कम्पनी जिम्मा लिएपछि कम्पनीको ऋणधन पनि जिम्मा लिनेकै हुनु पर्ने हो तर जीबी राईले पैसा र शक्तिको दुरुपयोग गरे, तर हिसाव मिलाएनन् ।

गितेन्द्र बाबु राई (जीबी राई ले आफु खुसी कम्पनी चलाउन सेयरधनी बाट अवरोध भए पछि कानूनी झन्झटबाट बच्न आफ्ना कर्मचारीको नाममा सेयर पटक-पटक किनबेच र नामसारी गरेको देखिएको छ । अझ पैसा नै नहाली कागजपत्र मिलाएर आफु खुसी आफ्नै ग्रुपको सेयर किर्ते गरी धेरै बनाएर बहुमत देखाएर कम्पनीहरू नियन्त्रण गरेको भन्ने पनि निवेदन आएकोले कारबाही चलाउनु पर्ने देखिन्छ।

नयाँ बानेश्वरमा भएको ८/९०० सेयरधनीहरूको ८४ परिकार रेष्टुरेण्ट र कपास टेलरिङ रहेको त्यो स्थानमा नाटकीयरूपमा जीबी राईले आफ्नो निजी रेस्टुरेण्ट चलाए र पछि निजी सरह बेचे र पब्लिक कम्पनीको सम्पत्ति नीजि बनाए भन्ने रोदन उनका साझेदारहरूको अहिले पनि छ ।

राईले त्यसपछि तिनकुनेमा रहेको ९ आनामा बनेको २ वटा घर जग्गा, काभ्रे र मकवानपुर ठिङ्गनका लगभग ३०० रोपनी जग्गा, जयसरत आश्रमको नाममा भएको गोदावरीको ६ रोपनीभन्दा बढी जग्गा, बाँडीगाउँको १४ रोपनी जग्गा, बडिखेलको २० रोपनी जग्गा र भक्तपुरको ५ रोपनीभन्दा बढी जग्गा लगायत अन्य सहयोगी सदस्यहरूको लगानी सम्पत्ति सबै विभिन्न नाममा नामसारी गरिदिएको तर सम्झौताअनुसार कम्पनी र सम्पत्तिहरू लिएपछि गोकूल श्रेष्ठ र जीबी राईको मिलेमतोमा हिसाब नगरेको र कम्पनी र सम्पत्ति लिएर भागेकोले लगभग ५० करोड जतिको ठगी गरिएको भन्ने दावी गरिन्छ ।

हबको २ लाख ५० हजार मान्छे भएको संगठनको सफ्टवेयर नेचर हर्ब्स भन्ने निजी कम्पनीमा लगेर जीबी राईले प्रयोग गरेको र हरेक व्यक्तिबाट हर्बोको अपडेट भनेर गैरकानूनीरूपमा २५/३० हजार सामान पनि नदिई २५/३० करोड पैसा उठाएको र उक्त कुरा कान्तिपुर दैनिक पत्रिकामा समाचार आएपछि रातारात आफ्नो मातहतका कर्मचारीको नाममा सेयर नामसारी गरेर सबै कम्पनीबाट सेयरधनीलाई सूचना नदिई आफै हटेको कागज खडा गरेको हुँदा नेचर नेस्ट र नेचर हर्ब्सको सबै कारोवार छानबिन गर्नु पर्ने पुष्पराज समूहको माग पनि छ । सोही नेचर हर्ब्स कम्पनीमा २०७७ सालतिर सेवानिवृत्त प्रहरी नायब निरीक्षक छविलाल जोशी जीबी राईको व्यावसायिक साझेदार बनेर भित्रिएका थिए। सोही बखत नेचर हर्ब्सको प्रतिनिधित्व गरी जोशी डाइरेक्ट सेलिङ्ग एसोसीयसनको अध्यक्ष समेत बन्नुभएको थियो ।

गोर्खा ग्रुप अफ कम्पनीमा लगानी गरेका १ / १ लाख हाल्ने ८ / ९ सय सेयरधनीहरूले भने विशेष साधारणसभा माग गर्न थालेका छन् । विशेष साधारणसभा गरेर नयाँ सञ्चालक समितिले छानबिन गरेर हिसाब हेर्दा जीबी राईका अरु थप गल्तिहरू देखिने बुझिएको छ । गोर्खा ग्रुपचाहिँ निजी प्रालि कम्पनी नभएको र लिमिटेड कम्पनी देखिएकोले साधारणसभा गरेर नयाँ सञ्चालक समिति गठन गर्न दिनु पर्ने देखिएको छ । त्यसमा सहकारीको कति पैसा अपचलन भएको छ भन्ने बारे पछि सुचना आउने नै छ ।

समग्रमा जीबी राईको समूहले हर्बो र गोर्खा ग्रुपका मातहतका व्यक्ति र कम्पनीहरूमा सहकारीको पैसा ऋण दिने, ऋण दिएवापत सेयर लिने, बिस्तारै सबै ऋणीहरूलाई धोका दिने र सम्पत्ति र कम्पनी सबै कब्जा गर्ने र ऋणीहरूलाई कुनै न कुनै कानूनी परिबन्द पारेर फसाउने गरेको र धेरैको कम्पनी र सम्पत्ति कब्जा गरेको देखिएको छ ।

जोसँग मिलेर काम गर्यो उसैलाई धोका दिँदै सहकारीको रकम दुरुपयोग गरी विभिन्न व्यक्ति एवं कम्पनीको सेयर र सम्पत्ति कब्जा गरेको देखिएका निकटवर्तीहरू खुलाउँछन् ।

जीबी पुष्पराज साझेदारी

यसपछि देशैभरी सहकारीको सञ्जाल बनाउने क्रममा पुरानो आफैले काम गरेका कम्पनीका सञ्चालक पुष्प राज पुरुषसँग ऋण लिने सिलसिलामा भेट हुन्छ । ६८ साल चैतमा यूनिटी लाईफ इन्टरनेशनल लि. को हकमा अख्तियारप्राप्त अध्यक्ष काशीराम गुरुङ विरुद्ध प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय समेत भएको उत्प्रेषणयुक्त परमादेश मुद्दामा न्यायाधीशद्वय भरतराज उप्रेती र शुसिला कार्कीको संयुक्त इजलासले निर्देशिका खारेजलाई सदर गर्दै कानून बनाउन निर्देशन दिएपछि हर्बोको नेटवर्क व्यापार बन्द हुन्छ । उक्त फैसलामा भनिएको थियो:-

तर त्यो समयमा नेटवर्क बन्द गरेपछि अन्य तरिकाले कम्पनी चल्न सक्ने हुँदा पनि विभिन्न चलखेल गरिएको र हर्बो लगायतका जडीबुटी बेचेर बजार बनाउने समूह सक्न नै कुनै समूह सक्रिय रहेको भन्ने हबोंवालाहरूको गुणासो पनि रहेछ। हर्वो समस्यामा परेपछि सञ्चालकहरूको श्री सम्पत्ति र कम्पनी हत्याउने नियतले जीबी राईले केही पैसा दिएर धेरै कम्पनी र सम्पत्ति लिएको देखिन्छ ।

पछि नेटवर्क व्यापारको कानून बनाउन अदालतको निर्देशन भएपछि कानून बनाउन सुरु गरिएको र संसदबाट "बस्तुको प्रत्यक्ष बिक्री व्यवस्थापन तथा नियमन गर्ने ऐन, २०७४" पास भएको तर त्यसमा नेटवर्कमा हुनु पर्ने न्यनतम कानूनी व्यवस्था नभएको तर त्यही कानून देखाएर वाणिज्य विभागले नेटवर्क नै गरिरहेका कम्पनीलाई अनुमती दिएको र हाल २ दर्जन जती कम्पनी बजारमा प्रत्यक्ष बिक्री प्रणालीको नामबाट नेटवर्क नै गरिरहेको देखियो ।

यसरी नेटवर्कको संजाल बनाएर नेपाल बाहिर ६ वटा देशमा सहकारीको पैसा लगानी गरेको भन्ने सार्वजनिक बहससँगै कति लगानी बाहिरीयो ? भन्ने सम्बन्धमा थप अनुसन्धान आवश्यक देखिएको छ हर्वो ग्रुपले खोलेको साबिक हाम्रो ग्रुप अफ कम्पनी लि. कब्जा गरेर गोर्खा ग्रुप अफ कम्पनी बनाएर ८-९०० मान्छेको बिचल्ली बनाएको देखिएको छ । अहिले गोर्खा ग्रुपमा आफ्नो बहुमत बनाउन कितें सेयर बढाएको भन्ने पनि सेयरधनीहरूको गुणासो छ। यो कम्पनी लिमिटेड कम्पनी भएकोले छानविन गरेर नयाँ सञ्चालक समिति बनाएर सेयरधनीहरूलाई न्याय दिनु पर्ने देखिएको छ ।

निष्कर्ष

समग्रमा जीबी राईको समूहले हबों र गोर्खा ग्रुपका मातहतका व्यक्ति र कम्पनीहरूमा सहकारीको पैसा ऋण दिने, ऋण दिएवापत बिनालगानी सेयर हिस्सा लिने, बिस्तारै सबै ऋणीहरूलाई धोका दिने र सम्पत्ति र कम्पनी सबै कब्जा गर्ने र ऋणीहरूलाई कुनै न कुनै कानूनी परिबन्द पारेर फसाउने गरेको र धेरैको कम्पनी र सम्पत्ति कब्जा गरेको देखिएको छ। यो सबै विषयको लागि सरोकारवाला सबै निकायमा निर्देशन दिएर सत्य तत्थ छानबिन गर्दै कारवाही गर्नु पर्ने देखिन्छ ।

कान्तिपुर

Link copied successfully