कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६८

‘लामिछानेको हस्ताक्षरबाट करोड करोडका चेक काटेको भेटिएको छ’

आश्विन १, २०८१
‘लामिछानेको हस्ताक्षरबाट करोड करोडका चेक काटेको भेटिएको छ’

काठमाडौँ — सहकारी ठगीसम्बन्धी संसदीय छानबिन विशेष समितिले गोरखा मिडिया नेटवर्क प्रालिमा सेयर खरिद बिक्री किर्ते कागजकै आधारमा गरेको पाइएको निष्कर्ष निकालेको छ ।

समितिले संसद्लाई बुझाइएको प्रतिवेदनमा सेयर खरिद बिक्री र साधन, उपकरण खरिद गर्दा किर्ते गरेकाले आवश्यक कानुनी प्रबन्ध गर्न सरकारलाई सिफारिस गरेको छ । आइतबार प्रतिनिधिसभामा पेस भएको उक्त प्रतिवेदन कार्यान्यवयनका लागि सभामुख देवराज घिमिरेले सरकारलाई पठाउन निर्देशन दिएका छन् । यसै सन्दर्भमा समितिका सभापति सूर्य थापासँग कान्तिपुरका लागि यज्ञ बञ्जाडेले गरेको कुराकानी :

तीन महिना लगाएर समितिले गरेको छानबिन प्रतिवेदन आएको छ । खासगरी पूर्वगृहमन्त्रीसमेत रहेका गोर्खा मिडिया नेटवर्कका तत्कालीन प्रबन्ध निर्देशक रवि लामिछानेका विषयमा आ–आफ्नै तर्क छन् । प्रतिवेदन द्विअर्थी छ र ?

प्रतिवेदन द्विअर्थी छैन । जे लेख्नुपर्ने हो, जे विश्लेषण गर्नुपर्ने हो, जे स्थापित गर्नुपर्ने हो, त्यो सिधासिधै लेखिएको छ । जीबी राईको नेतृत्वमा रहेका सहकारीबाट गोर्खा मिडिया नेटवर्कमा करोडौं रुपैयाँ प्रवाह भएको स्थापित भएको छ । सानो पाइला, सुप्रिम, सूर्यदर्शन, साहारा र स्वर्णलक्ष्मी गरी पाँच सहकारीबाट कम्तीमा ६५ करोड रुपैयाँ गोर्खा मिडियामा आएको देखिएको छ । त्यो रकम गैरकानुनी रूपमा किन प्रवाह भयो ?

सहकारीको पैसा कम्पनीमा जानु सहकारी ऐनविपरीत हो । अध्ययन गर्दै जाँदा समितिले सहकारीबाट ठूलो रकम सिधै गोर्खा मिडियामा आएको भेटिएको छ । सहकारीको रकम जसरी दुरुपयोग भएको छ, यो गैरकानुनी छ । गैरकानुनी काम गरेपछि त्यो काम गर्ने व्यक्ति उत्तरदायी हुन्छ । यसकारण कानुनको उल्लंघन गर्नेलाई कानुनअनुसार सजाय दिने व्यवस्था गर्न भनिएको छ ।

सहकारीबाट गोर्खा मिडिया नेटवर्कमा आएको रकम क–कसले खर्च गरेका छन् । जीबी, रवि र छविको भूमिका के कस्तो देखिएको छ ?

सहकारीबाट गोर्खा मिडियामा आएको रकम जीबी, रवि, छविलगायत निकै ठूलो संख्याले खर्च गरेको देखिन्छ । त्यो रकम गोर्खा मिडियाका कर्मचारीको तलब, भरणषोषणमा खर्च भएको देखिन्छ । एक समय जीबी, रवि, छविमा महत्त्वाकांक्षाको ठूलो भूत सवार भएर आ–आफ्नो स्थानबाट एक–अर्कालाई सघाउने गरी एकै ठाउँमा जुटेको देखिन्छ ।

त्यो समयमा जीबी, रवि, छविका नाममा गोर्खा मिडियाको संयुक्त बैंक खाता सञ्चालन भएको देखिन्छ । अझ, तीन जनामध्ये एक जनाले मात्र हस्ताक्षरमा चेक साट्न सकिने व्यवस्था गरिएको देखिन्छ । हामीले नमुनाका रूपमा चेक जम्मा गरेका छौं, यसमा रवि लामिछानेका नामबाट करोड करोडका चेक काटिएको छ ।

सहकारीबाट गोर्खा मिडिया नेटवर्कमा आएको रकम कम्पनीभित्र मात्र होइन, जीबी राईका अन्य कम्पनीमा पनि गएको छ ?

गोर्खा मिडिया नेटवर्कमा सिधै र विभिन्न व्यक्तिहरूमार्फत गएको रकम जीबी राईका अन्य कम्पनीहरूमा पनि सारिएको छ । रवि लामिछानेको गोर्खा मिडिया नेटवर्कको तलब भत्ता, कार्यक्रम, अन्य व्यवस्थापन आदि–इत्यादिबारेमा चेक काटेर आन्तरिक भुक्तानीका लागि चेक काटिएका छन् ।

गोर्खा मिडिया नेटवर्कको सेयर कारोबारमा फर्जी कागजातका आधारमा कारोबार भएको भन्ने छ, त्यसको अर्थ के हो ?

भौचर उठाउने तर त्यसरी उठाइएको पैसा सम्बन्धित खातामा जम्मा नगर्ने गरेको देखिन्छ । यो खालको अभ्यास वा परिपाटी भएको छ । त्यो पैसा कसलाई भुक्तानी गर्न चेक काटिएको हो, त्यो व्यक्ति वा संस्थाको नाममा जम्मा गरेको पाइँदैन । त्यो कारोबार फर्जी हो कि होइन भन्नेसम्बन्धमा कम्पनी रजिस्ट्रारको कार्यालयले छानबिन गर्नुपर्छ र सुधार गर्नुपर्छ भनेका छौं ।

रवि लामिछानेसहितका व्यक्तिमाथि प्रचलित कानुनअनुसार कारबाही गर्ने भनिएको छ । त्यसमा कुन–कुन कानुन आकर्षिक हुन्छन् भन्न खोज्नुभएको हो ?

गोर्खा मिडिया नेटवर्कमा निकै ठूलो परिमाणमा सहकारीको पैसा गएको छ । त्यो गैरकानुनी हो । यसकारण यो काममा सहभागी व्यक्तिलाई प्रचलित कानुनअनुसार कारबाही गर्न नेपाल सरकारलाई भन्ने निर्णय समितिले गरेको हो । कारोबारको विवरण हेर्दा यो विशुद्ध सहकारी, विशुद्ध कम्पनीको मात्र कुरा नभएकाले दोषीलाई प्रचलित कानुनअनुसार कारवाही गर्न सरकारलाई सिफारिस गरिएको हो । यसमा विभिन्न कानुन आकर्षित हुन्छन् ।

सम्बन्धित समाचार

प्रकाशित : आश्विन १, २०८१ ०५:४०
x
×