प्रधानमन्त्रीलाई रविको चेतावनी : उपसभामुख हटाउन लागेर गलत गर्दै हुनुहुन्छ

भाद्र २६, २०८१

कान्तिपुर संवाददाता

Ravi's warning to the Prime Minister: He is doing wrong by removing the Deputy Speaker

काठमाडौँ — राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर उपसभामुखलाई हटाउने कदम नचाल्न आग्रह गरेको बताएका छन् ।

बुधबार सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै सभापति लामिछानेले गएको बिहीबार आफूले प्रधानमन्त्री ओलीलाई भेटेर उपसभामुखको विषयमा भइरहेको चर्चा परिचर्चाहरुको बारेमा वास्तविकता के हो ? भनेर प्रश्न गरेको बताए  ।

उनले आफूले यदि उपसभामुखलाई हटाउन लागेको हो भने गलत गर्दै हुनुहुन्छ भनेर सचेत गराएको बताए। उनले दुई तिहाइको शक्ति भएको सरकारको प्राथमिकताहरु धेरै भएको भन्दै शक्तिको सदुपयोग गर्न आग्रह गरेको पनि उल्लेख गरे । उनले प्रधानमन्त्रीले आफू सो विषयमा छलफलमा रहेको जानकारी दिएको बताए ।

उनले भने, ‘प्रधानमन्त्रीसँग मैले उपसभामुखको विषयमा असाध्यै धेरै समाचारहरु आयो । विभिन्न प्रतिक्रियाहरु विभिन्न ठाउँबाट आएका हुनाले त्यसको बास्तविकता के हो ? के सोचिरहनु भएको छ ? यसको वास्तविकता जान्नु जरुरी थियो । त्यसकारणले म उहाँसँग छलफल गर्न गएँ र मैले भने, यदि यो गर्दै हुनुहुन्छ भने गलत गर्दै हुनुहुन्छ, किनभने दुई तिहाई सरकारका प्राथमिकताहरु धेरै छन् । दुई तिहाइ भनेको शक्ति हो । तर त्यो शक्तिलाई कहाँ प्रयोग, सदुपयोग गर्ने भन्ने कुरा तपाईहरुले पक्कै पनि बुझ्नुहुन्छ होला भनेर उहाँलाई मैले सौहार्दपूर्ण रुपमा यो गलत हुन्छ । यदि यस्तै हो भने जे सोचिरहनु भएको छ अत्यन्त गलत हुन्छ र घातक हुन्छ भनेर मैले उहाँलाई बताए । उहाँले म छलफलमा छु । नेपाली कांग्रेससँग पनि छलफल गर्छु भन्नुभयो ।'

उनले दुई तिहाइको दम्भ नलिन आफूले प्रधानमन्त्रीलाई आग्रह गरेको बताए । सभापति लामिछानेले यदि उपसभामुखलाई हटाइए सत्तारुढ दलहरुका लागि आत्मघाती हुने चेतावनी दिएको बताए । 

उनले भने, 'धेरै जनता त बाहिर छन् नि । सडकमा छन् । संसदको अंकगणित भन्दा धेरै जनता बाहिर छन् । कांग्रेस र एमालेले प्राप्त गरेको मत भनेको भोट हाल्नसक्ने मतदाताको ३० प्रतिशत मात्रै हो । ७० प्रतिशतको प्रतिनिधित्व रास्वपा लगायतका दलहरुले गर्छन् यो हेक्का रहोस् । ७० प्रतिशतलाई ३० प्रतिशतले च्यालेन्ज नगरे हुन्छ । उहाँहरुको यो आत्मघाती गोल हुन्छ । आफ्नै पोष्टमा गोल हान्ने विचार गर्नुभएको छ भने मेरो भन्नु के छ र ?’ 

उपसभामुखको पदीय आचरण विवाद

कान्तिपुर

Link copied successfully