कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ८२

नेपालमा भारतको 'माइक्रो म्यानेजमेन्ट'बारे शर्मा : हाम्रा पार्टी र प्रणालीले निमन्त्रणा पो गरिरहेको छ कि ?

भाद्र १६, २०८१
नेपालमा भारतको 'माइक्रो म्यानेजमेन्ट'बारे शर्मा : हाम्रा पार्टी र प्रणालीले निमन्त्रणा पो गरिरहेको छ कि ?

काठमाडौँ — भारतका लागि प्रस्तावित राजदूत डा. शंकर शर्मालाई संसदीय सुनुवाइका क्रममा सांसदले नेपालमा भारतले स-साना विषयमा पनि हात हालेर राजनीतिक हस्तक्षेप गर्छ भन्ने विषयमा धारणा माग गरेका थिए । भारतले नेपालमा 'माइक्रो म्यानेजमेन्ट' भनी सोधिएको प्रश्नको जवाफमा शर्माले त्यस्तो नेपालका राजनीतिक दल र प्रणालीले नै निम्त्याएर भएको हो कि भन्ने प्रतिप्रश्न गरे । 

संसदीय सुनुवाइ समितिको आइतबारको बैठकमा शर्माले भारतका विदेशमन्त्री एस जयशंकरले एक अन्तर्वार्तामा भनेका कुरा उल्लेख गर्दै नेपालमा नेताहरूले भारतीय हस्तक्षेप निम्त्याएको हो कि भन्ने आशंका व्यक्त गरे । उनले भारतले छिमेकी मुलुकहरू खासगरी नेपालमा हस्तक्षेप गरेको कुरा आफूलाई थाहा नभएको बताए ।

'भारतले माइक्रो म्यानेजमेन्ट गरिरहेको छ भन्ने कुरा मलाई थाहा छैन । त्यो राजनीतिक तहमा धेरै थाहा हुने कुरा भयो । तर म भारतबाट आएपनि फेरि भारत जान लागेको हुनाले इन्डियन न्यूजपेपर र युट्युबहरू हेरिरहन्छु । हिजो छाडि अस्ति छिमेकी मुलुकका विषयमा भारतको परराष्ट्रमन्त्री जयशंकरसँग अन्तर्वार्ता भइरहेको थियो । उहाँले भन्नुभएको थियो छिमेकीहरू सबैसँग हाम्रो सम्बन्ध केही न केही कम्प्लेक्सिटी छ,' डा. शर्माले भने, 'उहाँले त्यो इन्टरभ्यूमा के भन्नुभएको छ भने कम्प्लेक्सिटी हुन्छ, नेबरिङ कन्ट्रीमा कुन देशमा कुन एरियामा कम्प्लेक्सिटी छैन र ? उहाँले यो पनि कुरा गर्नुभयो हामीलाई गर्‍यो भनेर भन्छन् छिमेकी देशमा तर कति त त्यहाँको डिमान्ड पनि त हुनसक्ला भनेर उहाँले कूटनीतिक रूपमा त्यहाँकै राजनीतिज्ञलाई त्यस्तो डिमान्ड पनि गरेका हुन् कि भनेजस्तो संकेत उहाँले दिनुभएको छ । मैले थाहा पाएर भनेको होइन तर उहाँलाई कोट गरेर भन्दा हाम्रो राजनीतिक पार्टीभित्र, हाम्रो सिस्टमभित्र पनि कहिँ त्यस्तो समस्या पो छ कि ? हामीले 'इन्भाइट' पो गरिरहेका छौं कि ?'

जयशंकरको भनाइलाई थप पुष्टि गर्नका लागि शर्माले क्यानडाका प्रधानमन्त्रीले छिमेकी अमेरिकालाई लिएर भनेको कुरा पनि उल्लेख गरेका थिए । 'पहिला क्यानडाको प्रधानमन्त्रीले के भन्नुभएको थियो भने अमेरिका यस्तो देश हो रे, यसो सुतेर घुर्‍यो भनेपनि हामीलाई असर गर्छ, यसो पल्टिन लाग्यो भने पनि असर गर्छ भने‍र उहाँले भन्नुभएको थियो त्यो खुब प्रचलनमा छ' भारतले छिमेकमा हस्तक्षेप गरेको भन्ने कुरा पनि यस्तै भएको शर्माले बताए ।

शर्मासहित ४ प्रस्तावित राजदूतहरूको संसदीय सुनुवाइ सकिएको छ । उनीहरूको नाम भने अनुमोदन भएको छैन । बाँकी १३ राजदूतको सुनुवाइ सकिएपछि सबैको सँगै नाम अनुमोदनको निर्णयबारे छलफल गरिने सुनुवाइ समिति सचिवालयले जनाएको छ ।

सम्बन्धित समाचार :

प्रकाशित : भाद्र १६, २०८१ १९:२२
x
×