कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ८२

भारतसँग ईपीजी र सीमा विवादको विषय राजदूतको तहभन्दा धेरै माथि गइसक्यो : शर्मा

भाद्र १६, २०८१
भारतसँग ईपीजी र सीमा विवादको विषय राजदूतको तहभन्दा धेरै माथि गइसक्यो : शर्मा

काठमाडौँ — नेपाल र भारत सरकारले गठन गरेको प्रबुद्ध व्यक्ति समूह (ईपीजी)को प्रतिवेदन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बुझ्ने र नेपाल-भारत सीमा विवादको विषय राजदूतको तहमा छलफल गर्ने तहभन्दा धेरै माथि पुगिसकेको भारतका लागि प्रस्तावित राजदूत डा. शंकरप्रसाद शर्माले बताएका छन् । 

संघीय संसद्को संसदीय सुनुवाई समिति बैठकमा आइतबार सांसदहरूले गरेका प्रश्नको जवाफमा ईपीजी प्रतिवेदन र भारतसँग सीमा विवादको विषय धेरै माथि गइसकेको शर्माले बताएका हुन् ।

ईपीजी प्रतिवेदन तयार भएपछि नेपाल-भारतबाट उच्च तहमा एकअर्को मुलुकमा भ्रमण भइसकेको र छलफल भएको उल्लेख गर्दै उनले राजदूतको तहभन्दा धेरै माथि पुगेको उल्लेख गरे ।

संसदीय सुनुवाइ समितिको बैठकमा सांसदहरूले राखेका प्रश्नको जवाफमा शर्माले भने, 'चाहे ईपीजीको कुरा होस्, चाहे सीमाको कुरा होस्, किनभने ईपीजी र सीमा भन्नेकुरा मेरो (राजदूत) को तहभन्दा धेरै माथि गइसक्यो ।'

ईपीजीका विषयमा गर्न सकिने विषय छुट्याएर नेपाल सरकारले काम गर्नुपर्ने शर्माको भनाइ थियो । 'ईपीजी भित्र हामी के गर्नसक्छौं त ? त्यो कुराहरू हामी गरौँ न ! त्यसैमा मात्रै किन अडिएर बसौं ? त्यहाँ अड्केर बस्ने हो भने हामी अरु आर्थिक समन्वयका काम पनि गर्न सक्दैनौं होला भनेर मैले त्यसलाई पनि धकेल्दै जाने हो,' उनले भने ।

नेपाल-भारत सीमा समस्यालाई पहिचान गर्दै एक-एक गरी समाधान गर्नुपर्ने उनको सुझाव थियो ।

शर्माले यसअघि भारतको राजदूतका रूपमा कार्यरत रहँदा नेपालको विद्युत खरिद सम्झौताका लागि बंगलादेशसहितको त्रिदेशीय विद्युत निर्यात सम्झौतामा महत्वपूर्ण भूमिका निर्वाह गरेको दाबी गरेका थिए ।

प्रकाशित : भाद्र १६, २०८१ १८:४८
x
×