कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६१

डेनमार्कसँग व्यापार गर्ने र लगानी ल्याउने चुनौती छ : प्रस्तावित राजदूत तुलाधर

भाद्र १६, २०८१
डेनमार्कसँग व्यापार गर्ने र लगानी ल्याउने चुनौती छ : प्रस्तावित राजदूत तुलाधर

काठमाडौँ — डेनमार्कका लागि आवासीय र अन्य ७ राष्ट्रका लागि गैरअवासीय राजदूतमा प्रस्तावित सुम्निमा तुलाधरले ती मुलुकसँग नेपालको व्यापार र नेपालमा लगानी ल्याउने चुनौती रहेकी बताएकी छन् । संसदीय सुनुवाइका क्रममा उनले भौगोलिक अवस्थितिका कारणले पनि ती मुलुकहरूबाट नेपालसँग व्यापारको चुनौती रहेको बताएकी हुन् । 

संघीय संसद्को संसदीय सुनुवाइ समितिको आइतबारको बैठकमा तुलाधरले सांसदहरूका जिज्ञासाको जवाफमा डेनमार्क लगायतका मुलुकको नेपालसँग व्यापार धेरै कम रहेको र त्यहाँबाट नेपालमा लगानी न्यून रहेको बताइन् । उनले भनिन्, 'सांसदहरूले चुनौतीका विषयमा जिज्ञासा राख्नुभयो । उनीहरूको नेपालमा ट्रेड र इन्भेस्टमेन्टको चुनौती छ । अरु देशहरूसँग जसरी गरिन्छ उनीहरूसँग गाह्रो छ ।'

प्रस्तावित राजदूत तुलाधरले बालबालिकाको सरोकारका लागि स्थापित संस्था सिविन नेपालका सबै जिम्मेवारीबाट राजदूतमा सिफारिस हुनु पहिल्यै राजीनामा गरिसकेको जानकारी दिइन् । सांसदहरूले उक्त संस्थासँग अहिलेको आबद्धताबारे प्रश्न गरेका थिए ।

रास्वपाका सांसद डीपी अर्यालले उक्त संस्थाको कार्यकारी भूमिकाबाट राजीनामा दिएनदिएकोबारे प्रश्न गरेका थिए । त्यस्तै उनले राजदूत भएर गएपछि मुलुकको लागि भन्दा पनि उक्त संस्थाको लागि काम हुने हो कि भन्ने चिन्ता रहेको बताएका थिए ।

'नेपालका राजदूतहरूको कार्यकाल कति समय हुन्छ भन्ने यकीन हुन्न । राजदूतको कार्यकाल देशका लागि भन्दा पनि आफू कार्यकारी भएको संगठनको हितका लागि भूमिका खेल्दा देशका लागि नहुने हो कि भन्ने चिन्ता लागेको छ,' उनले भनेका थिए । जवाफमा तुलाधरले उक्त संस्थाको सबै जिम्मेवारीबाट राजीनामा गरिसकेको बताएकी थिइन् ।

सरकारले स्रोत साधन उपलब्ध गराएमा डेनमार्क मात्रै नभई आफू गैरआवासीय राजदूतका रूपमा नियुक्त देशहरूमा पनि नेपालको प्रचार प्रसार गर्ने र पर्यटन प्रवर्धनका लागि भूमिका खेल्ने तुलाधरको भनाइ थियो ।

नेपालको परराष्ट्र नीति, पञ्चशीलको सिद्धान्तको बारेमा आफूमा राम्रो ज्ञान रहेको उल्लेख गर्दै प्रस्तावित राजदूत तुलाधरले सांसदहरूले सोधेका प्रश्नको जवाफमा भनिन्, 'म देशको कानुन, नियमअनुसार नै चल्नेछु । म जुन संस्थामा संलग्न थिए त्यो संस्थाबाट राजदूत सिफारिस हुनु अघि नै सबै पदबाट राजीनामा दिइसकेको छु । विगत ३७ वर्षदेखि विद्यार्थी आन्दोलनदेखि महिला आयोगको स्थापनालगायतका आन्दोलनमा संलग्न छु । देशको कानुनअनुसार बनेका संघसंस्थाहरूमा काम गरेका हौं । राज्यको नजरमा नपरेकाहरूका पक्षमा काम गरेका थियौं ।' उनलाई सिविनमा संलग्नताबारे सांसदहरूले प्रश्न गरेका थिए ।

प्रकाशित : भाद्र १६, २०८१ १४:१९
x
×