नेपाललाई ईयूको 'एयर सेफ्टी लिस्ट'बाट निकाल्न भूमिका खेल्छु : प्रस्तावित राजदूत रुपाखेती

भाद्र १६, २०८१

कान्तिपुर संवाददाता

I will play a role in removing Nepal from the EU's 'Air Safety List': proposed Ambassador Rupakheti

काठमाडौँ — जर्मनीका लागि प्रस्तावित राजदूत डा. शैल रुपाखेतीले नेपाललाई ईयूको एयर सेफ्टी लिस्टबाट बाहिर निकाल्न भूमिका खेल्ने बताएका छन् । नेपाललाई युरोपियन यूनियनले 'एयर सेफ्टी लिस्ट'मा राखेका कारणले जर्मनीबाट पर्यटन आउने क्रम न्यून भएको प्रस्तावित राजदूत रुपाखेतीले बताए । 

संसदीय सुनुवाइका क्रममा आइतबार संघीय संसद्को संसदीय सुनुवाइ समितिमा डा. रुपाखेतीले जर्मनीले नेपालप्रति आत्मीय व्यवहार गर्ने भएपनि त्यहाँबाट पर्यटक आउने संख्यामा कमी आएको बताए ।

'जर्मनीले जहिले पनि नेपाललाई आत्मीय साथीको रूपमा लिन्छ र लिइरहेको छ । ईयूको एयर सेफ्टी लिस्टका कारण जर्मनीबाट नेपालमा पर्यटक आउने संख्यामा कमी भइरहेको छ,' उनले भने, 'एयर सेफ्टी लिफ्टबाट निकाल्नका लागि भूमिका खेल्छु भनेर मेरो कार्ययोजनामा त्यो विषय राखेको हो । उनीहरूले (नेपाल नागरिक उड्डयन प्राधिकरण)लाई सेवा प्रदायक र नियामक निकायमा छुट्याउनुपर्ने भनेका छन् । ईयूको पछिल्लो अडिटमा नेपाललाई ७० विषयमा पास भएको छ भने बाँकी ३० मा सुधार गर्नुपर्ने छ । यी कुरा गरियो भने ईयूको एयर सेफ्टी लिस्टबाट नेपाललाई निकाल्न सक्छौं ।'

नेपाललाई ईयूको एयर सेफ्टी लिस्टबाट निकाल्नका लागि नेपालबाट युरोपियन मुलुकमा रहेका अन्य राजदूतहरूसँग पनि समन्वय गरेर भूमिका खेल्ने प्रस्तावित राजदूत रुपाखेतीले बताए । 

पेशाले चिकित्सक रुपाखेतीले जर्मनसँग नेपालको 'हेल्थ डिप्लोमेसीमा भूमिका खेल्ने' बताएका छन् । उनले अब चिकित्सक पनि राजदूत हुन पाउछन् भन्ने स्थापित भएको बताए । उनले नेपालमा जर्मनीबाट विगतमा पनि ठूलो सहयोग रहेको उल्लेख गर्दै आगामी दिनमा त्यो सहयोगलाई निरन्तरता दिँदै आगामी दिनमा सहयोगमा बढावा दिने बताए । 

कान्तिपुर

Link copied successfully