कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७२

सौर्य एयरलाइन्स जहाज दुर्घटना : शव हस्तान्तरण शुक्रबारसम्म

श्रावण १०, २०८१
सौर्य एयरलाइन्स जहाज दुर्घटना : शव हस्तान्तरण शुक्रबारसम्म

काठमाडौँ — सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा मृत्यु भएकाहरूको शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगन्ज पुर्‍याइएको छ । अस्पतालले आवश्यक मुचुल्का तथा कागजपत्र मिलाएर शवको पोस्टमार्स्टम सुरु गरिसकेको छ । एउटा शवको पोस्टमार्टम सक्न कम्तीमा ४ घण्टा लाग्ने अस्पतालले जनाएको छ ।

त्रिवि शिक्षण अस्पतालका निर्देशक डा. दिनेश काफ्लेका अनुसार पोस्टमार्टमका लागि फरेन्सिक विज्ञ डा. गोपाल चौधरीको नेतृत्वमा पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान तथा भक्तपुर जिल्ला अस्पतालको टोली पनि खटिएको छ । २५ भन्दा बढी डाक्टर र स्वास्थ्यकर्मी उक्त काममा खटिएका छन् । ‘के कारणले मृत्यु भएको हो भन्नेबारे यकिन थाहा भइसकेकै छ । त्यसमा पनि थप कहाँ के भएको थियो भनेर हेरिन्छ,’ डा. काफ्लेले भने, ‘योभन्दा पनि गाह्रो काम भनेको शवको पहिचान हो, प्रायः यस्तो दुर्घटनामा शव जलेका हुन्छन् । पोस्टमार्टम सकिए पनि पहिचान नभई शव दिन मिल्दैन । त्यसैले शव परिवारलाई हस्तान्तरण गर्न केही समय लाग्न सक्छ ।’ दुर्घटनामा परेका व्यक्तिका आफन्त अस्पतालमा शव कुरिरहेका छन् । नेपाल प्रहरीको महाराजगन्ज वृत्तका डीएसपी अमर थापाका अनुसार बुधबार साँझसम्ममा चारवटा शवको पोस्टमार्टम सकिएको छ । ‘सबै शवको पोस्टमार्टम सकिएपछि पहिचानको काम गरिनेछ,’ उनले भने, ‘१८ शवको पोस्टमार्टम गरेर पहिचान गर्न समय लाग्छ । शवको प्रकृति हेर्दा चाँडोमा पनि शुक्रबार मात्रै परिवारलाई शव हस्तान्तरण हुने अवस्था देखिन्छ ।’ अस्पतालका निर्देशक डा. काफ्लेका अनुसार जलेका शवको

पहिचान सजिलै हुन नसक्ने अवस्थामा उनीहरूको ‘डेन्टल रेकर्ड’ भए त्यसबाट र नभए ‘डीएनए’ परीक्षणबाट यकिन गरिन्छ ।

प्रकाशित : श्रावण १०, २०८१ ०६:२४
×