सिमलताल दुर्घटना : नारायणीमा भेटिएका पाँचवटै शवकाे सनाखत

असार ३०, २०८१

रमेशकुमार पौडेल

Simaltal accident: Identification of all the five bodies found in Narayani

चितवन — सिमलताल पहिराेमा परी त्रिशूली नदीमा खसेर हराइरहेका दुईवटा बसका पाँच यात्रुकाे शव नारायणी नदीमा भेटिएकाे छ । हिजाे र आज नारायणी नदीकाे गैंडाकाेट र मेघाैली क्षेत्रमा पाँचवटा शव भेटिएका थिए । ती सवै शवहरू नदीमा हराइरहेका बसका यात्रुकाे भएकाे पुष्टि भएकाे चितवन जिल्ला प्रशासन कार्यालयले जनाएकाे छ ।

प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवका अनुसार पछिल्लाे पटक भेटिएका दुई शवमध्ये एक वीरगञ्जबाट काठमाडाैं जाँदै गरेका बसका यात्रु सज्जाद अन्सारीकाे हाे । त्यस्तै अर्काे शव काठमाडाैंबाट राैतहट गाैर जान भरतपुरतर्फ आइरहेकाे बसका यात्रु जयप्रकाश ठाकुरकाे रहेकाे प्रमुख जिल्ला अधिकारी यादवले बताए ।

परिचय खुलेका दुवै शव भारतीय नागरिकका हुन् । ठाकुरकाे ठेगाना भारत पश्चिम चम्पारणकाे बेतिया थाना हाे । त्यसैगरी सज्जादकाे बेतिया मझेलिया थाना गुठिया इन्दु हाे । दुवै बसमा गरेर सातजना भारतीय यात्रु थिए । हालसम्म तीनजनाकाे शव भेटिएकाे छ ।

नारायणगढ-मुग्लिन सडककाे भरतपुर महानगरपालिका-२९ सिमलतालमा पहिराेमा बगेर शुक्ररबार बिहान सबेरै दुईवटा बस त्रिशूलीमा खसेर बेेपत्ता भएका हुन् । प्रशासनका अनुसार दुवै बसमा गरेर ६५ जना यात्रु थिए । तीमध्ये तीन जना सकुशल छन् भने बेपत्तामध्ये पाँच जनाको शव भेटिएको हो । अझै ५७ जना यात्रु बेपत्ता छन् । 

बेपत्ता दुई वटा बस र यात्रुहरुको खोजी कार्य भइरहेको छ । 

सिमलताल दुर्घटनाबाढीपहिरो

रमेशकुमार पौडेल कान्तिपुरका चितवन संवाददाता हुन् । उनी दुई दशकदेखि पत्रकारिता गरिरहेका छन् ।

Link copied successfully