प्रेस स्वतन्त्रता सुनिश्चित गर्न नेपाल सरकार र जनताले सार्थक संवाद गर्ने आशा : अमेरिका

जेष्ठ १०, २०८१

कान्तिपुर संवाददाता

Hope for a meaningful dialogue between Nepal government and people to ensure press freedom: America

काठमाडौँ — अमेरिकाले सुशासन, प्रेस स्वतन्त्रता र जनताका मौलिक अधिकारहरू सुनिश्चित गर्न नेपाल सरकार र नेपाली जनताले सार्थक संवाद गर्ने आशा राखेको बताएको छ । सरकारले कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई समाचार लेखेकै भरमा प्रतिशोध साधेर पक्राउ गरेको भोलिपल्ट (बुधबार) काठमाडौंस्थित अमेरिकी दूतावासले प्रेस स्वतन्त्रताको पक्षमा विज्ञप्ति जारी गरेको हो । 

दूतावासले सामाजिक सञ्जालमार्फत ‘अझ परिपूर्ण मुलुक’ बन्ने दिशामा आफ्नो प्रयास जारी राख्दै गर्दा अमेरिकाका निम्ति प्रेस स्वतन्त्रता, जवाफदेहिता र पारदर्शिता मार्गदर्शक सिद्धान्तहरू भएको जनाएको छ । ‘कठिन संघर्षपश्चात् प्राप्त लोकतन्त्रलाई आकार दिने कार्यलाई नेपालले जारी राख्दै गर्दा सुशासन, प्रेस स्वतन्त्रता र जनताका मौलिक अधिकारहरू सुनिश्चित गर्नेबारे नेपाल सरकार र नेपाली जनताले पनि सार्थक संवाद गर्नेछन् भन्ने आशा हामीले राखेका छौं,’ दूतावासले भनेको छ ।

इन्टरनेसनल प्रेस इन्स्टिच्युट (आईपीआई) नेपाल च्याप्टरले अध्यक्ष सिरोहियाको गिरफ्तारीप्रति गहिरो चासो व्यक्त गरेको छ । महासचिव शिरोमणि ढुंगानाले बुधबार विज्ञप्ति जारी गर्दै कान्तिपुरले सहकारीको रकम हिनामिनाका विषय प्रकाशन/प्रसारण गरिरहेको बेला अध्यक्ष सिरोहियालाई कार्यकक्षबाटै पक्राउ गर्नुले राजनीतिक प्रतिशोधको आशंका गर्ने ठाउँ दिएको बताएका छन् । ‘जुन समयमा सिरोहिया पक्राउ परेका छन्, त्यसले सरकारको रवैयामाथि प्रश्न उठेको छ । यो कदम राजनीतिक प्रतिशोधका लागि लिइएको त होइन भन्ने आशंकासमेत गर्न सकिने ठाउँहरू छन्,’ विज्ञप्तिमा भनिएको छ । 

आईपीआई नेपाल च्याप्टर प्रतिशोध र राज्यशक्तिको दुरुपयोगबाट निर्देशित भएर गरिने कार्यहरू प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको विश्वव्यापी मान्यताविपरीत हुनेमा बलियो विश्वास राख्ने विज्ञप्तिमा उल्लेख छ । सरकारलाई यस प्रकारको क्रियाकलाप नगर्न र मिडिया जगत्लाई डरबिना काम गर्ने वातावरण सिर्जना गर्नसमेत च्याप्टरले आग्रह गरेको छ ।

अभिव्यक्ति स्वतन्त्रतासहित राजनीतिक सहभागिता, पारदर्शिता, स्वायत्त संस्थाहरूको प्रवर्द्धन र जवाफदेहिता लगायतको सुनिश्चितताले मात्रै लोकतन्त्र बलियो हुन सक्ने आईपीआई नेपाल च्याप्टरले बताएको छ । ‘यस सन्दर्भमा आईपीआई नेपाल च्याप्टर सरकारलाई लोकतन्त्रको मूल्यमान्यतामा पूर्ण प्रतिबद्ध रहँदै प्रेस स्वतन्त्रता र जनताको सूचनाको हकका लागि उपयुक्त वातावरण सिर्जना गर्न अपिल गर्छ,’ विज्ञप्तिमा भनिएको छ ।

त्यस्तै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले समेत सिरोहिया पक्राउको विषयमा समाचार लेखेका छन् । बीबीसी नेपाली सेवा, द हिन्दु, द इन्डियन एक्सप्रेस, डेक्कन हेरार्ल्ड, न्युज लन्ड्री, इन्डियाडटकम, रोयटर्स, वासिङ्टन पोस्टलगायतले समाचारकै कारण प्रतिशोधस्वरूप सिरोहियालाई पक्राउ गरिएको उल्लेख गरेका छन् । पत्रकार महासंघ, मिडिया सोसाइटी, कानुन व्यवसायी र नागरिक अगुवाका प्रतिनिधि, सांसदहरू, विभिन्न मिडिया प्रकाशक तथा पत्रकारहरूको उपस्थितिबीच प्रहरीले मंगलबार कान्तिपुरको कार्यकक्षमै प्रवेश गरेर सिरोहियालाई पक्राउ गरेको थियो ।

प्रेसविरुद्ध राज्य प्रतिशोध

कान्तिपुर

Link copied successfully