मिडिया धरपकडप्रति राजनीतिक वृत्तबाट आलोचना

‘मिडियालाई आतंकित पार्न कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष सिरोहियालाई पूर्वाग्रह र प्रतिशोधपूर्ण ढंगबाट पक्राउ’

जेष्ठ १०, २०८१

कान्तिपुर संवाददाता

Criticism from political circles towards the media strike

काठमाडौँ — सहकारी ठगीसम्बन्धी समाचारको प्रतिशोधमा कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई पक्राउ गरी हिरासतमा राखेको भन्दै सत्तारूढ र प्रतिपक्षी दलका नेता तथा सांसदहरूले सरकारको आलोचना गरेका छन् । सत्तारूढ दल नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले कान्तिपुरका अध्यक्ष सिरोहियालाई गिरफ्तार गर्नु निन्दनीय भएको बताएका छन् ।

‘अध्यक्ष सिरोहियालाई पक्राउ गरेको कुरा सुनेर म अचम्मित भएको छु । र, दुःख पनि लागेको छ,’ बुधबार सप्तरीको राजविराजमा सञ्चारकर्मीहरूसित कुरा गर्दै नेपालले भने, ‘यो कस्तो देश भयो ? स्वच्छ मिडिया, राम्रो मिडिया चलाएबापतको दण्ड हो कि ? कुनै बदलाको भावनाले यो भएको हो कि ?’ अध्यक्ष नेपालले कैलाश सिरोहिया जनकपुरको बासिन्दा हो भनेर सबैलाई थाहा भएको बताए ।

‘सबैलाई थाहा छ कि कैलाश सिरोहिया जनकपुरकवासी हो । सारा परिवारको बसोबास यही छ । कैलाश सिरोहियालाई नेपालको नागरिक हो कि होइन भन्ने कुरामा गिरफ्तार गर्नु अत्यन्तै निन्दनीय कुरा हो,’ उनले भने, ‘एउटै नम्बरको दुईवटा नागरिकता परेको छ भने त्यो दोष नागरिकता पाउने मान्छेको होइन, प्रशासनको हो ।’ उनले कुनै कुरा बुझ्नका लागि व्यक्तिलाई पक्राउ नै गर्नुपर्छ भन्ने कानुनी व्यवस्थासमेत नभएको बताए । ‘कुनै कुरा बुझ्नैपर्छ भने पनि व्यक्तिलाई गिरफ्तार गर्नैपर्छ भन्ने होइन । गम्भीर अपराध हो र पक्राउ नगरे प्रमाण नष्ट हुने अवस्था भए पक्राउ गर्ने हो,’ उनले भने, ‘तर उहाँ स्वयंले अनुसन्धानमा सहयोग पुर्‍याउँछु भनिरहेका बेला जुन ढंगले गिरफ्तारी गरिएको छ, यो निन्दनीय छ ।’ 

जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले सिरोहियालाई पूर्वाग्रह तथा प्रतिशोधपूर्ण ढंगबाट पक्राउ गरिएको जनाएका छन् । बुधबार प्रेस विज्ञप्ति जारी गर्दै अध्यक्ष यादवले सिरोहियालाई पक्राउ गरिएकोमा पार्टीको गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् । अध्यक्ष यादवद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘लोकतन्त्रको पक्षमा लामो समयदेखि संघर्ष गरेको कान्तिपुर मिडियामाथि आक्रमण गर्नु लोकतन्त्र, प्रेस स्वतन्त्रता तथा अभिव्यक्ति स्वतन्त्रतामाथि निर्मम प्रहार हो भन्ने हाम्रो ठम्याइ छ ।’ नीतिगत भ्रष्टाचारविरुद्ध निष्पक्ष समाचार प्रकाशित गरेकै कारण पक्राउ गर्नु दुर्भाग्यपूर्ण भएको पनि बताएका छन् । ‘राज्य संयन्त्रको दुरुपयोग गरी सञ्चार क्षेत्रलाई आतंकित पार्ने कार्य रोकी निजलाई तत्काल रिहाइ गर्नुपर्दछ । आगामी दिनमा यस्ता पूर्वाग्रहपूर्ण घटना नदोहोर्‍याउन सरकारलाई सचेत गराइन्छ,’ विज्ञप्तिमा भनिएको छ । 

राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय कार्यसमिति बैठकले गृहमन्त्री लामिछानेमाथि पनि अनुसन्धान सुरु गर्नुपर्ने उल्लेख गरेको छ । ‘अध्यक्ष कैलाश सिरोहियामाथि नागरिकता दुरुपयोगसम्बन्धी अभियोग न्यायिक निरुपणको विषय बनिसकेको छ । राप्रपा जुनसुकै ओहोदामा रहेका जोसुकै व्यक्तिले कानुनविपरीत गरेका कामको निष्पक्ष र न्यायिक छानबिन हुनुपर्दछ भन्नेमा प्रस्ट छ,’ प्रवक्ता मोहनकुमार श्रेष्ठले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘नागरिकता प्रकरणमा जुन ढंगबाट सिरोहियामाथि छानबिन सुरु भएको छ त्यसैगरी गृहमन्त्री रवि लामिछानेमाथि लागेका आरोपमाथि पनि छानबिन गरिनुपर्छ भन्ने राप्रपाको धारणा रहेको छ । कानुन सर्वसाधारण र मन्त्रीलाई समान रूपमा लागू हुनुपर्दछ ।’

कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई जिल्ला प्रशासनले दिएको नागरिकताको नम्बर अर्को व्यक्तिसँग मिलेको बहानामा मंगलबार कार्यकक्षबाटै गिरफ्तार गरिएको थियो । सत्तारूढ एमाले नेता एवं पूर्वगृहमन्त्री भीम रावलले गृहमन्त्री रवि लामिछानेसँग कानुनविपरीत दुई नागरिकता र राहदानी लिएकोमा कारबाही नगरेको प्रसंग उल्लेख गर्दै कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष सिरोहियालाई पक्राउ गरी कानुनी राज्यको उपहास भएको बताएका छन् । ‘गृहमन्त्री रवि लामिछानेसँग नेपालको कानुनविपरीत विदेशको समेत दुई नागरिकता र राहादानी हुँदा केही कारबाही नगर्ने तर कैलाश सिरोहियालाई दुईवटा नागरिकतामा विवरण फरक परेको भनी कार्यकक्षबाट पक्रेर रातारात धनुषा लाने ?’ रावलले सामाजिक सञ्जाल एक्समा लेखेका छन्, ‘के मन्त्री र अरूका लागि फरक–फरक कानुन छ ? कानुनी राज्यको उपहास ।’

कांग्रेस सांसद प्रदीप पौडेलले कान्तिपुर अध्यक्षमाथि लगाएको आरोप पूर्वाग्रही रहेको बताउँदै ठगीका आरोप लागेका सबैमाथि छानबिन गर्न माग गरेका छन् । ‘कानुनी राज्य प्रतिशोधका आधारमा चल्न हुँदैन । तर हिजो कान्तिपुरका अध्यक्ष कैलाश सिरोहियामाथि राज्यले गरेको व्यवहारमा प्रतिशोध देखिन्छ,’ पौडेलले भने, ‘उनीमाथि निष्पक्ष छानबिन होस्, साथसाथै यस्तै मुद्दामा मुछिएका आम जनता ठगीको आरोप लागेका सबै जना छानबिनको दायरामा आऊन् ।’ कांग्रेस केन्द्रीय सदस्य नैनसिंह महरले पनि सरकारले प्रतिशोध साँधेर धरपकड गरेको भन्दै आपत्ति जनाएका छन् । उनले सरकारको त्यो कदम अलोकतान्त्रिक र आपत्तिजनक रहेको बताए ।

कांग्रेसका केन्द्रीय सदस्य अजयबाबु शिवाकोटीले लोकतन्त्र र प्रेस स्वतन्त्रताका लागि सरकार राजा ज्ञानेन्द्रको नयाँ भेरिएन्टका रूपमा देखा परेको टिप्पणी गरेका छन् । उनले मिडियाले लेखेको विषयमा प्रतिशोध साँधेर सरकारले पत्रकारहरूलाई दबाउने र सत्ता लम्ब्याउने सपना देखिरहेको बताए । 

त्यस्तै, सत्तारूढ माओवादी केन्द्रका सांसद माधव सापकोटाले सिरोहियाको गिरफ्तारी गलत भएको टिप्पणी गरेका छन् । कान्तिपुरले सहकारीको रकम अपचलनलगायतका विषयमा निरन्तर प्रकाशन गरिरहेको बेला नागरिकताको विषय उठान गरी ग्रुपका अध्यक्ष सिरोहियालाई पक्राउ गर्नु गलत भएको बताए । 

लोकतान्त्रिक समाजवादी पार्टी नेपालका वरिष्ठ नेता एवं प्रतिनिधिसभा सांसद शरतसिंह भण्डारीले प्रतिशोधपूर्ण तरिकाले कान्तिपुरका अध्यक्षलाई पक्राउ गरेकोमा खेद प्रकट गरेका छन् । बुधबार विज्ञप्ति जारी गर्दै भण्डारीले सरकारको व्यवहारले मिडिया क्षेत्रलाई आतंकित पार्दै अंकुश लगाउन खोजेको देखिने उल्लेख गरेका छन् । ‘कान्तिपुर प्रकाशन ग्रुपका अध्यक्ष कैलाश सिरोहियाको गिरफ्तारीको हाम्रो पार्टी राष्ट्रिय जनमोर्चाले विरोध गर्छ,’ जनमोर्चा अध्यक्ष चित्रबहादुर केसीद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ, ‘आफ्नो विरोधमा समाचार सम्प्रेषण गर्ने सञ्चारगृहलाई निशाना बनाउनु सरकारको अधिनायकवादी कार्यशैलीको परिणाम हो ।’

प्रेसविरुद्ध राज्य प्रतिशोध

कान्तिपुर

Link copied successfully