'गृहमन्त्री संलग्न सहकारी घोटालाका समाचार आइरहँदा आफ्ना कार्यकर्तालाई उजुरी हाल्न लगाएर बिनाछानबिन समात्नु भनेको त्यस्ता समाचार रोक्ने र अरु मिडिया/नागरिकको मुख थुन्ने प्रयास हो ।'
काठमाडौँ — कान्तिपुर दैनिकका पूर्वप्रधानसम्पादक सुधीर शर्माले सयौँ प्रहरीको घेराबन्दी र हस्तक्षेपसहित कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई पक्राउ गर्नुले बदला लिने र दुःख दिने मनसाय प्रस्ट देखिएको बताएका छन् ।
पूर्वप्रधान सम्पादक शर्माले बुधबार सामाजिक सञ्जाल एक्समार्फत गृहमन्त्री संलग्न सहकारी घोटालाका समाचार आइरहँदा आफ्ना कार्यकर्तालाई उजुरी हाल्न लगाएर बिनाछानबिन समात्नु भनेको त्यस्ता समाचार रोक्ने र अरु मिडिया/नागरिकको मुख थुन्ने प्रयास भएको बताएका हुन् ।
मंगलबारको घटनाको जिम्मेवारी गृहमन्त्री रवि लामिछानेले मात्र नभई प्रधानमन्त्री पुष्पकमल दाहालले समेत लिनुपर्ने शर्माको भनाइ छ । उनले लेखेका छन्, 'भाग्ने वा प्रमाण नष्ट गर्ने सम्भावना नभएका व्यक्तिलाई थुनेर कारबाही गरिरहनु नपर्ने अदालतको पूर्वआदेशविपरीत सञ्चारगृहमा सयौं प्रहरीको घेराबन्दी र हस्तक्षेपसहित गिरफ्तारी गर्नुले बदला लिने र दुःख दिने मनसाय प्रस्ट देखिन्छ । र, यसको जिम्मेवार गृहमन्त्रीमात्र नभई प्रम प्रचण्ड पनि हुन्, जो हाँसीहाँसी, आफूलाई ‘निरीह’ देखाई-देखाई अदृश्य अधिनायकवाद लाद्नेतर्फ उद्यत छन् ।'
हिजो कान्तिपुरमा जे गरियो, त्यो स्पष्टतः प्रतिशोधको मामिला हो । कान्तिपुरका प्रकाशक कैलाश सिरोहिया वा जो कोहीमाथि पनि राज्यले आवश्यक ठान्दा छानवीन गर्नसक्छ, तर त्यो कसरी र कुन नियतबाट गरिदैछ भन्ने भन्ने कुरा मुख्य हो ।
गृहमन्त्री संलग्न सहकारी घोटालाका समाचार आइरहँदा आफ्ना…
पूर्वप्रधान सम्पादक शर्माले मंगलबारको घटना प्रतिशोधको मामिला भएको समेत बताएका छन् । 'हिजो कान्तिपुरमा जे गरियो, त्यो स्पष्टतः प्रतिशोधको मामिला हो । कान्तिपुरका प्रकाशक कैलाश सिरोहिया वा जो कोहीमाथि पनि राज्यले आवश्यक ठान्दा छानबिन गर्नसक्छ, तर त्यो कसरी र कुन नियतबाट गरिँदैछ भन्ने भन्ने कुरा मुख्य हो,' उनले भनेका छन् ।
कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष सिरोहियालाई जिल्ला प्रशासनले दिएको नागरिकताको नम्बर अर्को व्यक्तिसँग मिलेको बहानामा मंगलबार कार्यकक्षबाटै गिरफ्तार गरिएको हो ।
स्वतन्त्र प्रेसको कार्यालयमा राज्यका सुरक्षा निकाय प्रवेश नगर्ने लोकतान्त्रिक अभ्यासलाई कुल्चिँदै काममा रहेका बेलामा अध्यक्ष सिरोहियालाई पक्राउ गर्न प्रहरीको टोली कान्तिपुर कार्यालयको आठौं तलाको कार्यकक्षमै पुगेको थियो । उपत्यका अपराध अनुसन्धान कार्यालय काठमाडौंका एसएसपी सानुकुमार भट्टराई र एसपी रवीन्द्र रेग्मीसहितको टोली बर्दीसहितका प्रहरी अधिकृत लिएर कार्यकक्षमा प्रवेश गरेका थिए ।
मंगलबार कान्तिपुरमा गोर्खा मिडियामा चार सहकारीको ९५ करोड ८१ लाख अपचलन, उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने कम्पनीमा प्रबन्ध निर्देशक भएको अवधिमा मात्रै सहकारीहरूबाट ८० करोड ३१ लाख रुपैयाँ गोर्खा मिडियामा आएको दस्ताबेजबाट पुष्टि शीर्षकमा समाचार छापिएको थियो । लगत्तै बिहानैदेखि कान्तिपुरको कार्यालय परिसर र थापाथली सडकमा समेत ठूलो संख्यामा प्रहरी परिचालन गरिएको थियो ।
कान्तिपुर कार्यालय परिसरमा पत्रकार महासंघ, मिडिया सोसाइटी, कानुन व्यवसायी, नागरिक अगुवा, सांसदहरू, विभिन्न मिडिया प्रकाशक तथा पत्रकारहरूको उपस्थितिका बीचमा बर्दीधारी प्रहरीले सिरोहियालाई लगेका हुन् ।
