'समाचार चित्त परेन भने मानहानी मुद्दा राख्नुस्, नागरिकता सवाल छनबिन गर्न थुन्नै पर्ने हैन। सिरोहिया सार्वजनिक पदमा छैनन्, प्रमाण हटाउन सक्दैनन्। थुनेर छनबिन गर्नु पर्दैन।'
काठमाडौँ — पूर्वपरराष्ट्रमन्त्री विमला राई पौड्यालले कान्तिपुर मिडिया ग्रुपमाथिको प्रतिशोध सञ्चारमाध्यम परिसरमा प्रहरी मार्च गरिनु निन्दनीय भएको बताएकी छिन् । बुधबार सामाजिक सञ्जाल एक्समा प्रतिक्रिया दिँदै उनले नागरिकता सवाल छानबिन गर्न थुन्नै पर्ने अवस्था नभएको बताएकी हुन् ।
राष्ट्रिय सभाकी पूर्वसदस्यसमेत रहेकी पौड्यालले भनेकी छिन्, 'कान्तिपुरमाथिको प्रतिशोध र मिडिया हाउस परिसरमा प्रहरी मार्च निन्दनीय छ। समाचार चित्त परेन भने मानहानी मुद्दा राख्नुस्, नागरिकता सवाल छनबिन गर्न थुन्नै पर्ने हैन। सिरोहिया सार्वजनिक पदमा छैनन्, प्रमाण हटाउन सक्दैनन्। थुनेर छनबिन गर्नु पर्दैन। संयम बन्नुस् गृहमन्त्री प्लिज ।'
कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष सिरोहियालाई जिल्ला प्रशासनले दिएको नागरिकताको नम्बर अर्को व्यक्तिसँग मिलेको बहानामा मंगलबार कार्यकक्षबाटै गिरफ्तार गरिएको हो ।
स्वतन्त्र प्रेसको कार्यालयमा राज्यका सुरक्षा निकाय प्रवेश नगर्ने लोकतान्त्रिक अभ्यासलाई कुल्चिँदै काममा रहेका बेलामा अध्यक्ष सिरोहियालाई पक्राउ गर्न प्रहरीको टोली कान्तिपुर कार्यालयको आठौं तलाको कार्यकक्षमै पुगेको थियो । उपत्यका अपराध अनुसन्धान कार्यालय काठमाडौंका एसएसपी सानुकुमार भट्टराई र एसपी रवीन्द्र रेग्मीसहितको टोली बर्दीसहितका प्रहरी अधिकृत लिएर कार्यकक्षमा प्रवेश गरेका थिए ।
मंगलबार कान्तिपुरमा गोर्खा मिडियामा चार सहकारीको ९५ करोड ८१ लाख अपचलन, उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने कम्पनीमा प्रबन्ध निर्देशक भएको अवधिमा मात्रै सहकारीहरूबाट ८० करोड ३१ लाख रुपैयाँ गोर्खा मिडियामा आएको दस्ताबेजबाट पुष्टि शीर्षकमा समाचार छापिएको थियो । लगत्तै बिहानैदेखि कान्तिपुरको कार्यालय परिसर र थापाथली सडकमा समेत ठूलो संख्यामा प्रहरी परिचालन गरिएको थियो ।
कान्तिपुर कार्यालय परिसरमा पत्रकार महासंघ, मिडिया सोसाइटी, कानुन व्यवसायी, नागरिक अगुवा, सांसदहरू, विभिन्न मिडिया प्रकाशक तथा पत्रकारहरूको उपस्थितिका बीचमा बर्दीधारी प्रहरीले सिरोहियालाई लगेका हुन् ।
