सिरोहियामाथिको व्यवहारमा गृहमन्त्रीजीको व्यक्तिगत रुचि हाबी देखिन्छ : एमाले नेता रिजाल

जेष्ठ ९, २०८१

कान्तिपुर संवाददाता

The personal interest of the Home Minister seems to prevail in the treatment of Sirohia: UML leader Rizal

काठमाडौँ — एमाले केन्द्रीय सदस्य विष्णु रिजालले गृहमन्त्री रवि लामिछानेको व्यक्तिगत रुचिमा कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियामाथि प्रतिशोध साधिएको बताएका छन् । बुधबार बिहान सामाजिक सञ्जाल एक्समा प्रतिक्रिया दिँदै नेता रिजालले राज्यलाई प्रतिशोध साध्ने र उत्तेजित हुने छुट नभएको बताएका हुन् । 

अध्यक्ष सिरोहियालाई पक्राउ गरिनुमा गृहमन्त्री लामिछानेको व्यक्तिगत रुचि हाबी देखिएको बताएका छन् । नेता रिजालले लेखेका छन्, 'राज्यलाई प्रतिशोध साध्ने र उत्तेजित हुने छुट छैन । कैलाश सिरोहियामाथि जुन व्यवहार गरिएको छ, यसमा गृहमन्त्रीजीको व्यक्तिगत रुचि हाबी देखिन्छ ।  न्यायिक निरुपण आफ्नो हिसाबले होला तर गृह प्रशासनको उत्तेजनापूर्ण र प्रतिशोधात्मक व्यवहारले समग्र सरकारकै छविमा प्रश्न खडा गरेको छ ।'

कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष सिरोहियालाई जिल्ला प्रशासनले दिएको नागरिकताको नम्बर अर्को व्यक्तिसँग मिलेको बहानामा मंगलबार कार्यकक्षबाटै गिरफ्तार गरिएको हो ।

स्वतन्त्र प्रेसको कार्यालयमा राज्यका सुरक्षा निकाय प्रवेश नगर्ने लोकतान्त्रिक अभ्यासलाई कुल्चिँदै काममा रहेका बेलामा अध्यक्ष सिरोहियालाई पक्राउ गर्न प्रहरीको टोली कान्तिपुर कार्यालयको आठौं तलाको कार्यकक्षमै पुगेको थियो । उपत्यका अपराध अनुसन्धान कार्यालय काठमाडौंका एसएसपी सानुकुमार भट्टराई र एसपी रवीन्द्र रेग्मीसहितको टोली बर्दीसहितका प्रहरी अधिकृत लिएर कार्यकक्षमा प्रवेश गरेका थिए ।

मंगलबार कान्तिपुरमा गोर्खा मिडियामा चार सहकारीको ९५ करोड ८१ लाख अपचलन, उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने कम्पनीमा प्रबन्ध निर्देशक भएको अवधिमा मात्रै सहकारीहरूबाट ८० करोड ३१ लाख रुपैयाँ गोर्खा मिडियामा आएको दस्ताबेजबाट पुष्टि शीर्षकमा समाचार छापिएको थियो । लगत्तै बिहानैदेखि कान्तिपुरको कार्यालय परिसर र थापाथली सडकमा समेत ठूलो संख्यामा प्रहरी परिचालन गरिएको थियो ।

कान्तिपुर कार्यालय परिसरमा पत्रकार महासंघ, मिडिया सोसाइटी, कानुन व्यवसायी, नागरिक अगुवा, सांसदहरू, विभिन्न मिडिया प्रकाशक तथा पत्रकारहरूको उपस्थितिका बीचमा बर्दीधारी प्रहरीले सिरोहियालाई लगेका हुन् ।

कान्तिपुर

Link copied successfully