सिरोहियाको गिरफ्तारी स्वेच्छाचारी शासनको पराकाष्ठा : प्रेस मञ्च नेपाल

जेष्ठ ९, २०८१

कान्तिपुर संवाददाता

Sirohia's arrest marks the end of an arbitrary regime: Press Forum Nepal

राजविराज — कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई कान्तिपुर पब्लिकेशन्स्को कार्यालयबाट गिरफ्तार गरिएको घटनालाई प्रेस मञ्च नेपालले स्वेच्छाचारी शासनको पराकाष्ठा भएको बताएको छ ।

मञ्चको संघीय समितीका महासचिव अवधेशकुमार झाले विज्ञप्ति जारी गर्दै प्रेस स्वतन्त्रता र लोकतन्त्रको मानकको रुपमा रहेको कान्तिपुरका अध्यक्ष सिरोहियालाई प्रतिशोधपूर्ण ढंगबाट गरिएको गिरफ्तारीको  निन्दा गरेका हुन् । अध्यक्ष सिरोहियालाई पक्राउ गर्नु सिंगो प्रेसमाथिको सरकारी दमनको रुपमा हामीले लिएका छौं,' विज्ञप्तिमा भनिएको छ, 'पछिल्लो समय कान्तिपुर दैनिकले सहकारी ठगी प्रकरणका विषयमा खोजमूलक समाचारहरू प्रकाशित गरिरहेको सन्दर्भमा कान्तिपुरसहितका मिडियालाई तर्साउन गरिएको यो गिरफ्तारी स्वेच्छाचारी शासनको पराकाष्ठा हो । 

लोकतन्त्र स्थापनाको आन्दोलनमा आठौं दलको रुपमा शाही शासनले उपमा दिएको कान्तिपुर पब्लिकेशन्सको केन्द्रीय कार्यालयमै प्रहरीको परेड गराएर कार्यालयमा रहेका अध्यक्ष सिरोहियालाई पक्राउ गर्नु तथा मिडियाको कक्षमा प्रहरी उपस्थित गराउनु लोकतन्त्रमा शाहीकालको झल्को दिएको महासचिव झाद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

कानुनअनुसार कुनै पनि नागरिकमाथि अनुसन्धान हुनुपर्छ । तर समाचार प्रकाशन गरेकै कारण मिडियालाई तर्साउन गरिएको यो गिरफ्तारी इतिहासमै सरकारको कंलकित कार्यको रुपमा दर्ज भएको बताउँदै विज्ञप्तिमा 'आफूमाथि लागेको आरोपका सन्दर्भमा न्यायिक छानबिनमा सघाउने प्रतिबद्धता जनाएका सिरोहियालाई कान्तिपुर दैनिकको कार्यालयबाटै पक्राउ गरिनु सरकारको अधिनायकवादी निरकुंश चरित्रलाई उदांगो पारेको छ' भनिएको छ ।

विज्ञप्तिमा प्रेस स्वतन्त्रता नै कुण्ठित गर्ने गरी सरकार र गृह प्रशासनबाट भएका दमनकारी कार्यका विरुद्ध उभिन तथा प्रेस स्वतन्त्रता र लोकतन्त्रका लागि आवाज बुलन्द गर्न आग्रह  गरिएको छ ।

कान्तिपुर

Link copied successfully