सञ्चारगृहमा हतियारसहित प्रहरी प्रवेश गर्नु सम्पूर्ण प्रेसलाई संकुचित गर्ने दुष्प्रयास : अध्यक्ष श्रेष्ठ

जेष्ठ ९, २०८१

कान्तिपुर संवाददाता

Police entering the media house with weapons is an attempt to restrict the entire press: President Shrestha

काठमाडौँ — उपत्यका प्रसारक मञ्चका अध्यक्ष आरके श्रेष्ठले सञ्चारगृहमा हतियारसहित प्रहरी प्रवेश गर्नु खेदजनक भएको बताएका छन् । बुधबार सेन्ट्रल बिजनेस पार्कमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष श्रेष्ठले हतियारसहित सञ्चारमाध्यम गृहमा प्रवेश गर्नु दु:खद् भएको बताएका हुन् । 

छानबिनका नाममा सञ्चारगृहलाई दु:ख दिन नहुने उनको भनाइ छ । 'छानबिनका क्रममा नीति ऐनमा एकरुपता होस् । कैलाश सिरोहियामात्र होइन अन्य उच्चपदस्थ व्यक्तिमाथि पनि त्यस्तै छानबिन होस् । आमसञ्चार गृहमा हतियारधारीको प्रवेश सम्पूर्ण प्रेसलाई संकुचित बनाउने दुष्प्रयास हो,' उनले भने । 

कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष सिरोहियालाई जिल्ला प्रशासनले दिएको नागरिकताको नम्बर अर्को व्यक्तिसँग मिलेको बहानामा मंगलबार कार्यकक्षबाटै गिरफ्तार गरिएको हो ।

स्वतन्त्र प्रेसको कार्यालयमा राज्यका सुरक्षा निकाय प्रवेश नगर्ने लोकतान्त्रिक अभ्यासलाई कुल्चिँदै काममा रहेका बेलामा अध्यक्ष सिरोहियालाई पक्राउ गर्न प्रहरीको टोली कान्तिपुर कार्यालयको आठौं तलाको कार्यकक्षमै पुगेको थियो । उपत्यका अपराध अनुसन्धान कार्यालय काठमाडौंका एसएसपी सानुकुमार भट्टराई र एसपी रवीन्द्र रेग्मीसहितको टोली बर्दीसहितका प्रहरी अधिकृत लिएर कार्यकक्षमा प्रवेश गरेका थिए ।

मंगलबार कान्तिपुरमा गोर्खा मिडियामा चार सहकारीको ९५ करोड ८१ लाख अपचलन, उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने कम्पनीमा प्रबन्ध निर्देशक भएको अवधिमा मात्रै सहकारीहरूबाट ८० करोड ३१ लाख रुपैयाँ गोर्खा मिडियामा आएको दस्ताबेजबाट पुष्टि शीर्षकमा समाचार छापिएको थियो । लगत्तै बिहानैदेखि कान्तिपुरको कार्यालय परिसर र थापाथली सडकमा समेत ठूलो संख्यामा प्रहरी परिचालन गरिएको थियो ।

कान्तिपुर कार्यालय परिसरमा पत्रकार महासंघ, मिडिया सोसाइटी, कानुन व्यवसायी, नागरिक अगुवा, सांसदहरू, विभिन्न मिडिया प्रकाशक तथा पत्रकारहरूको उपस्थितिका बीचमा बर्दीधारी प्रहरीले सिरोहियालाई लगेका हुन् ।

कान्तिपुर

Link copied successfully