काठमाडौँ — राष्ट्रिय सभा अध्यक्ष निर्वाचनका लागि मंगलबार राष्ट्रिय सभामा प्रस्ताव पेस भएको छ । मंगलबार नेकपा (माओवादी केन्द्र) का सांसद गोपीबहादुर सार्की आछामीले गठबन्धन दलका साझा उम्मेदवार नारायणप्रसाद दाहाललाई अध्यक्ष पदमा निर्वाचित गरियोस भन्ने प्रस्ताव पेस गरेका हुन् । त्यस्तै कांग्रेस सांसद आनन्दप्रसाद ढुंगानाले युवराज शर्मालाई राष्ट्रिय सभाको अध्यक्ष पदमा निर्वाचित गरियोस् भन्ने प्रस्ताव पेस गरे ।
एक वर्षदेखि सत्ता सहयात्रा गरेका कांग्रेस र माओवादी गठबन्धनबाट अलग हुनासाथ राष्ट्रियसभा अध्यक्षमा यी दुई पार्टीबीच प्रतिस्पर्धा हुन लागेको हो । राष्ट्रिय सभा अध्यक्षका लागि नयाँ गठबन्धनबाट माओवादीका अध्यक्ष समेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहालका भाइ नारायण दाहाल र विपक्षीबाट कांग्रेसका पुराना नेता युवराज शर्माले सोमबार उम्मेदवारी दिएका हुन् ।
राष्ट्रिय सभा अध्यक्ष लिन तत्कालीन गठबन्धनभित्रै कांग्रेस र माओवादीबीच रस्साकसी चलिरहेका बेला प्रधानमन्त्री दाहालले एमालेसँग मिलेर नयाँ समीकरण बनाएका हुन् ।
कांग्रेसले राष्ट्रियसभा अध्यक्ष बनाउने भनेरै नेता कृष्णप्रसाद सिटौलालाई राष्ट्रिय सभामा प्रवेश गराएको थियो । सिटौलाले दाहाल र कांग्रेस सभापति शेरबहादुर देउवाको आग्रहमै आफू राष्ट्रिय सभामा आएको बताउँदै आएका छन् ।
माओवादीले गठबन्धन बदलेसँगै अध्यक्ष हुने सम्भावना टरेपछि सिटौला पार्टीबाट राष्ट्रिय सभा संसदीय दलको नेता बनेका छन् भने विकल्पमा बाँकेका पुराना नेता शर्मालाई अघि सारेको छ ।
सत्ता गठबन्धनबाट उम्मेदवार बनेका दाहाललाई माओवादी, एमाले, एकीकृत समाजवादी, जसपाको समर्थन छ । सत्ता गठबन्धनबीच फागुन २१ मा भएको ८ बुँदे सहमतिमा राष्ट्रिय सभाको अध्यक्षमा माओवादीका उम्मेदवारलाई समर्थन गर्ने उल्लेख छ । मंगलबार एकीकृत समाजवादी पार्टीसहित पुन: ५ दलले विज्ञप्ति जारी गरेर नारायण दाहाललाई मत दिने बताएका छन् ।
राष्ट्रिय सभामा सत्ता गठबन्धनको बहुमत छ । माओवादी १७, एमाले १०, एकीकृत समाजवादी ८ र जसपा ३ गरी सत्ता गठबन्धनको पक्षमा ३९ सदस्य छन् । अध्यक्ष निर्वाचित हुन ३० सांसद भए बहुमत पुग्छ । मनोनीत वामदेव गौतमले कता मत दिने भन्ने खुलाएका छैनन् ।
चारवर्षे कार्यकाल रहेका दाहाल मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिबाट २०७८ चैतमा राष्ट्रिय सभा सदस्य मनोनीत भएका थिए । चितवन स्थायी ठेगाना भएका दाहाल २०३१ सालदेखि पार्टीमा सक्रिय छन् । उनी २०५७ देखि माओवादी केन्द्रीय सदस्य छन् । माओवादी शान्ति प्रक्रियामा आएपछि २०६३ मा दाहाल अन्तरिम व्यवस्थापिका संसद् सदस्य बनेका थिए । ०६४ मा भएको पहिलो संविधानसभा निर्वाचनमा दाहाल चितवन–३ बाट संविधान सभा सदस्यमा निर्वाचित भएका थिए । यसअघि दाहाल प्रधानमन्त्री हुँदा उनी सल्लाहकार थिए ।
कांग्रेससँग राष्ट्रिय सभामा १६ सांसद छन् । २०४५ मै कांग्रेसको बाँके सभापति भएर काम गरेका ७२ वर्षीय शर्मा २०२८ मा देउवा नेविसंघको सभापति हुँदा उपाध्यक्ष थिए । नेता सुशील कोइरालासँग विवादका कारण पछि परेका शर्मालाई निर्वाचित नहुने निश्चित भएपछि राष्ट्रिय सभा अध्यक्षको उम्मेदवार बनाइएको हो । ‘जित्ने अवस्था भएको भए सिटौला नै हुन्थे, हार्ने निश्चित भएपछि मात्रै शर्माले मौका पाएका हुन्,’ कांग्रेसका एक नेताले भने ।
