काठमाडौँ — राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नयाँ सत्ता गठबन्धनमा सामेल नहुने भएको छ । गत वर्ष पुसमा एमाले र माओवादीसहितको गठबन्धनमा सामेल भएर सरकारमा सहभागी भएको राप्रपा अहिले भने सहभागी नहुने भएको हो ।
राप्रपा प्रवक्ता मोहन श्रेष्ठले अहिले आन्दोलनका कार्यक्रम घोषणा गरिसकेकोले सरकारमा जाने र गठबन्धनमा सामेल हुने संभावना नरहेको बताए । 'पटक पटक हुने सत्ता फेरबदलले कुनै समाधान दिँदैन ।
त्यसैले हामी नयाँ सहमतिबाट नै मुलुकलाई अघि बढाउने भन्दै आएका छौं त्यसैले अहिलेको फेरबदलमा हाम्रो सरोकार छैन' उनले भने । एमाले र माओवादीको बैठकमा पनि राप्रपाले लिएका एजेण्डा ठिक नभएकाले सरकारमा सामेल गराउने नहुनेबारे कुराकानी भएको थियो ।
