गठबन्धनमा समस्या आएपछि परराष्ट्रमन्त्री साउदको फिनल्यान्ड भ्रमण स्थगित

परराष्ट्रमन्त्री साउद ‘सेकेन्ड यूएन एलडीसी फ्युचर फोरम’ मा सहभागी हुन आइतबार राति फिनल्यान्ड जाने तयारीमा थिए ।

फाल्गुन २०, २०८०

जगदीश्वर पाण्डे

Foreign Minister Saud's visit to Finland was postponed due to problems in the alliance

काठमाडौँ — प्रधानमन्त्री पुष्पकमल दाहालले मन्त्रिपरिषद् पुनर्गठन गर्ने चर्चा चलिरहँदा परराष्ट्रमन्त्री एनपी साउदको फिनल्यान्ड भ्रमण स्थगित भएको छ । मन्त्री साउद आइतबार राति ‘सेकेन्ड यूएन एलडीसी फ्युचर फोरम’ मा सहभागी हुन फिनल्यान्ड जाने कार्यक्रम थियो । उक्त कार्यक्रम मंगलबार र बुधबार फिनल्यान्डको राजधानी हेल्सिन्कीमा हुँदैछ । मन्त्रिपरिषद्का सदस्य परिवर्तन गर्ने विषयलाई लिएर सत्तारुढ गठबन्धनमा समस्या भएपछि मन्त्री साउदको भ्रमण स्थगित भएको स्रोतले बतायो ।

मन्त्री साउदले उक्त फोरममा ग्लोबल कोअडिनेसन ब्यूरो अफ द लिस्ट डेभलप कन्ट्रिज (अतिकम विकसित मुलुक–एलडीसी) को अध्यक्षको हैसियतमा उद्घाटन सत्रमा सम्बोधन गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको थियो । ‘तर सत्तागठबन्धनमा समस्या आएपछि मन्त्रीज्यूले अहिले फिनल्यान्ड भ्रमण स्थगित गर्नु भएको छ,’ परराष्ट्र स्रोतले भन्यो ।

परराष्ट्रमन्त्री साउदले आइतबार बसेको प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय तथा पर्यटन समितिको बैठकमा आफू आजै फिनल्यान्ड जाने कार्यक्रम रहेको बताएका थिए । उनले संसदीय समितिले छोटो समयमै बोलाउँदा पनि विदेश भ्रमण तयारी छोडेर आएको बताएका थिए । उनले आफू चार दिने भ्रमणमा फिनल्यान्ड जान लागेको जानकारी दिएका थिए । 

साउदले फिनल्यान्डमा ‘नवीनता र संरचनात्मक रूपान्तरणलाई गति दिने रणनीति’ नामक मन्त्रीस्तरीय संवादमा पनि भाग लिने कार्यक्रम थियो । अल्पविकसित देशहरू, भूपरिवेष्ठित विकासशील देशहरू र साना टापु विकासशील राज्यहरू र फिनल्याण्ड सरकारका लागि संयुक्त राष्ट्रसंघीय उच्च प्रतिनिधिको कार्यालयले ‘एलडीसीमा संरचनात्मक रूपान्तरणका लागि नवप्रवर्तन’ नाराका साथ यो फोरम आयोजना गर्न लागेको हो । साउदले फिनल्यान्डका विदेशमन्त्रीलाई पनि भेट्ने कार्यक्रम रहेको थियो । 

सत्ता गठबन्धन हेरफेर

जगदीश्वर एक दशकभन्दा लामाे समयदेखि पत्रकारितामा क्रियाशिल पाण्डे परराष्ट्र, सुरक्षा र राजनीतिसम्बन्धी समाचार लेखनमा सक्रिय छन् ।

Link copied successfully