बालकुमारी घटनाको छानबिनका लागि न्यायिक समिति गठन गर्न कांग्रेसको माग

पुस १५, २०८०

कान्तिपुर संवाददाता

काठमाडौँ — कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले ललितपुरको बालकुमारीमा शुक्रबार भएको घटनाको छानबिन गर्नका लागि न्यायिक समिति गठन गर्नुपर्ने निर्णयसहित सरकारसँग माग गरेको छ । 

कांग्रेसका प्रचार विभाग प्रमुख मीनबहादुर विश्वकर्माले आइतबार केन्द्रीय कार्यसमिति बैठकका निर्णय सार्वजनिक गर्ने क्रममा ललितपुरको बालकुमारी घटनाको छानबिन गर्नका लागि न्यायिक समिति गठन गर्नुपर्ने निर्णय भएको जानकारी दिए । 

गृह मन्त्रालयले उपत्यका प्रहरी कार्यालयका प्रहरी नायब महानिरीक्षक लालमणि आचार्यको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरेको थियो । समिति सदस्यमा जिल्ला प्रशासन कार्यालय, ललितपुरका सहायक प्रमुख जिल्ला अधिकारी अमरदीप सुनुवार र राष्ट्रिय अनुसन्धान विभागका उप-अनुसन्धान निर्देशक वासु सिग्देल राखिएका छन् । उक्त समितिले छानबिन गरिरहेको अवस्थामा सरकारमा सहभागी कांग्रेसले न्यायिक समिति गठन गर्नुपर्ने माग गरेको हो ।

विश्वकर्माले उच्चस्तरीय न्यायिक समिति गठन गरेर उक्त घटनाको छानबिन हुनुपर्ने माग गर्ने निर्णय केन्द्रीय कार्यसमितिको बैठकले गरेको जानकारी दिए । 

पानीजहाजसम्बन्धी कामका लागि गत साउनमा लिइएको भाषा परीक्षामा सामेललाई पछिल्लो पटक माग गरिएको ‘उत्पादनमूलक’ क्षेत्रमा खुला गरिएको आवेदनबाट वञ्चित गराइएपछि ग्वार्को–बालकुमारी सडक अवरुद्ध पारेर प्रदर्शनमा उत्रिएकामाथि प्रहरीले बल प्रयोग गर्दा शुक्रबार दैलेखका सुजन रावत र अछामका वीरेन्द्र शाहको मृत्यु भएको थियो । कांग्रेसले मृतकका परिवारलाई राहत तथा क्षतिपूर्ति र रोजगारीको सुनिश्चितता गर्नुपर्ने माग पनि गरेको छ । 

बालकुमारी घटना

कान्तिपुर

Link copied successfully