पीडित परिवार बारीका पाटामा खुला आकाशमुनि अलपत्र परेपछि खेतीकिसानी र विदेश जानबाटै रोकिए गाउँले
जाजरकोट — भूकम्पमा दुईवटा घर भत्किएपछि आठ जनाको परिवारसहित नलगाड नगरपालिका–४ च्युरीदाराका ४५ वर्षीय भक्तबहादुर विक त्रिपालमुनि बस्दै आएका छन् । ६ रोपनी जग्गा भए पनि त्यहाँको उब्जनीले ३ महिना पनि खान नपुग्ने भएपछि उनलाई मजदुरीका लागि बर्सेनि भारत जानुपर्ने बाध्यता छ ।
यस वर्ष पनि वैशाखमा भारत गएका उनी दसैं मनाउन फर्किएका थिए । ‘बचेखुचेको अन्नपात पनि भूकम्पले घर भत्किँदा सबै पुरियो, निकाल्न नै पाएका छैनौं,’ उनले भने, ‘न त नयाँ बाली नै लगाउन पाइएको छ, पालिकाले राहतमा दिएको एक बोरा चामल पनि सकिन लाग्यो, फेरि कसैले दिए खाइएला, नत्र के खाने ?’
भक्तबहादुरका छिमेकी बलबहादुर विकलाई पनि राहतमा पाएको खाद्यान्न सकिएपछि अब कसरी गाँसको जोहो गर्ने भन्ने चिन्ताले सताउन थालेको छ । उनी पनि यो वर्ष भारतमा ४ महिना मात्रै मजदुरी गरेर दसैं मान्न घर फर्किएका हुन् । उनी फेरि भारत जाने कि नजाने भन्ने दोधारमा छन् ।
‘अब अर्को बासस्थान बनाएर परिवार नराखेसम्म त कसरी ढुक्कले फर्कनू र ?,’ उनले भने । दुई घर भूकम्पले लडाएपछि बलबहादुरको ७ जनाको परिवार त्रिपालको ओत लागेर बसिरहेको छ । ‘विपत्ति पनि हामी गरिबलाई मात्र पर्दो रहेछ,’ उनले भने, ‘सधैं गाँसबासकै चिन्तामा हाम्रो जीवन जाने भयो ।’
च्युरीदारामा झन्डै ८० परिवार छन् । भिरालो जग्गा र सिँचाइ सुविधा नभएकाले गाउँका धेरै परिवारलाई उब्जनीले ३ महिना पनि खान नपुग्ने नलगाड–४ का वडाध्यक्ष बद्री पन्तले बताए । ‘एक त यो पहिल्यैदेखि विपन्न बस्ती हो, त्यसमाथि भूकम्पले तहसनहस नै भयो,’ उनले भने, ‘सग्ला घर कसैका छैनन्, शतप्रतिशत अनुदान नआए यहाँका बासिन्दा कसैले पनि घर बनाउन सक्दैनन् ।’
उनका अनुसार यहाँका सबैजसो परिवारका कम्तीमा २/३ जना युवा भारतमा मजदुरीका लागि जाने गरेका छन् । उनीहरू हरेक वर्ष वैशाखमा गएर चाडबाड मनाउन असोजमा घर फर्किन्छन् र कात्तिक–मंसिरमा दसैंतिहार मनाएर बाली लगाएपछि फेरि जान्छन् । तर, भूकम्पले घर भत्किएपछि भने उनीहरू यो वर्ष भारत जानबाट रोकिएका छन् ।
खान, बस्नकै ठेगान नभएपछि अहिले च्युरीदारामा गहुँबाली लगाउने सुरसार हुन सकेको छैन । भदौमा भित्र्याएको मकै पनि पुरिएपछि समस्या भएको स्थानीय भोजबहादुर विकले बताए । ‘हामीले दिएको एक/एक बोरा चामल पनि अब सकिन थाल्यो,’ उनले भने, ‘सबै पीडित खेती गर्ने बारीमा बसेका छन्, उनीहरूको घर निर्माण नहुँदासम्म नयाँ बाली लगाउनै समस्या छ ।’
भूकम्पमा बढी क्षति बेहोरेको भेरी नगरपालिका–१ रावत गाउँका पनि झन्डै डेढ सय परिवार बारीमा त्रिपाल हालेर बस्न बाध्य छन् । ‘सदरमुकामभित्रकै बस्ती भए पनि यो गाउँ विकास र आर्थिक रूपमा निकै पछाडि छ,’ रावत गाउँका बासिन्दासमेत रहेका भेरी नगर कार्यपालिका सदस्य डोटे नेपालीले भने, ‘तीन महिना पनि खान नपुग्ने बस्तीलाई भूकम्पले क्षतविक्षत बनायो, थप राहत नआए १ महिनाभित्रै सबै परिवारले खाद्यान्न अभावको सामना गर्नुपर्ने जोखिम छ ।’
उनका अनुसार यो गाउँमा भूकम्पमा परी १६ जनाले ज्यान गुमाएका छन् । भूकम्पका कारण स्थानीयको रोजगारीसमेत गुमेको उनको भनाइ छ । रावत गाउँका करिब ८० परिवार दलित र वादी समुदायको बसोबास छ । पुर्ख्यौली माछा मार्ने पेसा संकटमा परेपछि स्थानीयहरू रिम्नालगायत बजारमा गई मजदुरी गरी जीविकोपार्जन गर्न बाध्य छन् ।
भूकम्पपछि वरिपरिका बजारमा मजदुरी गर्नेहरू पनि त्रिपालबाट बाहिर निस्कन नसकेको ६० वर्षीया कमारा विकले बताए । उनी महिनामा ८/१० दिन भेरी नदीमा माछा मार्छन् भने अरू दिन रिम्ना, खलंगा, पूर्तिमकाँडालगायत बजारमा गई मजदुरी गर्छन् । उनका तीन छोरा परिवारसहित ३ वर्षदेखि भारतमा छन् ।
‘यहाँ त २ महिना खान पुग्ने परिवार धनी हुन्,’ उनले भने, ‘भएको रोजगारी पनि भूकम्पले गुम्यो, भएको सबै अन्नपात घरभित्रै पुरिएको छ, एक बोरा राहत सकिएपछि के खाने भन्ने चिन्ता गाउँभरि छ ।’ उनले ३ रोपनी बारीमा गहुँ लगाउन नपाएको गुनासो गरे । उनका अनुसार बारीको उत्पादनले एक महिना पनि राम्ररी खान पुग्दैन । रिम्ना बजार नजिकै भएकाले सडकले छोए पनि गाउँमा खानेपानी, सिँचाइ, शिक्षा, स्वास्थ्यलगायत सुविधा नभएको उनको गुनासो छ ।
भूकम्पमा १६ जनाको मृत्यु भएको नलगाड नगरपालिका–१ च्युरीटोलमा पनि अहिलेसम्म गहुँबाली लगाउने कुनै सुरसार छैन । चाड मनाउन भारतबाट फर्किएकाहरू अब जाने कि नजाने दोधारमा छन् । स्थानीय केदार महरले १ सय ८६ घर रहेको च्युरीटोलको पूरै बस्ती बारीमा त्रिपाल टाँगेर बसिरहेको बताए । उनका अनुसार झन्डै ५० परिवारले अझै पनि त्रिपालसमेत पाउन सकेका छैनन् । भारतको मुम्बईमा चौकीदारी गर्ने उनको ८ जनाको परिवार दसैं मनाउन गाउँ फर्किएको थियो । ‘यस्तो अवस्थामा बाआमालाई एक्लै छोडेर जान पनि सकिएन, यहाँ अरू रोजगारी पनि छैन, गहुँबाली लगाउने बारी पनि बाँझै भयो,’ उनले भने, ‘१/२ महिनासम्म त चामल पाइएला, त्यसपछि के खाने भन्ने चिन्ता भयो ।’
सिँचाइ असुविधा र भिरालो ठाउँ भएकाले च्युरीटोलमा खाद्यान्न उत्पादन न्यून हुने नलगाड–१ का वडाध्यक्ष धनबहादुर महरले बताए । उनका अनुसार वडाका झन्डै एक सय युवाहरू अहिले पनि रोजगारीका लागि भारततिरै छन् । ‘केही चाड मनाउनका लागि यता आएका थिए,’ उनले भने, ‘उनीहरू पनि भूकम्पमा परे ।’ उनका अनुसार अब विपन्न बस्तीमा ४/५ महिनापछि भोकमरी फैलिने जोखिम बढेको छ । ‘किसानले भित्र्याएको मकै घरमा पुरिएको छ,’ उनले भने, ‘सबै भूकम्पपीडित बारीमा बस्दा ३ महिनापछि खाद्यान्न अभावको समस्या झन् विकराल हुने निश्चित छ ।’
भेरी नगरपालिका प्रमुख चन्द्रप्रकाश घर्तीले भूकम्पपीडितलाई रोजगारीमा जोड्ने गरी कार्ययोजना निर्माणको काम भइरहेको बताए । ‘विशेषगरी भारतमा मजदुरीका लागि जानेको सन्दर्भमा के गर्न सकिन्छ भन्नेबारे आवश्यक योजना बनाउन लागिएको छ,’ उनले भने, ‘अब पीडितहरूको घर निर्माणपछि उनीहरूलाई यही रोजगारीमा जोड्न सकिए गरिबी पनि घट्ने देखिन्छ ।’
नलगाड नगरपालिका प्रमुख डम्बरबहादुर रावतले भूकम्पपीडितका लागि पुनःस्थापनासँगसँगै रोजगारी दिने गरी कार्यक्रम सञ्चालन गर्न आवश्यक गृहकार्य भइरहेको बताए । राष्ट्रिय जनगणना–२०७८ अनुसार १ लाख ८९ हजार ३ सय ६० जनसंख्या रहेको जाजरकोटका झन्डै ६७ हजार युवा रोजगारीका लागि भारतलगायत देशमा जाने गरेका छन् ।
