हालसम्म चिसोका कारण ज्यान गुमाउने भूकम्पपीडितको संख्या १० पुग्यो
सुर्खेत — भूकम्पका कारण घरबास गुमाएका जाजरकोटका थप दुई भूकम्पपीडितको बुधबार ज्यान गएको छ । कुशे गाउँपालिका–९ मोताई गाउँका ५३ वर्षीय रामसिलम गिरी र नलगाड नगरपालिका–४ की २८ वर्षीया धनकुमारी खत्रीको मृत्यु भएको हो । योसँगै अत्यधिक चिसोका कारण ज्यान गुमाउने भूकम्पपीडितको संख्या १० पुगेको छ ।
एकसरो त्रिपाल र लत्ताकपडाको भरमा कष्टकर जीवनयापन गर्दै आएका भूकम्पपीडितले धमाधम ज्यान गुमाउन थालेका हुन् । यसअघि भेरी नगरपालिका, बारेकोट गाउँपालिका र नलगाड नगरपालिकामा २/२ तथा छेडागाड र जुनेचाँदेमा १/१ जनाको ज्यान गइसकेको छ । बुधबार ज्यान गुमाएका गिरी दमका रोगी थिए ।
‘भूकम्पले उनको घर पूर्ण रूपमा भत्किएको छ, घरको सामान पनि निकाल्न पाएका छैनन् । एकसरो त्रिपालको भरमा दीर्घरोगीले चिसो खप्न सकेनन्,’ कुशे–९ का वडाध्यक्ष शिवराज गिरीले भने, ‘चिसोका कारण सबैजसो पालमा कोही न कोही बिरामी छन्, दीर्घरोगी र ज्येष्ठ नागरिकलाई बचाउनै मुस्किल भइसक्यो ।’ उनका अनुसार मृतक गिरी ७ जनाको परिवारसहित त्रिपालमा बस्दै आएका थिए । उनका अनुसार मोताई हिमपात हुने गाउँ हो । अहिले बिहान सबैतिर बाक्लो तुसारो पर्ने गरेको उनले जानकारी दिए ।
त्यस्तै नलगाडमा मृत्यु भएकी खत्री मुटु र बाथरोगकी बिरामी थिइन् । नलगाड–४ का वडाध्यक्ष बद्री पन्तका अनुसार धनकुमारी बारेकोट–८ अँधेरीखोलामा माइतीघरमा श्रीमान् विष्णु खत्रीसँगै कुखुरापालन व्यवसाय गर्दै आएकी थिइन् । खत्री दम्पतीको नलगाड–४ स्थित पीपलचौरमा रहेको घर भत्किएपछि गत कात्तिक २५ मा आएका थिए । ‘भत्किएको घर नजिकै कैनाखोला किनारमा खत्री दम्पती ८ र ४ वर्षका छोरासहित बस्दै आएका थिए, पूरै परिवारका लागि दिएको एउटा त्रिपालले यस्तो कठ्यांग्रिँदो मौसम कसरी खप्नू ?,’ उनले भने, ‘भूकम्पका कारण औषधि पनि छुटेको रहेछ, त्यसैमा चिसो सहन नसक्दा बुधबार बिहान ज्यान गएछ ।’
नलगाड नगर अस्पतालका डा. विशाल उप्रेतीले चिसोका कारण झाडापखाला, ज्वरो, रुघा, मुटुरोगी, दमका बिरामी बढिरहेको बताए । उनका अनुसार अस्पतालमा दैनिक १ सयदेखि १ सय ५० जनासम्म बिरामी उपचारका लागि आइरहेका छन् । नलगाड भूकम्पले सबैभन्दा बढी क्षति पुर्याएको पालिका हो ।
चिसोका कारण अधिकांश भूकम्पपीडितमा विभिन्न स्वास्थ्य समस्या देखिरहेको नलगाडका नगरप्रमुख डम्बरबहादुर रावतले बताए । ‘अहिलेसम्म एउटा परिवारका लागि एउटा त्रिपाल र कम्बल मात्र दिन सकेका छौं, त्यसले रातभरि चुहिने शीत र सिरेठो छल्न नसक्दा स्वास्थ्य समस्या बढिरहेको छ,’ उनले भने, ‘सबैजसो बस्तीमा कम्तीमा १५/२० जना बिरामी छन्, नगर अस्पतालमा पनि बिरामीको चाप उच्च छ ।’
जिल्ला अस्पतालमा पनि चिसोबाट बिरामी हुनेको संख्या बढिरहेको अस्पतालकी प्रमुख डा. प्रतीक्षा भारतीले बताइन् । उनका अनुसार दैनिक १ सय जनासम्म चिसोका बिरामी उपचारका लागि आउने गरेका छन् । अस्पतालमा तीन बालबालिकासहित १५ बिरामीको इमर्जेन्सीमा उपचार भइरहेको छ भने सामान्य अवस्थाका बिरामीलाई औषधि दिएर पठाइने गरिएको छ ।
