४२ विद्यार्थी जो अब हाजिर हुने छैनन्

 जाजरकोटका ४२३ विद्यालयमध्ये ३४१ क्षतिग्रस्त, रुकुम पश्चिममा ४८ वटा पूर्ण र २८ विद्यालयमा आंशिक क्षति

मंसिर ७, २०८०

महेश केसी

रुकुम पश्चिम — दसैंदेखि बिदा भएको झन्डै एक महिनापछि आठबिसकोट नगरपालिका–१४, ज्यामिरकोटस्थित जनविकास माध्यमिक विद्यालयमा गत सोमबार बिहान घण्टी बज्यो, विद्यार्थी चौरमा पंक्तिबद्ध भए । लामो अन्तरालमा भेटिँदा पनि सहपाठी र शिक्षकबीच कुनै उत्साह देखिँदैनथ्यो, बरु निराशा र शोकले सन्नाटा छाएको छ ।

गत कात्तिक १७ मध्यरातमा जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाई गएको ६.४ म्याग्निच्युडको भूकम्पमा परी यस विद्यालयका ३ जना विद्यार्थीले ज्यान गुमाएका हुन् । भूकम्प गएको १७ औं दिनमा विद्यालय पुग्दा कक्षाकोठा पनि सग्ला थिएनन् ।

‘भाइबहिनीहरू ! बिदाकै बीचमा ठूलो भूकम्प गयो, हाम्रा घरदेखि स्कुलसम्म भत्किए । यसैमा परेर हामीले ३ जना साथी पनि गुमायौं’ जनविकासका प्रधानाध्यापक दीपक संगम थापाले सम्बोधन गरिरहँदा प्रार्थनाका लागि पंक्तिबद्ध विद्यार्थीदेखि शिक्षकसम्म भावुक देखिन्थे । जब भूकम्पमा परी ज्यान गुमाउनेप्रति एक मिनेटको मौनधारणको समय आयो, अधिकांश हिक्कहिक्क गर्दै रुन थाले । प्रअ थापाले विद्यालयका कक्षा ८ का रोल नं. ६ का विराज मल्ल र रोल नं. ८ की प्रेमा मल्ल तथा कक्षा ५ की चन्द्रकला मल्लको भूकम्पमा परी घरमा पुरिएर ज्यान गएको जानकारी दिँदै भने, ‘हाम्रो विद्यालय परिवार प्रायः ले केही न केही क्षति बेहोर्नुपरेको छ । हामी धेरैको बास त्रिपालमै छ । यता स्कुल पनि भत्किएको छ ।’ 

यस विद्यालयका ७ भवनमध्ये २ वटामा पूर्ण क्षति पुगेको छ । ३ सय १५ विद्यार्थीमध्ये पहिलो दिन मुस्किलले ८० जना विद्यार्थी मात्रै उपस्थित थिए । घरदेखि विद्यालयसम्मै क्षतिको दृश्य देखेका विद्यार्थीमा अझै त्रास छ । रुकुम पश्चिमको भेरी दोभान मावि रिम्नाकी छात्रा सृष्टि परियारले पहिलो दिन स्कुल आउँदा डर लागेको सुनाइन् । भनिन्, ‘हामी बस्ने कक्षाकोठा भत्किएको देख्दा र साथीभाइको मृत्युले झन् डर लागिरहेको छ ।’ भग्नावशेष भएको विद्यालयमा छोराछोरी पठाउन आफूहरू पनि डराइरहेको आदर्श मावि आठबिसकोट–१४ का अभिभावक सुवास मल्लले बताए । ‘धेरै स्कुलका भवन भत्किएका छन् । भएका पनि चिराचिरा परेका छन्,’ उनले भने, ‘बच्चाबच्ची यस्तो भवनमा बसेर कसरी पढ्लान् भनेर पीर छ । के गर्ने, के नगर्ने अलमलमा छौं ।’

भूकम्पमा परी ३ जना विद्यार्थीको मृत्यु भएपछि प्रार्थना समयमा मौनधारण गर्दै रुकुम पश्चिमको जनविकास माविआठबिसकोट–१४ ज्यामिरकोटका शिक्षक तथा विद्यार्थी । तस्बिर : महेश केसी/कान्तिपुर

सोमबारदेखि विद्यालय खुले पनि पठनपाठन के–कसरी सुरु गर्ने भन्नेमा आदर्श मावि आठविसकोट–१४ बाँके पिपलगैराका प्रधानाध्यापक तिलकनारायण मल्ललाई पनि अलमल नै छ । ‘हाम्रो विद्यालयका जम्मा ८ वटा भवनमध्ये ५ वटामा पूर्ण रूपमा क्षति पुगेको छ,’ उनले थपे, ‘विद्यार्थी राखेर पढाउने ठाउँसमेत छैन । विद्यालय त खोल्यौं तर, अब कसरी पढाउने भन्ने केही मेसो आएको छैन ।’ सबैलाई खुला चौरमा राखेर सान्त्वना दिने काम मात्रै भएको उनले बताए । भेरी दोभान मावि जाजरकोटका प्रधानाध्यापक प्रेमबहादुर पुनले पनि विद्यार्थीलाई कहाँ राख्ने भन्ने समस्या भइरहेको बताए । 

‘हाम्रा सबै ५ वटै भवनमा क्षति पुगेको छ,’ उनले भने, ‘सोमबार पहिलो दिन विद्यार्थी आए । उनीहरूले ‘रातभरि त्रिपालमुनि सुतेर स्कुलमा आएर पनि खुला आकाशमुनि नै कसरी बस्ने ?’ भन्दै प्रश्न गरे । हामी नाजवाफ भयौं ।’आठबिसकोट नगरपालिकाका शिक्षा शाखा प्रमुख इन्द्रबहादुर विष्टले सोमबारदेखि पठनपाठन सुरु गर्न सबै विद्यालयलाई निर्देशन गरिएको बताए । क्षति भएका विद्यालयमा तत्काल अस्थायी सिकाइ केन्द्र बनाउन सुरु गरिएको उनको भनाइ छ ।

‘विद्यालयहरूमा क्षतिको तथ्यांक संकलन गरी आवश्यकताको पहिचानसमेत गरिएको छ । अब अस्थायी सिकाइ केन्द्र बनाउने गरी अघि बढ्ने योजना छ,’ उनले भने, ‘अहिलेसम्म पाँच वटा विद्यालयमा अस्थायी सिकाइ केन्द्र बनाइसकिएको छ । यो क्रम जारी छ ।’ सिकाइ केन्द्र बनाउन आवश्यक पर्ने सामग्रीका लागि दाताहरूलाई अनुरोध गरिएको पनि उनले बताए ।

दशैं–तिहार बिदापछ सोमबार पहिलो दिन विद्यालयतर्फ आउँदै गरेका रुकुम पश्चिमको जनविकास मावि आठबिसकोट–१४ ज्यामिरकोटका विद्यार्थी ।  तस्बिर : महेश केसी/कान्तिपुर

रुकुम पश्चिमभर गरी १८ विद्यार्थी र १ विद्यालय कर्मचारीको समेत ज्यान गएको छ भने ४८ वटा विद्यालय पूर्ण क्षतिग्रस्त भएका छन् । २८ वटा विद्यालयमा आंशिक क्षति पुगेको यहाँको सामाजिक विकास कार्यालयको तथ्यांक छ । जसका कारण १ सय ९३ वटा कक्षाकोठामा पूर्ण क्षति पुगेको छ । त्यसैगरी, जाजरकोटका ४ सय २३ विद्यालयमध्ये ३ सय ४१ विद्यालय पनि क्षतिग्रस्त भएकोमा २ सय ८९ वटा पूर्ण क्षति र ५ सय ९८ वटामा आंशिक क्षति पुगेको सामाजिक विकास कार्यालय जाजरकोटका प्रमुख यज्ञेश्वर खत्रीले जानकारी दिए । साथै, १५ सय ९९ कक्षाकोठा भूकम्पका कारण क्षतिग्रस्त भएको पनि सामाजिक विकास कार्यलय जाजरकोटको तथ्यांक छ । 

विद्यालयको भवन भत्किएपछि जनविकास मावि आठबिसकोट–१४ ज्यामिरकोटको प्रागंणमा बनाइएको अस्थायी सिकाइ केन्द्र ।  तस्बिर : महेश केसी/कान्तिपुर

भूकम्पमा परी जाजरकोटका २४ जना विद्यार्थी र १ जना शिक्षकको समेत ज्यान गएको प्रमुख खत्रीको भनाइ छ । त्यस्तै रुकुम पश्चिममा ४८ वटा विद्यालयमा पूर्ण क्षति र २८ वटा विद्यालयमा आंशिक क्षति पुगेको यहाँको सामाजिक विकास कार्यालयको तथ्यांक छ । जसका कारण १ सय ९३ वटा कक्षाकोठामा पूर्ण क्षति पुगेको छ । साथै भूकम्पमा परी १८ जना विद्यार्थीले ज्यान गुमाएका छन् भने १ जना विद्यालय कर्मचारीको समेत मृत्यु भएको बताइएको छ । 

भूकम्पका कारण विद्यालयमा भएको भौतिक क्षति र शिक्षक–विद्यार्थीमा देखिन सक्ने मानसिक समस्यालाई हल गर्न सरकारले ठोस योजना बनाएर अघि बढ्नुपर्ने आदर्श माविका व्यवस्थापन समिति अध्यक्ष हुकुमबहादुर पुनको धारणा छ । वडाध्यक्षसमेत रहेका पुनले स्थानीय सरकारका तर्फबाट आफूहरूले सकेको पहल गरिरहेको भए पनि विद्यालयको अवस्थालाई सामान्यीकरण गर्न तीनै तहका सरकार र शिक्षा क्षेत्रमा काम गरिरहेका निकायको भूमिका ठूलो हुने बताए । ‘विद्यालयमा ठूलो क्षति भएको छ,’ उनले भने, ‘यसको परिपूरण र समाधान गर्दै अवस्थालाई सामान्यीकरण गर्न सबैको हातेमालो जरुरी छ ।’

जाजरकोट भुकम्प

महेश केसी कान्तिपुरका रुकुम संवाददाता हुन् ।

Link copied successfully