चिसोले भूकम्पपीडित शिशुको मृत्यु

मंसिर ६, २०८०

कृष्णप्रसाद गौतम

सुर्खेत — अत्यधिक चिसोका कारण जाजरकोटको भेरी नगरपालिका–२ मा एक शिशुको मृत्यु भएको छ । जिल्ला अस्पतालका अनुसार भेरी नगरपालिका–२ पुरानोरिसाङका हुकुमबहादुर पुनकी एक महिनाकी छोरी निरुताको चिसोका कारण निमोनिया हुँदा मृत्यु भएको हो ।

भूकम्पले घर भत्किएपछि उनीहरूको ८ जनाको परिवार त्रिपालमा बस्दै आएको भेरी–२ का वडाध्यक्ष भीमबहादुर कार्कीले बताए । यो घटनासँगै चिसोका कारण मृत्यु हुने भूकम्पपीडितको संख्या ८ पुगेको छ । 

कार्कीका छिमेकी एवं विष्णु आधारभूत विद्यालय नेटाका शिक्षक लोकेन्द्रबहादुर पुनका अनुसार मृतक शिशु हुकुमबहादुरकी दोस्रो सन्तान हुन् । ‘३ दिनअघि नै शिशु बिरामी भएकी थिइन्, परिवारको आर्थिक अवस्था कमजोर भएका कारण अस्पताल लग्न मानेका थिएनन्, हामी छरछिमेकीबाट सरसापट लिएर बालिकालाई उपचारका लागि जिल्ला अस्पताल लगिएको थियो,’ उनले भने, ‘तर, जिल्लामा उपचार सम्भव नभएपछि बालिकाको ज्यान गयो ।’ 

निमोनियाले ग्रस्त शिशुलाई ढिलो गरी अस्पताल पुर्‍याइएको जिल्ला अस्पताल प्रमुख डा. प्रतीक्षा भारतीले बताइन् । ‘आमाको दूध पनि राम्ररी नचुस्ने, दिसापिसाब पनि हुन सकेको रहेनछ,’ उनले भनिन्, ‘पेट फुलेको थियो, श्वासप्रश्वासमा पनि समस्या आएपछि हामीले सुर्खेत वा नेपालगन्ज लिएर उपचार गर्न रेफर गरेका थियौं, सुरुमा पैसाको अभाव देखाउँदै अभिभावकले बाहिर लैजान मानेका थिएनन्, पछि हामीले धेरै कर गरेपछि एम्बुलेन्समा सुर्खेत लैजाँदै गर्दा बोहरागाउँ नजिकै बाटैमा ज्यान गएछ ।’ उनले अस्पतालमा भेन्टिलेटर र विशेषज्ञ चिकित्सक नहुँदा पनि बालिकाको उपचार सम्भव नभएको बताइन् ।

अस्पतालमा ६ जना मेडिकल अधिकृत कार्यरत भए पनि एक जना पनि विशेषज्ञ छैनन् । उनका अनुसार दैनिक १ सय जनासम्म चिसोका बिरामी उपचारका लागि जिल्ला अस्पताल आउने गरेका छन् । अस्पतालमा ३ बालबालिकासहित १५ बिरामीको इमरजेन्सीमा उपचार भइरहेको छ भने सामान्य अवस्थाका बिरामीलाई औषधि दिएर पठाइने गरिएको अस्पतालले जनाएको छ । 

छेडागाडस्थित आधारभूत अस्पतालका डा. प्रिय शाहीले चिसोका कारण दैनिक ५० देखि १ सय बिरामीको उपचार गर्ने गरेको बताए । उनका अनुसार अस्पताल आउनेमा झन्डै ६० प्रतिशत बालबालिका छन् । उनीहरू झाडापखाला, निमोनिया, ज्वरो, रुघाखोकीलगायत समस्याबाट पीडित छन् ।

भूकम्पले सबैभन्दा क्षति पुर्‍याएको नलगाड नगरपालिकामा पनि दैनिक १ सय ५० जनासम्म बिरामी उपचारका लागि आउने गरेको नलगाड आधारभूत अस्पतालका डा. विशाल उप्रेतीले बताए । ‘बिरामीको चाप अत्यधिक बढेपछि बिहानदेखि रातिसम्म बिरामीको उपचार गर्नुपरेको छ,’ उनले भने, ‘औषधिको मौज्दात पनि सकिँदै गएको छ, पर्याप्त उपकरण र बेड अभावमा उपचारमा पनि समस्या भइरहेको छ ।’ 

भूकम्पमा परी जाजरकोट र रुकुम पश्चिममा १ सय ५६ जनाको मृत्यु भएको थियो । भूकम्पबाट २६ हजार ५ सय ५७ घर पूर्ण तथा ३५ हजार ४ सय ५५ घरमा आंशिक क्षति भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

जाजरकोट भुकम्प

कृष्णप्रसाद गौतम कान्तिपुरका सुर्खेत संवाददाता हुन् ।

Link copied successfully