(जाजरकोट) — जाजरकोट केन्द्रबिन्दु भएर भूकम्प जाँदा ९ जनाको परिवारसहित आफ्नै घरको माथिल्लो तलामा सुतिरहेका थिए, नलगाड–१ का वडाध्यक्ष ३४ वर्षीय धनबहादुर महर । ‘एक्कासि बेस्सरी घर थर्कियो, म सुतेको तलै खस्यो,’ उनले भने, ‘हत्तपत्त हाम फालेर बाँच्न सफल भइयो ।’ उनका परिवारका सबै सदस्य पुरिएका थिए । उनले सबैलाई निकाले ।
भूकम्पमा परी १४ वर्षीया छोरी बिमाको टाउकामा गहिरो चोट लागेको छ । घरवरिपरिका सबैजसो घर धमाधम ढल्न थालेपछि उनी घाइते छोरीलाई अस्पताल लैजानु भन्दै छिमेकीको उद्धारमा जुटे । ‘म एक्लैले मात्रै १० जना मृतकलाई र ५० जनाभन्दा बढी घाइतेलाई पुरिएको घरबाट निकाले हुँला,’ उनले भने, ‘त्यसयता नियमित उद्धार र राहतको काममै छु ।’
त्यस रात जुन लुगामा थिए, अहिले पनि त्यही लुगामै रहेको उनले सुनाए । ‘मुख धुनसमेत पाएको छैन,’ उनले भने, ‘खाना जहाँ पाइन्छ त्यहीं खान्छु । रात जहाँ पर्छ, त्यहीं सुत्छु ।’ उनकी छोरी बिमाको प्राथमिक स्वास्थ्य केन्द्र दल्लीमा उपचारपछि ४ वटा टाँका लगाइएको छ ।
भूकम्पको केन्द्रबिन्दु बारेकोट गाउँपालिका–१ का वडाध्यक्ष ऐनबहादुर गिरी भूकम्प गएको दिन रामीडाँडास्थित ५ जनाको परिवारसहित आफ्नै घरमा सुतिरहेका थिए । ‘एक्कासि घर थर्कियो, धन्न उठेर ज्यान बचाउन सफल भयौं,’ उनले भने, ‘उठेर बाहिर हेर्दा त जताततै घर ढलिरहेका, त्यो रातदेखि झन्डै ३६ घण्टा त सुत्नै पाइएन ।’ अहिले पनि उनको परिवार बारीमै बसिरहेको छ । भूकम्पले रामीडाँडा र सिल्पाचौरका झन्डै डेढ सय घर पूर्ण रूपमा चर्किएका छन् । भूकम्प गएदेखि नै न खानाको टुंगो छ, न सुत्ने । ‘अहिले पनि फिल्डमै छु,’ उनले भने, ‘जनताकै राहत र उद्धारको काममा खटिएको छु ।’
शुक्रबार मध्यरातको भूकम्पमा जाजरकोटमा मात्रै करिब ९ हजार घर पूर्ण रूपमा भत्किए भने झन्डै २४ हजार घर बस्नै नमिल्ने गरी चर्किएका छन् । यसमा सबैभन्दा धेरै सक्रियता देखाइरहेका छन् स्थानीय जनप्रतिनिधिले । भूकम्पमा परी नलगाड नगरपालिकाकी उपप्रमुख सरिता सिंहको मृत्युसमेत भयो भने अधिकांश जनप्रतिनिधि घरबारविहीन भए पनि पीडितसँगै छन् ।
‘एकाएक आइलागेको विपत्तिमा मानवीय खोजी र उद्धार निकै कठिन थियो तर हामी निरन्तर खटिएका कारण उज्यालो हुँदासम्म सबै घाइते र मृतकलाई बाहिर निकाल्न सकियो,’ नलगाड–१ का वडाध्यक्ष महरले भने, ‘सबै परिवारलाई पहिलो चरणको राहत नदिँदासम्म म घर जान्नँ, सायद यसपालि तिहार पनि मनाउन्नँ ।’
उनको वडामा भूकम्पमा परी २७ जनाको ज्यान गएको छ भने १९ जना घाइते छन् । वडाभरि ८ सय ५० घर पूर्ण रूपमा क्षति भएकामा अझै पनि १ सय ६७ परिवारले एकसरो पाल, कम्बल र चामलसमेत पाउन सकेका छैनन् । अरू परिवारलाई प्रतिपरिवार १ थान पाल, १ थान कम्बल, १ बोरा चामल र ५ किलो दाल वितरण गरिएको उनले जानकारी दिए । भूकम्पमा जनप्रतिनिधिले निर्वाह गरेको भूमिकाले गाउँमा सिंहदरबार पुगेको अनुभूति भएको भेरी–१ रावगाउँका भीमसेन विकले बताए ।
‘जनप्रतिनिधि नहुँदा हुन् त अधिकांश घाइतेको ज्यान जान्थ्यो,’ उनले भने, ‘संकटका बेला नजिकको सरकारकै भर हुने रहेछ ।’ रावतगाउँका डन्डबहादुर नेपालीले जनप्रतिनिधिको सहानुभूति र सक्रियताले विपद्को घाउ मेट्न सहयोग पुगेको बताए । दुई घर भत्किएका उनको ५ जनाको परिवार अहिले एकसरो पाल र कम्बलको भरमा चौरमा बसिरहेको छ ।
भूकम्प गएदेखि वडाका झन्डै १ सय ५० घरमा राहतको काममै छन्, भेरी नगरपालिका–४ का वडाध्यक्ष वसन्तप्रसाद शर्मा पनि । ‘भूकम्पमा मैले त जसोतसो ज्यान जोगाएँ, गाउँभर कोलाहल थियो, घरहरू गर्ल्याम्गर्लुम ढलिरहेका थिए,’ उनले भने, ‘पुरिएका घरबाट गुहार मागिरहेका घाइतेलाई निकालियो ।’
उनका अनुसार ३ घण्टामा सबै घाइतेलाई उद्धार गरिसकिएको थियो । त्यसपछि पालिकासँग समन्वय गर्दै राहतको काममा जुटेको उनले बताए । सुरक्षा निकाय र स्थानीयको निरन्तरको खटाइले उद्धार र राहतको पहिलो चरणको काम सकिएको उनको भनाइ छ । ‘अब राहतको चरणमा पनि स्थानीय सरकारले यसरी नै समन्वय गरेर भूकम्प प्रभावितलाई पुनःस्थापित गर्नेछ,’ उनले भने, ‘पुनःस्थापनाको काम नसकिँदासम्म पीडितसँगै हुनेछु ।’
बारेकोटका अध्यक्ष वीरबहादुर गिरीको ६ जनाको परिवार पनि त्रिपालमै छ । भूकम्पको केन्द्रबिन्दुसमेत रहेको बारेकोटमा झन्डै ४३ सय स्थानीय घरबाहिरै छन् । अहिलेसम्म २७ सय परिवारलाई राहत दिइएको र आफू भूकम्प गएदेखि नै पीडितसँगै रहेको उनले बताए ।
‘म सुतिरहेको विपरीत दिशाबाट भित्ता भत्कियो, नत्र ज्यान बाँच्ने रहेनछ, भूकम्प जाँदा टेलिफोन थिएन, बिहान हुँदासम्म एक्लै ९ वटै वडामा मोटरसाइकलमा घुमें,’ उनले भने, ‘त्यो रात मैले मात्रै झन्डै ३० घाइतेको उद्धार गरें, भत्किएका घरबाट सामान निकाल्ने काम पनि सकिएको छ, राहतको काममा सबै जनप्रतिनिधि निरन्तर खटिएका छौं ।’ भेरी नगरप्रमुख चन्द्रप्रकाश घर्ती तीनवटै तहका सरकारको प्रभावकारी सहकार्यले उद्धार र राहत व्यवस्थापनको काम पनि प्रभावकारी भइरहेको बताए ।
जाजरकोटमा भूकम्पबाट प्रभावित भएका ३३ हजार परिवारमध्ये २० हजार परिवारका लागि राहत वितरण भएको प्रमुख जिल्ला अधिकारी सुरेश सुनारले बताए । उनका अनुसार भूकम्पमा परी जाजरकोटमा मात्रै १ सय १ जनाको मृत्यु भएको छ भने झन्डै ३ सय घाइते भएका छन् । पीडितको राहत र उद्धारमा ४ सय ५० जनप्रतिनिधि, ५ सय हाराहारीमा कर्मचारी र २ हजार सुरक्षाकर्मीलाई जिल्लाभरि परिचालन गरिएको उनले जानकारी दिए । ‘सबै संयन्त्र यही काममै परिचालित छ,’ उनले भने, ‘जतिसक्दो छिटो पहिलो चरणको राहतको काम सक्ने प्रयासमा छौं, त्यसपछि पुनःस्थापना र पुनर्निर्माणका काम सुरु हुनेछन् ।’
