सुन तस्करीका थुप्तिन खाग तस्करीमा पनि संलग्‍न

श्रावण २८, २०८०

मातृका दाहाल

काठमाडौँ — क्विन्टल सुन तस्करी प्रकरणमा पक्राउ परेका तिब्बती मूलका भारतीय नागरिक थुप्तिन छिरिङ गैंडाको खाग कारोबारमा पनि कैद सजाय भुक्तान गरेर छुटेका ‘वन्यजन्तु तस्कर’ रहेको पाइएको छ । सुन तस्करी प्रकरणमा हाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को नियन्त्रणमा रहेका थुप्तिन १३ वर्षअघि पक्राउ परेर ७ वर्ष कैद भुक्तान र १ लाख रुपैयाँ जरिवाना तिरेर छुटेका ‘खाग तस्कर’ रहेको खुलेको हो । उनलाई खाग तस्करीको अभियोगमा २०६७ पुस १८ मा पक्राउ परी बर्दिया राष्ट्रिय निकुञ्जले २०६९ भदौ २१ मा दोषी ठहर गर्दै १० वर्ष कैद र १ लाख रुपैयाँ जरिवाना गराएको थियो ।

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ को दफा १९ र २६ (१) को कसुरमा दोषी किटान गरी जाम सेनलाई १४ वर्ष र १ लाख जरिवाना तथा थुप्तिन र टासी नामडोललाई जनही १० वर्ष कैदर १ लाख जरिवाना हुने फैसलालाई २०७० वैशाख ३० मा पुनरावेदन (हाल उच्च) अदालत नेपालगञ्जले सदर गरेको थियो । त्यसपछि दोषी टासी र थुप्तिनले सर्वोच्चमा पुनरावेदन दिएका थिए । त्यसपछि २०७३ जेठ २३ मा सर्वोच्चले छलफलका लागि सरकारलाई बोलाएको थियो । त्यसको अर्को वर्ष २०७४ वैशाख १४ मा पुनरावेदन नपुग्ने जिकिर गर्दै केही दोषी ठहर गरिदिएको थियो ।

तत्कालीन पुनरावेदन (हाल उच्च) अदालत नेपालगञ्जले २०७० वैशाख ३० मा निकुञ्जको फैसला सदर गरिदिएको थियो । त्यसपछि थुप्तिन र अर्का एक अभियुक्त दुवै तहको फैसलाविरुद्ध सर्वोच्च पुगेका थिए । सर्वोच्चले पनि निकुञ्ज र पुनरावेदनको फैसलामा केही घटाएर दोषी थुप्तिनलाई २०७४ वैशाख १४ मा दोषी ठहर गरेको थियो ।

निकुञ्जको फैसलालाई पुनरावेदनले सदर गरेकोमा सर्वोच्चले भने १० वर्ष कैदलाई घटाएर ५ वर्ष कायम गरेको र जरिवानाको हकमा सुरुकै फैसला सदर गरिदिएको थियो । तोकिएको सजाय भुक्तान गरेर थुप्तिन सुन तस्करीमा लागेको अनुसन्धानबाट खुलेको हो ।

सर्वोच्चका न्यायाधीश ओमप्रकाश मिश्र र पुरुषोत्तम भण्डारीको इजलासले गरेको फैसलामा भनिएको छ, ‘राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन–२०२९ को कसुरमा १० वर्ष कैद र १ लाख रुपैयाँ जरिवाना हुने गरी सजाय गरेको सुरु बर्दिया राष्ट्रिय निकुञ्ज कार्यालयले गरेको फैसला सदर गर्ने पुनरावेदन अदालत नेपालगञ्जबाट भएको फैसला केही उल्टी निज पुनरावेदक प्रतिवादीहरु टासी नाम्डेल र थुप्तिन छिरिङलाई कसुरको मात्रा अनुसार जनही ५ वर्ष कैद र १ लाख जरिवाना हुने ठहर्छ ।’

पछिल्लो पटक असार २९ मा हङकङबाट क्याथे प्यासिफिकको जहाज हुँदै कार्गो गरी ल्याइएका सामानभित्र लुकाइएको क्विन्टल सुन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार पार गरेर सिनामंगल सडकमा पुगेको अवस्थामा साउन २ मा दुई जना पक्राउ परेका थिए । स्कुटरको ब्रेक सुको आवरणमा पास गराइएका सामान खोलेर हेर्दा करिब क्विन्टल सुन फेला परेको थियो । त्यसको अनुसन्धान गर्ने क्रममा थुप्तिन लाजिम्पाटको एक घरबाट पक्राउ परेका थिए । थुप्तिन सहितको गिरोहले दोलखाका दिलिप भुजेलका नाममा रेडी ट्रेड फर्म खोलेर सुन तस्करी गराएको पनि खुलेको छ ।

अनुसन्धानकै क्रममा थुप्तिनको विगत केलाउँदा उनी नेपालमा जडिबुटी व्यापारको आवरणमा एकसिंगे गैंडासहित दुर्लभ वन्यजन्तु तस्करीमा संलग्न रहेको फेला परेको हो । खाग तस्करीमा अरु चिनियाँ व्यक्ति पनि जोडिएका छन् । पछिल्लो सुन तस्करीमा पनि थुप्तिनसहित अरु चिनियाँ, भारतीय र बेल्जियन नागरिक सम्मका गिरोहको संलग्नता खुलेको छ ।

२०६७ पुस १८ मा बर्दिया राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्र भुरी गाउँ बसपार्कमा २ व्यक्ति गैंडाको खागबारे कुराकानी गरेको सूचनाका आधारमा अघि बढेको अनुसन्धानका क्रममा थुप्तिनसहित तीन पक्राउ परेका थिए । त्यसको भोलिपल्ट १९ गते बर्दियाको मगरागढीको औरी खोला पुल नजिकैबाट पक्राउ परेका आरोपितमाथि अनुसन्धान गर्दै जाँदा ९ सय ग्राम र ६ सय ग्रामका दुई वटा खाग बरामद भएको थिए । खाग जोग्ने तराजु र २० लाख रुपैयाँ पनि मराबद भएको थियो । त्यसको अनुसन्धान गर्दा तस्करीमा चिनियाँ, भारतीय र त्यसलाई सघाउने नेपालीको संलग्नता खुलेको थियो । थुप्तिन तस्करीको आफूलाई जडिबुटी व्यापारीका रुपमा चिनाउने गरेको पनि पाइएको छ ।

थुप्तिनले रेश्मा किराना पसल नाम उल्लेख गरेर नेपालगञ्जमा पसल खोलेको देखिन्छ । नयाँ नेपाल जडिबुटी सप्लायर्स नामको फर्ममा पनि उनले काम गरेको उल्लेख गरेका छन् ।

लिसी जाई नेपालमा बिजनेस भिसामा बस्दै आएका र उनकै फर्ममा आफूले काम गर्ने गरेको बयान थुप्तिनले दिएपनि यो सञ्जाल नै आपराधिक गतिविधिकै लागि भित्रिएको हुनसक्ने आशंका अनुसन्धानमा संलग्न अधिकारीको छ । फर्म चिनियाँ शंकास्पद व्यक्तिले एक नेपालीसँगको साझेदारमा खोलेको पनि पाइएको छ ।

खाग तस्करी प्रकरणमा सुर्खेतका दलबहादुर खड्का, कल्साङ गम्पो, फाराप मुसलमान, याम लाओ पान, लि सिजाई फरार भएका थिए । पछिल्लो सुन प्रकरणमा पनि यो गिरोहसँग जोडर अनुसन्धान जारी राखिएको स्रोतले बतायो ।

थुप्तिनसँगै पक्राउ परेका तिब्बती मूलका अर्का अभियुक्त जान सेनले दिएको बयानमा भनिएको छ, ‘थुप्तिनबाट खाग बरामद भएको हो । हामी २५ लाख रुपैयाँ लिएर खाग किन्न आयौ । हामीलाई अरुले नै खाग किन्न पैसा पठाएका थिए । औरी खोलाको पुलमुनी २ वटा खाग रु ५ लाख नेपालीमा खरिद गर्‍यौं । १ जनवरीमा फाराप, म र थुप्तिन तीनजना बसमा चढेर भुरीगाउँ आयौं । मैले र फारापले खोलेर हेरेपछि नेपालगञ्ज गयौं । म न्युरोडको एक होटलमा बसे । थुप्तिन कोठामा गए । फाराप कहाँ गए, थाहा भएन । सोनाम टासी भन्ने मानिस फरार छ । हामीलाई खाग किन्न २५ लाख रुपैयाँ पठाउने सोनाम टासी हुन् । उनी पक्राउ नै परेनन् ।’

थुप्तिनले आफू खाग तस्कर नभएको तर जडिबुटी किन्न भनेर बोलाएर खाग देखाइएको जिकिर गरेका थिए । तर, तस्करीमा तीनवटै तहबाट दोषी ठहर भएका उनी पछिल्लो पटक पुन: सुन तस्करीमा जोडिएका हुन् । सन् १९९२ देखि आफू भारतमा गएको पनि खुलाएका छन् । पछिल्लो सुन प्रकरणमा जारी अनुसन्धान पनि खाग तस्करीको नेटवर्कसँग जोडेर हेरिएको छ । थुप्तिनले भारतीय नागरिकता लिएर नेपाल आउजाउ गर्ने गरेको भेटिएको छ ।

मातृका दाहाल विगत डेढ दशकदेखि पत्रकारिता गरिरहेका छन् । उनी राष्ट्रिय सुरक्षा, सुशासन तथा सामाजिक जनचासाेका विषयमा समाचार लेख्छन् ।

Link copied successfully