क्विन्टल सुन प्रकरण : व्यापारी राकेश अडुकियाका छोरा रोहन पक्राउ

श्रावण २६, २०८०

मातृका दाहाल

काठमाडौँ — क्विन्टल सुन तस्करी प्रकरणमा मुछिएका व्यापारी राकेशकुमार अडुकियाका छोरा रोहन अडुकिया शुक्रबार पक्राउ परेका छन् । रोहनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अध्यागमन कार्यालयले पक्राउ गरेको हो । अध्यागमनले उनलाई राजस्व अनुसन्धान विभागको जिम्मा लगाएको छ । 

उनी भारतीय राहदानी प्रयोग गरेर इन्डिगो जहाजबाट नेपाल आएका थिए ।

राकेश भने सुन बरामदपछि फरार छन् । यसअघि अडुकियाको घरमा विभागले छापा मारेको थियो । 

क्विन्टल सुन तस्करी प्रकरणमा मुछिएका व्यापारी अडुकियाले पछिल्ला नौ महिनामा १४ पटक नेपाल–हङकङ ओहोरदोहोर गरेको भेटिएको थियो ।  सरकारी अभिलेखअनुसार नेपाली नागरिक रहेका उनले भारतीय राहदानीबाट विभिन्न मुलुकको यात्रा गरेका हुन् । उनको यो पटक–पटकको यात्रा सुन तस्करीमै जोडिएको आशंका अनुसन्धानमा संलग्न निकायले गरेका छन् । 

क्विन्टल सुन तस्करी प्रकरणमा संलग्न दुई चिनियाँ नागरिक पनि शुक्रबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका थिए । हिमालय एयरलाइन्सबाट चीन भाग्न लागेका ली जियालिन र लिउ फुयानलाई त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयले शुक्रबार बिहान नियन्त्रणमा लिइ प्रहरीको जिम्मा लगाएको थियो ।

क्विन्टल सुन तस्करी प्रकरणमा अहिलेसम्म ५ विदेशीसहित २१ जना पक्राउ परिसकेका छन् । 


मातृका दाहाल विगत डेढ दशकदेखि पत्रकारिता गरिरहेका छन् । उनी राष्ट्रिय सुरक्षा, सुशासन तथा सामाजिक जनचासाेका विषयमा समाचार लेख्छन् ।

Link copied successfully