तथ्य र प्रमाणले देखाएको ठाउँसम्म छानबिन पुग्‍नुपर्छ : माओवादी केन्द्र

जनतामा महंगीको मार परेको छ, सरकारको पहलकदमी पुगेको छैन । अनुगमन गर्ने, बदमासी गर्नेलाई कारबाही गर्ने कुरामा सरकारले दृढतापूर्वक कदम चाल्नुपर्छ : माओवादी प्रवक्ता सापकोटा

श्रावण २४, २०८०

कान्तिपुर संवाददाता

काठमाडौँ — सरकारको नेतृत्व गरिरहेको नेकपा (माओवादी केन्द्र)ले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भएको क्विन्टल सुन तस्करी प्रकरणको छानबिन तथ्य र प्रमाणले देखाएको ठाउँसम्म पुग्नुपर्ने बताएका छन् । माओवादी केन्द्रका प्रवक्ता अग्नि सापकोटाले सरकारले नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोलाई जिम्मा दिएको उल्लेख गर्दै तथ्य र प्रमाणका आधारमा अगाडि बढ्नुपर्ने बताए ।

पार्टी केन्द्रीय कार्यालय काठमाडौं पेरिसडाँडामा पत्रकार सम्मेलन गर्दै उपाध्यक्ष तथा प्रवक्ता सापकोटाले सुन तस्करी प्रकरणको अनुसन्धान निष्कर्षमा पुर्‍याउनका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रतिबद्ध रहेको पनि बताए ।

‘सुन प्रकरणलाई निस्कर्षमा पुर्‍याउने कुरामा प्रधानमन्त्री प्रतिबद्ध हुनुहुन्छ । उहाँ दृढ हुनुहुन्छ । निर्दोष नपरुन्, दोषी नउम्किउन् भन्ने छ । कसरी तथ्यद्वारा सत्य पत्ता लगाउने कुरामा के गर्दा ठिक हुन्छ भनेर प्रधानमन्त्री कार्यालय अन्तर्गत रहेको राजश्व अनुसन्धानले सीआईबीलाई दियो । त्यो चाहीँ ठिक ढंगले अनुसन्धान होस्,' उनले भने, 'त्यहाँ मोलाहिजा हुँदैन, त्यो रोकिँदैन । यसलाई अगाडि बढाइछाड्ने कुरामा प्रधानमन्त्रीले पदाधिकारी र केन्द्रीय कमिटी बैठकमा प्रतिबद्धता राख्नुभएको छ । पहिलाको इतिहास दोहोरिँदैन, अनुसन्धान निर्धक्कसाथ अघि बढ्छ । तथ्य र प्रमाणले जो–जो, जहाँ–जहाँसम्म पुग्छ त्यहाँसम्म पुग्नका लागि कुनै हिच्किचाहट हुँदैन ।’

संघीय संसद्का दुवै सदनमा प्रमुख प्रतिपक्ष एमालेले सुन तस्करीको छानबिनका लागि उच्चस्तरीय समिति गठनको माग गर्दै अवरोध गरिरहेका बेला माओवादीले अहिलेको अनुसन्धान नै अघि बढ्ने जनाएको हो । 

त्यस्तै, सापकोटाले नेकपा(माओवादी केन्द्र)को भदौ १६ गतेदेखि सुरु हुने ३ महिने अभियान पार्टीको लागि अन्तिम परीक्षा भएको बताए । ३ महिने अभियान पार्टीका लागि अन्तिम परीक्षा भएको पनि उनको भनाइ थियो । ‘जनतासँग माओवादी –विशेष रुपान्तरण अभियान’ सुरु हुने र सो दिन देशभरका ६ हजार ७ सय ४३ वटा वडामै एकसाथ उद्घाटन हुने तयारी रहेको बताए ।

‘भदौ १६ गते ६ हजार ७ सय ४३ वटामा एकै साथ उद्घाटन हुन्छ । अध्यक्षले सात प्रदेशको सातवटा वडाहरू जिम्मा लिनुभएको छ । हामीले पनि सबैले जिम्मा लिएका छौँ । यसमा हामीले वैचारिक पुनःगठन, राजनीतिक पुनःगठन, संगठनात्मक पुनःगठन र सांस्कृतिक पुनःगठनका कुरा गर्छौ,' उनले भने, 'यो एउटा परीक्षा हो, हामी सबैका लागि परीक्षा हो । त्यसकारण यो परीक्षामा हामी सबै सामेल हुन्छौँ । मलाई विश्वास छ हामी यो परीक्षामा उत्तीर्ण हुन्छौँ ।'

यस क्रममा प्रवक्ता सापकोटाले जनता महंगीको मारमा परेको भए पनि महंगी नियन्त्रणमा सरकारको पहलकदमी पुग्न नसकेको बताएका थिए । बजार अनुगमन गरी बदमासी गर्नेहरूलाई कारबाही गर्नुपर्नेमा उनले जोड दिएका थिए । ‘महंगीको मार परेको छ । सरकारको पहलकदमी पुगेको छैन । अनुगमन गर्ने, बदमासी गर्नेलाई कारबाही गर्ने कुरामा सरकारले दृढतापूर्वक कदम चाल्नुपर्छ,' उनले भने, 'महंगीको मारमा जनता परेका छन् । अब बस्ने पदाधिकारी बैठकमा यही भावका साथ हामी छलफल गर्छौ ।’

देशका युवा विदेशिने कुरा राष्ट्रियतासँग पनि गाँसिएको भन्दै सापकोटाले हुनेखाने र पुगिसरी आएकाहरू नै विदेशिएका बताए । उनले युवाहरू विदेशिने खतराको विषय भएको भन्दै यो विषयलाई राष्ट्रले प्राथमिक एजेण्डा बनाउनुपर्ने बताए । उनले भ्रष्टाचार नियन्त्रण गर्ने, गरिबी निवारण गर्ने र रोजगारी सिर्जनागरी जनताको जीवनस्तर उठाउने कुरामा ध्यान पुर्‍याउनुपर्ने धारणा राखे । 

कान्तिपुर

Link copied successfully