ललिता निवासको निर्णयमा मेरो संलग्नता छैन, छानबिनमा सहयोग गर्छु : पूर्वमन्त्री जोशी

श्रावण २२, २०८०

कान्तिपुर संवाददाता

काठमाडौँ — पूर्वमन्त्री चन्द्रदेव जोशीले ललिता निवासको जग्गा हिनामिना प्रकरणमा आफ्नो संलग्नता नरहेको दाबी गरेका छन् । प्रहरीले उनी समेत चार पूर्वमन्त्रीलाई पक्राउ पुर्जी जारी गरिसकेको अवस्थामा उनले छानबिनको काममा भने सघाउने उल्लेख गरेका छन् ।

'वर्तमान सरकारले चालेको भ्रष्टाचार विरोधी अभियानमा मेरो पूरै समर्थन छ । देशमा रहेको भ्रष्टाचार मेटियोस् भन्ने मेरो चाहना र अपेक्षा हो । लगतार त्यसैतर्फ मेरो राजनीतिसमेत लक्षित हुँदै आएको छ । अनुसन्धान निकायलाई मेरो पूरा सहयोग रहनेछ' उनले सोमबार फेसबुकमा लेखेका छन् । 

उनले  २०६९ असोज १८ गते ललिता निवासबारे मन्त्री परिषद्‌मा निर्णय हुँदा आफू मन्त्री पदमा नरहेको उल्लेख गरेका छन्  ।

'मन्त्रिपरिषद्‌बाट मैले त्यसअघि नै असोज ४ गतेको मितिमा राजीनामा गरिसकेको थिएँ । म २०६९ जेठ ३ देखि असोज ४ गते सम्ममात्र तत्कालीन बाबुराम भट्टराई मन्त्रिपरिषद्‌मा रहेको हुँ । म पछि तत्कालीन मन्त्रिपरिषद्‌‌का अर्का सदस्य टोपबहादुर रायमाझीले मैले सम्हाल्दै आएको मन्त्रालय सम्हालेको जानकारी त्यसबखत पाएको हुँ । त्यसपछि मन्त्रिपरिषद्‌को समाजिक समितिमा प्रस्ताव जाँदा समेत म मन्त्री पदमा थिइनँ । मैले मन्त्री पद छाडेपश्चात भएको कुनै पनि निर्णयबारे मलाई जानकारी छैन । पछिल्लो समय समाचार माध्यम नै मेरो जानकारीका श्रोत भएका छन्' जोशीले भनेका छन्, 'जे जसो भए पनि अनुसन्धान निकायले गर्ने छानबिनलाई मेरो पूरा सहयोग रहने छ ।'

ललिता निवास

कान्तिपुर

Link copied successfully