सुन काण्डमा जसले अनुसन्धान गर्दैछ, उहाँ प्रधानमन्त्रीको पीए हुनुहुन्थ्यो : नेता कोइराला

श्रावण १८, २०८०

कान्तिपुर संवाददाता

काठमाडौँ — नेपाली कांग्रेसका नेता शेखर कोइरालाले सुनकाण्डमा प्रधानमन्त्री पुष्पकमल दाहालको समेत संलग्नता हुनसक्ने आशंका व्यक्त गरेका छन् । उनले सुन काण्डमा अहिले राजस्व अनुसन्धान विभागले अनुसन्धान गरिरहेको र पहिले प्रधानमन्त्रीको निजी सचिव रहेका व्यक्ति नै अहिले सो विभागको प्रमुख रहनुले घटनामा प्रधानमन्त्रीको भूमिकाबारे प्रश्न उब्जिएको बताए ।

‘सुन काण्डमा रोचक के छ भने यसमा प्रहरी वा सीआईबी इन्भल्व छैन । राजस्व अनुसन्धान मात्रै इन्भल्व छ,’ बिहीबार काठमाडौंमा भएको एक कार्यक्रममा नेता कोइरालाले भने, ‘त्यसमा पनि इन्ट्रेस्टिङ त के छ भने राजस्व अनुसन्धान पहिला अर्थ मन्त्रालयको अन्डरमा हुन्थ्यो, ओलीजी प्रधानमन्त्री हुँदा प्रधानमन्त्री कार्यालयअन्तर्गत ल्याउनुभयो, शेरबहादुरजी आइसकेपछि उहाँले पनि फर्काउनु भएन, अहिले प्रधानमन्त्रीजीले पनि फर्काउनुभएको छैन । अहिले त्यहाँ जो डिजी हुनुहुन्छ, सुन काण्डभन्दा ७ दिन पहिला प्रधानमन्त्रीजीको पीए हुनुहुन्थ्यो । यसबाट प्रश्न उठ्छ, देशमा के हुँदैछ ? कहाँ पुग्न खोज्दैछौँ ।’

राजस्व अनुसन्धान विभागको महानिर्देशकमा हाल नवराज ढुंगाना महानिर्देशक छन् । उनी त्यहाँ सरुवा हुनुभन्दा अघि प्रधानमन्त्रीको निजी सचिवका रुपमा कार्यरत थिए । उनलाई सरकारले १२ असारमा राजस्व अनुसन्धान विभागको महानिर्देशक बनाएको थियो । 

नेता कोइरालाले सो प्रकरणमा प्रहरीलाई बाहिर राखेर अनुसन्धानमा राजस्व अनुसन्धानमात्रै संलग्न हुनुले प्रश्न उब्जिएको बताए । नेता कोइरालाले भ्रष्टाचार र अपराधलाई राजनीतिक लेप लगाउने कार्यले देशलाई अराजकतातिर धकेल्न काम गरिरहेको बताए ।

‘भ्रष्टाचारले देश गाँजेको छ । दण्डहीनता बढेको छ । भ्रष्टाचारले देशलाई हरेक क्षेत्रमा गाँजेको छ । एउटा प्रकरण निस्किन्छ, त्यो इस्यु अघि बढाउँदै अर्को इस्यु आउँछ, पहिलाको इस्यु साइड लाग्छ,’ उनले भने, ‘भुटानी शरणार्थीपछि ललिता निवास जग्गा प्रकरण आयो, भुटानी शरणार्थी प्रकरण रोकियो । झ्याप्प किन रोकियो भने माथि कोही न कोही मान्छे परिरहेको हुन्छ । सुन काण्ड आयो, मैले भनिरहनु पर्दैन, यो पनि सामसुम हुन्छ, किनभने माथिल्लो कोही न कोही इन्भल्व छ ।’

कान्तिपुर

Link copied successfully