कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

खाणले अदालतमा भने : मेरो राजनीतिक जीवन सिध्याउन राज्यले षड्यन्त्र रच्यो

'मलाई फसाउने उद्देश्यले यी सबै झुट्टा आरोप र मुद्दाहरू लगाइएका हुन् । यस सम्बन्धमा मैले न्यायमूर्तिसँग न्यायको याचना गर्दछु । उक्त कसुरमा मेरो संलग्नता नरहेको हुँदा अभियोग मागदाबीबाट फुर्सद दिलाइ पाऊँ, सफाइ पाऊँ ।'
'म ईश्वरमा विश्वास गर्दछु, धार्मिक प्रवृतिको व्यक्ति हुँ । जनतालाई झुक्याउने, अनुचित लाभ लिने कुनै कार्य गर्नेबारे सोच्न पनि सक्दिनँ ।'
'प्रतिवेदनमा फेरबदल भएका बुँदाहरूका सम्बन्धमा राख्नेहरूले नै जिम्मेवारी लिनुपर्ने हो ।'

काठमाडौँ — नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने प्रकरणमा संलग्न रहेको भनी ठगी, लिखत किर्ते, राज्यविरुद्ध र संगठित अपराधको अभियोग लागेका पूर्वगृहमन्त्री तथा कांग्रेस केन्द्रीय सदस्य बालकृष्ण खाणले अदालतमा इन्कारी बयान दिएका छन् । काठमाडौं जिल्ला अदालतका न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा बयान दिने क्रममा खाणले व्यक्तिगत र राजनीतिक जीवन सिध्याउन राज्यबाट नै षड्यन्त्र रचिएको दाबी गरेका छन् ।

खाणले अदालतमा भने : मेरो राजनीतिक जीवन सिध्याउन राज्यले षड्यन्त्र रच्यो

खाणले नक्कली भुटानी शरणार्थी प्रकरणका पीडित तथा जाहेरीकर्तालाई नचिनेको पनि बताएका छन् । उक्त प्रकरणमा आफ्नै कहीँकतै संलग्नता नरहेको जिकिर गरेका खाणले प्रतिवेदन फेरबदलमा आफ्नो कुनै संलग्नता नरहेको बताएका छन् ।

'मविरुद्ध लगाइएका सबै अभियोग माग दाबीहरू कपोलकल्पित र झुटा हुन् । मेरो व्यक्तिगत र राजनीतिक जीवन सिध्याउन निजोजित रूपमा राज्यले रचेको षड्यन्त्र हो । अभियोगमा दाबी लिइएको कुनै पनि कसुरमा मेरो कहीँकतै संलग्नता छैन । यी कसुरहरू गर्नमा कसैलाई प्रोत्साहन र प्रेरित गरेको छैन,' खाणले अदालतमा भनेका छन्, 'मलाई फसाउने उद्देश्यले यी सबै झुटा आरोप र मुद्दाहरू लगाइएका हुन् । यस सम्बन्धमा मैले न्यायमूर्तिसँग न्यायको याचना गर्दछु । उक्त कसुरमा मेरो संलग्नता नरहेको हुँदा अभियोग माग दाबीबाट फुर्सद दिलाई पाउँ । सफाई पाउँ ।'

जिल्ला सरकारी वकील कार्यालय काठमाडौंका जिल्ला न्यायाधिवक्ता, जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसन्धान अधिकृत प्रहरी उपरीक्षकले ठगीको कसुर र संगठित अपराधको कसुरमा बयान लिएर अन्य कसुर र राज्यविरुद्धको कसुरमा समेत अभियोग लगाइएकोमा पनि खाणले असन्तुष्टि जनाएका छन् । एक अभियोगमा बयान लिने र अर्को अभियोग लगाएर 'सरासर स्वच्छ सुनुवाइ र प्राकृतिक न्यायको सिद्धान्तविपरीत' काम गरेको उनको भनाइ छ ।

शरणार्थीसम्बन्धी गृह मन्त्रालयकका पूर्वसहसचिव बालकृष्ण पन्थी संयोजकत्वको कार्यदलको प्रतिवेदन भएको फेरबदलबारे सम्बन्धित अधिकारीहरूले जिम्मेवारी लिनुपर्ने खाणले अदालतमा बताएका छन् । शुक्रबार जिल्ला अदालतका न्यायाधीश प्रेसमप्रसाद न्यौपानेको इजलासमा बयान दिने क्रममा खाणले भनेका थिए, 'प्रतिवेदनको सम्बन्धमा मलाई कुनै जानकारी भएन । मन्त्रालयको कागजपत्र, प्रतिवेदन र विविध लिखतहरू राख्ने र सुरक्षा गर्ने सम्बन्धित महाशाखा र शाखाहरूको जिम्मेवारी हो । तसर्थः प्रतिवेदनमा फेरबदल भएका बुँदाहरूका सम्बन्धमा राख्नेहरूले नै जिम्मेवारी लिनुपर्ने हो । परिवर्तन सम्बन्धमा मलाई थाहा हुने कुरा भएन ।'

खाणले प्रतिवादीहरू टोपबहादुर रायमाझीलाई राष्ट्रिय नेता भएकाले, टेकनारायण पाण्डेलाई सचिव भएकाले, नरेन्द्र केसी आफ्नो स्वकीय सचिव भएकाले, शमशेर मियाँलाई हज कमिटी अध्यक्ष र आङटावा शेर्पा कांग्रेस नेता भएकाले चिन्ने बाँकीलाई नचिन्ने बयान दिएका छन् । रायमाझी, पाण्डे, केसी, मियाँ र शेर्पासँग आफ्नो कुनै लेनदेन, रिसिइबी र झैझगडा नभएको पनि उनको बयान छ ।

जाहेरीकर्ता गजेन्द्र बुढाथोकीसमेत कसैलाई पनि आफूले नचिनेको खाणको भनाइ छ । 'गजेन्द्र बुढाथोकीसमेतका कुनै पनि जाहेरवालालाई म चिन्दिनँ । मैले चिन्दै नचिनेका र मसँग कुनै सम्पर्क नै नभएका व्यक्तिहरूसँग ठगी गरेको भन्ने जाहेरी व्यहोरा झुट्टा हो । सो सम्बन्धमा मलाई कुनै जानकारी नै छैन,' उनले बयानमा भनेका छन्, 'ममाथि लगाइएको उक्त आरोप नियोजित र कपोलकल्पित छ ।'

केशव दुलाल, सानु भण्डारी, नरेन्द्र केसी, आङ्टावा शेर्पा टेकनारायण पाण्डे र टेकनाथ रिजालले अधिकारप्राप्त अधिकारीसमक्ष गरेको बयान अदालतको इजलासमा खाणलाई सुनाइएको थियो । उक्त बयानबारे केही भन्नुछ ? भनेर सोधिएकोमा खाणले जवाफ दिएका थिए, 'प्रतिवादी टेकनारायण पाण्डेले अनुनस्धानका क्रममा थप बयान लेखाएबमोजिम मसँग केशवप्रसाद दुलालको प्रत्यक्ष भेटघाट भएको भनिएको कुरा झुटा हो । कसैमार्फत उनीसँग मेरो कुराकानी र लेनदेन भएको भन्ने कुरा सरासर झुट्टा हो । टेकनाथ रिजालको अनुसन्धानको क्रममा भएको बयान व्यहोरा सम्बन्धमा मलाई कुनै जानकारी भएन । प्रतिवादी नरेन्द्र केसीले अनुनसन्धानको बयानमा खुलाएबमोजिमको कागजको सम्बन्धमा कोकसलाई किन लेखिएको हो मलाई कुनै जानकारी भएन । प्रतिवादी आङ्टावाको अनुनसन्धानको व्यहोरा सम्बन्धमा कुनै जानकारी भएन ।'

पछिल्लो पटक गृहमन्त्री भएका बेला आफ्नो जिम्मेवारीअनुसार काम गरेको खाणको भनाइ थियो । उनले आफू राष्ट्र, राष्ट्रियता, राष्ट्रहित र राज्यविरुद्ध सोच्न पनि नसक्ने भनाइ राखेका थिए । 'पछिल्लो पटक गृहमन्त्रीको जिम्मेवारी सम्हाल्दा संविधान र कानुको पालना गर्दै देशमा शान्ति, सुव्यवस्था र अमनचयन कायम गर्ने भूमिका निर्वाह गरेको छु । म विभिन्न रोगहरूको निवारणका लागि नियमित औषधिहरू सेवन गरिरहे पनि हालसम्म मैले राज्यकोषबाट उपचार खर्चसमेत लिएको छैन । म ईश्वरमा विश्वास गर्दछु । धार्मिक प्रवृतिको व्यक्ति हुँ । जनतालाई झुक्याउने, अनुचित लाभ लिने कुनै कार्य गर्नेबारे सोच्न पनि सक्दिनँ ।'

काठमाडौं र बुटवलमा रहेको घरजग्गाबाट आउने भाडा तथा कृषिजन्य उत्पादनबाट आउने आम्दानीबाट परिवारको जीवन सहजसँग चलिरहेको खाणले बयानमा भनेका छन् ।

प्रकाशित : जेष्ठ २०, २०८० १४:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?