प्रविधिको सदुपयोग गर्दै महिलाहरूले उत्पादन बजारमा लैजानुपर्छ : पाण्डे

काठमाडौँ — जनरल टेक्नोलोजीकी प्रबन्ध निर्देशक सुनैना घिमिरे पाण्डेले सामाजिक सञ्जालहरूको प्रयोग गरेर विभिन्न उत्पादनहरू बजारमा लैजान सकिने बताएकी छिन् ।

प्रविधिको सदुपयोग गर्दै महिलाहरूले उत्पादन बजारमा लैजानुपर्छ : पाण्डे

कान्तिपुर पब्लिकेसन्सको सहप्रकाशन नारी मासिकद्वारा आयोजित ‘निर्भीक नारी’ को तेस्रो सत्र 'प्रविधिमा अब्बल, जीवनमा सबल' मा उनले नेपाली बजारमा उत्पादन बिक्रीका लागि सामाजिक सञ्जालको प्रयोग कम हुने गरेको बताएकी हुन् । प्रविधिगत अप्ठेरा र भाषाको कठिनाइका कारण अझै पनि महिलाहरूले आफ्ना उत्पादनलाई बजारमा लैजान नसकेको पाण्डेले बताइन् ।

'नेपाली बजारमा सामाजिक सञ्जालमा प्रयोग हुने उत्पादन निकै कम छ । सामाजिक सञ्जालबाट आफ्ना उत्पादनहरू विस्तारै राख्ने क्रम बढ्दो छ । बैंक एपहरूमा पनि विभिन्न सेवा सुविधाहरू भइरहेका छन् । प्रविधिको विकाससँगै विभिन्न सफ्टवेयर र एपहरू बनाउँदा नेपाली भाषामै भए महिलाहरूलाई सहज हुन्छ,' उनले भनिन् ।

महिलालाई सशक्त बनाउँदै अर्थतन्त्र धान्नुपर्ने अवस्था रहेको पनि उनको भनाइ छ । 'कान्छी किचन' नामक युट्युब च्यानलबाट फुड भ्लग चलाउँदै आएकी कान्छीमैया भण्डारीको उदाहरण दिँदै प्रबन्ध निर्देशक भण्डारीले महिलाहरूले व्यवसायलाई कसरी दीर्घकालीन बनाउने भन्नेमा सोच्नुपर्ने बताइन् । अझ बढी कसरी बजार विस्तार गर्ने भन्ने कुरामा ध्यान दिनुपर्ने उनको भनाइ छ ।

'अब सोसल मार्केटिङमा कसरी जाने भन्ने कुरा उहाँको चुनौती हो । उहाँको अहिले पनि निश्चित दर्शक छन् तर त्यसलाई कसरी मास लेभलमा लैजान सकिन्छ भन्ने कुरामा ध्यान दिन आवश्यक छ । उहाँको आम्दानी निरन्तर हुनुपर्‍यो । समयसँगै मान्छेको रुचि बदलिन सक्छ । सधैं मानिसहरूले एउटै विषयबस्तु मन नपराउन सक्छन् । त्यसैले पनि त्यसलाई कसरी दिगो बनाउने भन्ने कुरामा ध्यान दिनुपर्छ,' उनले भनिन् ।

प्रकाशित : चैत्र १५, २०७९ १६:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?