संघ र प्रदेश सरकारबाट बाहिरिने निर्णय
काठमाडौँ — राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा) ले राजनीतिक समीकरणमा आएको फेरबदलले मुलुक पुन: सत्ताकेन्द्रित अस्थिरतातर्फ धकेलिएको बताएको छ ।
शनिबार बसेको केन्द्रीय कार्यसम्पादन र संसदीय दलको संयुक्त बैठकले परिवर्तित सन्दर्भमा राप्रपा सत्तामा रहिरहन अनुपयुक्त हुने ठहर गर्दै सरकारबाट बाहिरिनेसमेत निर्णय गरेको छ । राप्रपाले संघ सरकार र प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिँदै सरकारबाट बाहिरिनेसमेत निर्णय गरेको छ ।
पार्टीका प्रवक्ता एवं प्रचार विभाग प्रमुख मोहनकुमार श्रेष्ठले बैठकपछि जारी विज्ञप्तिमा भनिएको छ, 'यसै पृष्ठभूमिमा माघ ३ गते हामी सरकारमा समेत सहभागी भई क्रियाशील रहेको बेला वर्तमान सत्ता सहकार्यमा आकस्मिक परिवर्तन भई मुलुक पुनः सत्ता केन्द्रित अस्थिरतातर्फ धकेलिएको छ । यो हाल देखिएको सत्ता परिवर्तनको प्रवृत्ति र प्रक्रिया वर्तमान संविधानको संरचनामा निहित अस्थिरताको स्वभाविक चरित्र हो भन्ने हाम्रो ठहर रहेको छ । परिवर्तित सन्दर्भमा राप्रपा सत्तामा रहिरहनु अनुपयुक्त हुने ठहर गर्दै आजबाटै सरकारलाई दिएको समर्थन फिर्ता लिई सरकारबाट बाहिरिने निर्णय गरेका छौं । साथै, प्रदेश सरकारमा पनि राप्रपाको यसै बमोजिमको दृष्टिकोण रहेकाले प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने र प्रदेश सरकारबाट समेत बाहिरिने निर्णय गरिएको छ ।'
शुक्रबार रातिको नेकपा माओवादी केन्द्रसहितको ८ दलीय बैठकले कांग्रेस उम्मेदवारलाई राष्ट्रपतिमा सहयोग गर्ने सहमति जनाएका थिए । नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी र राष्ट्रिय मोर्चा पार्टीले राष्ट्रपति निर्वाचनमा कांग्रेसलाई समर्थन गर्ने सहमति दिएका छन् ।
