पानीपुरी क्रेज

काठमाडौंमा पचासको दशकपछि मात्रै पानीपुरी बाटोतिर पनि देखिन थालेको हो । त्यसपछि पानीपुरी खाने पुस्ता पनि ह्वात्तै बढेको हो ।

माघ २९, २०७९

सुशीला तामा‌ङ

दार्चुला — ‘वाउ, अमिलो, पिरो सबै मिलेको, क्या मीठो भएछ,’ पानीपुरी खाएपछि फुत्त मुखबाट निस्केको दाङकी पुष्पा भट्टराईको बोली हो यो । जाडोयामको मौसममा प्यारो घामसँगै पानीपुरी खानुको मजै बेग्लै । चिसो पानीमा मिसाइएको अमिलो, मसलाका परिकार र मसलाका स्वादले नलोभिने कमै होलान् ।

‘सानो छँदा पिरो भयो भनेर तरकारी पनि नखाने छोरीहरूले त अहिले मैले भन्दा बढी खान्छन् । उनीहरूका कारण अलि–अलि गर्दै मलाई पनि बानी पर्‍यो,’ पुष्पाको साथमा काठमाडौंको भृकुटीमण्डपमा पानीपुरी खाइरहेकी सरस्वता भट्टराईले भनिन् । केही पर विद्यालय पोसाकमै रहेका तीन जना स्कुले युवाहरू थिए, राजविराज भण्डारी, राज वली र सौरभ सिम्खडा । पद्मोदय माविमा कक्षा १० मा अध्ययनरत उनीहरू खाजा खाने समयमा पानीपुरी र चटपटे पसलतिर आएका थिए । 

पछिल्लो समय पानीपुरी नखाने युवापुस्ता विरलै भेटिएला । सडक, गल्ली, चोक, नदी किनारा, होटल, रेस्टुरेन्टदेखि लिएर पार्टी तथा उत्सवहरूमा समेत पानीपुरी राख्ने र खाने क्रम बढेको छ । फुटपाथ तथा पार्कहरूमा अहिले ५० देखि ७० रुपैयाँमा पाइन्छ, एक प्लेट पानीपुरी । केही होटल, रेस्टुरेन्ट र सपिङ कम्लेक्समा भने ८० देखि २ सय रुपैयाँसम्म पनि पर्छ । 

स्कुल–कलेज छुट्टी भयो, साथीभाइको जमघट, आफन्त भेटघाट वा घुमघामका क्रममा जिब्रोलाई मक्ख पार्ने खानेकुराको सूचीमा पर्छ, पानीपुरी । 

खासगरी दक्षिण भारतको संस्कार र परिकार मानिने पानीपुरी अहिले नेपाललगायत विश्वका धेरै देशमा लोकप्रिय बन्दै गएको भाषा तथा विशेषतः मिथिला क्षेत्र संस्कृतिका अध्येता तथा लेखक डा. रामदयाल राकेश बताउँछन् । उनका अनुसार मिथिला क्षेत्रमा पानीपुरीलाई भोजभतेर तथा उत्सवहरूमा पाचन प्रक्रियाका लागि पाहुनालाई सुरुमै खुवाउने प्रचलन थियो । ‘हलुका र शाकाहारी खाना भएकोले हाम्रोमा बिहेमा जन्ती आउँदा र कुनै भोजभतेर लगाउँदा सुरुमा पानीपुरी खुवाउने गरिन्थ्यो,’ उनले भने । सुरुवाती समयमा यसमा पानीमा नुन, बिरेनुन, पुदिना जस्ता पदार्थसाथ स्वादिलो र खाना पचाउने भएकाले फाइदाजनक समेत मानिन्थ्यो । 

गोलो आकारको हुने भएकाले यसलाई गोलगप्पा/गोलगप्फा पनि भनिन्छ । मुलुक र ठाउँ विशेषअनुसार यसलाई बतासे, गुपचुप, फुल्कीसमेत भनिएको पाइन्छ । यसको इतिहास महाभारतसँग पनि जोडिएको पाइन्छ । पाँच पाण्डवकी पत्नी द्रौपदीले वनबासको समयमा थोरै खाद्यपदार्थको बावजुत पनि पाण्डवहरूको पेट भरिने र मन प्रसन्न पार्ने खानेकुरा पानीपुरी बनाएकी थिइन् । यसबाट माता कुन्ती प्रसन्न भई उनलाई अमरताको वरदान दिएको भन्ने कथनसमेत छ ।

सिरहामा बाल्यकाल बिताएका चित्रकार एवं मैथिल संस्कृत अध्येता, लेखक एससी सुमन बाल्यकालमा पानीपुरी खाएको स्मरण गर्छन् । उनले सुनाए, ‘लहानमा २०२८ सालतिर स्कुल पढ्दा हामी पानीपुरी होइन गोलगप्पा, गुपचुप भन्थ्यौं । स्कुल अगाडि लहरै ठेला हुन्थे । ५/१० पैसामा गोलगप्पा खाएको मलाई याद छ ।’ 

पानीपुरी युवापुस्ताको रोजाइमा पर्नुको कारण यसको स्वाद मात्र नभएको स्वयं युवापुस्ता र विज्ञहरूको मत छ । सामाजिक एकता, सद्भाव र परस्पर बाँडीचुँडी खाने संस्कार, एकले अर्कोको रुचि तथा चाहनाको कदर गर्ने स्वभावलाई समेत पानीपुरीले सिकाउने लेखक एससीको भनाइ छ । नेपाल र भारतको सिमाना नजिक भएकाले तराई हुँदै पहाडी क्षेत्र तथा काठमाडौंमा पानीपुरी भित्रिएको उनको मत छ । ‘हाम्रो लगाउने पहिरन जस्तै पानीपुरीले पनि आज विभिन्न देशबीच सफ्ट पावरलाई जोड्ने काम गरेको छ’, उनले भने । ‘पानीपुरी खाँदै गर्दा साथीभाइका कति धेरै कुरा थाहा हुन्छ । अझ कतै खुला ठाउँमा पानीपुरी खानुको मजा नै बेग्लै हुन्छ । समय गएको पत्तै हुँदैन,’ हाल काठमाडौंमै अध्ययनरत बाजुराका पविन्द्र सुनारले आफ्नो अनुभव सुनाए । 

सामान्य लागे पनि युवापुस्ताले मन पराउने पानीपुरी व्यवसायले परिवारको आर्थिक अवस्थामा टेवा पुर्‍याउन सकिन्छ भन्ने ज्वलन्त उदाहरण हुन्, सुनसरीका गोपालप्रसाद साहको परिवार । उनका अनुसार बाबु महादेव साहको पालादेखि परिवार नै काठमाडौंमा पानीपुरी व्यवसायमा लगभग पाँच दशकदेखि आबद्ध छन् । ‘मैले नै काठमाडौंमा पानीपुरी बेच्न थालेको २५ वर्ष भयो,’ हाल मखनमा ‘तिवारी’ पानीपुरी पसल सञ्चालन गर्दै आएका उनले सुनाए । गोपालका चार दाजुभाइ नै पानीपुरी व्यवसायमा छन् । २०६५ सालमा बाबुको निधन भए पनि उनीहरूले ‘तिवारी’ ब्रान्डलाई ‘तिवारी ब्रदर्स’ का रूपमा अघि बढाइरहेका छन् । उनीहरूले समोसा, चाट, मःम जस्ता शाकाहारी खानाका प्रकारहरू बिक्री गरे पनि विशेष रूपमा ‘तिवारी ब्रदर्स’ अर्गानिक पानीपुरीका रूपमा काठमाडौंभित्र लोकप्रिय छ । 

‘तिवारी’ ब्रान्डको इतिहास हेर्दा २० को दशकमा नै काठमाडौंभित्र पानीपुरी भित्रिएको देखिन्छ । गोपालका अनुसार बाबु महादेव भारतको कलकत्तामा ‘तिवारी’ ब्रान्डमा निकै समय काम गरेपछि परिवारसहित काठमाडौं आएका हुन् । परिवारमा माइलो छोराका रूपमा उनी पनि नेपालमा नै जन्मेका हुन् । उनले भने, ‘बुबा कति सालमा काठमाडौं आउनुभो भन्ने त ठ्याक्कै थाहा छैन । तर बुबा बितेपछि घरमा सामानहरू खोतल्दा २०२२ सालको क्यालेन्डर हामीले भेटाएका थियौं ।’ आफू सानो हुँदा बाबुले मखन, इन्द्रचोक, विशाल बजार परिसरतिर पानीपुरी, समोसा चाट बेचेको उनलाई सम्झना छ । त्यतिबेला मारवाडी समुदाय र तराई क्षेत्रका ग्राहक मात्र पानीपुरी खान आउने गरेका उनको सम्झना छ । 

संस्कृति अध्येता रामदयालका अनुसार २०२४ सालमा पहिलोपटक काठमाडौं आउँदा न्युरोड वरिपरि डोसा तथा पानीपुरीको परिकार भर्खरै सुरुवाती अवस्थामा थियो । उनका अनुसार ५० को दशकपछि पानीपुरी बाटोतिर पनि देखिन थालेको उनले बताए । व्यवसायी गोपालका अनुसार पनि बाबुको पालामा पानीपुरी खाने पुस्ता थोरै रहे पनि आफ्नो पुस्तापछि भने काठमाडौंमा ह्वात्तै बढेको हो । तिवारी ब्रदर्सका अहिले माइलो र साइँलो भाइका मखन वरिपरि दुईवटा, जेठोको नैकापमा र कान्छाको संकटामा गरी चार ठाउँमा पानीपुरी पसल छन् । ती चारैवटा पसलमा परम्परागत रूपमा हातैले पिसेको मसलाका प्रकार, खुर्सानी प्रयोग गरेर अर्गानिक रूपमा पानीपुरी बेचिन्छ । सानो छँदा मरुहिटी, इन्द्रचोक वरिपरि ठेलामा समोसा चाट र पानीपुरी खाएको बताउँछन्, मखनका स्थानीयवासी ४८ वर्षीय प्रेम महर्जन । आफूले एक मोहरको समोसा चाट खाँदा पानीपुरी देखिएको उनलाई केही सम्झना छ । आफू सानै हुँदादेखि नै ‘तिवारी’ भन्ने पानीपुरी पसलको नाम उनले सुन्दै आएका छन् । 

महिलाले बढी पानीपुरी खान्छन् भनिए पनि अहिले पुरुषको लहर पनि उत्तिकै देखिन्छ । खाद्य पदार्थमा युवापुस्ताको स्वाद र रोजाइमा भर पर्ने भएकाले दुवै वर्गले पानीपुरी मन पराउने वरिष्ठ मधुमेह थाइराइड तथा हर्मोन रोग विशेषज्ञ तारा कोइराला बताउँछन् । गर्भावस्था जस्ता विशेष अवस्थामा बाहेक हर्मोनकै कारण पानीपुरी जस्ता खानेकुरा युवापुस्ताले मन पराउने भन्ने कारण नरहेको उनको भनाइ छ । ‘खाद्य पदार्थले गर्दा शरीरमा मोटोपनसँगै हर्मोन गडबडी हुन सक्छ तर यसकै कारण खानेकुरा रोजाइमा पर्ने भन्नेचाहिँ हुँदैन । महिलाहरू गर्भवती भएको समयमा स्वादमा फरक महसुस हुने भएकाले कसैलाई पिरो, अमिलोचाहिँ खान मन लाग्छ,’ उनले प्रस्ट्याए । 

बजारमा पानीपुरी व्यवसाय वृद्धिसँगै स्वाद र रङ उत्कृष्ट बनाउने लहडमा विभिन्न प्रकारका केमिकल र बनाउने ठाउँसमेत गुणस्तरहीन बन्दै गएको विज्ञहरू बताउँछन् । सहरी सौन्दर्यसँगै आमसर्वसाधारणको स्वास्थ्यलाई समेत मध्यनजर गर्दै काठमाडौं तथा ललितपुर महानगरभित्र समेत केही समयअघि फुटपाथमा पानीपुरी बेच्न रोक लगाइएको छ । युवापुस्ताको रोजाइको खाद्य पदार्थ भएकाले यसको मागअनुसार स्वस्थता र गुणस्तरको पनि बेला–बेलामा अनुगमन गर्नुपर्ने देखिन्छ । अहिले पानीपुरी प्रयोग गरिने पानीमा कागतीको सट्टा भिनेगर, रातो देखाउने रङ तथा मेसिनमार्फत तयार गरिएका विविध प्रकारका मसला प्रयोग गरिएको देखिन्छ । यसले कलेजो तथा मिर्गौलामा असर पर्न सक्ने जनरल प्राक्टिस तथा इमर्जेन्सी विशेषज्ञ डाक्टर पुष्पमणि खरालको भनाइ छ । उनले भने, ‘खुला ठाउँमा बेचिने पानीपुरीमा प्रयोग हुने पानी लामो समय खुला भएमा दूषित पनि हुन सक्छ । यसले डायरिया, जन्डिस, टाइफाइडसमेत हुन सक्छ ।’ 

अमिलो र पिरो पानीले ग्यास्ट्रिकसमेत गराउने हुँदा पानीपुरी खाँदा पखाला, बान्ता लाग्ने, ज्वरोको लक्षण देख्नासाथ प्रशस्त पानी खाएर तुरुन्त विशेषज्ञलाई देखाउन उनको सुझाव छ । जनस्वास्थ्यविद् तथा पोषणविद् डाक्टर अरुणा उप्रेती पानीपुरीलाई स्वस्थकर खाद्य पदार्थकै रूपमा लिन्छिन् । यसमा मिसाइने अमिलो, चना, आलु जस्ता तरकारीका प्रकार स्वास्थ्यका लागि आवश्यक पर्छ । घरैमा थोरै तेलमा पानीपुरी तारेर बनाएर खाएमा स्वास्थ्यलाई हानि नपुर्‍याउने उनको मत छ । तर बजारमा पाइने पानीपुरीमा गुणस्तरहीन भिनेगर, धेरै र एउटै तेलमा पटक–पटक तारेको पानीपुरी, बाहिरी दूषित वातावरणले स्वास्थ्यमा प्रतिकूल असर पार्ने उनले बताइन् । ‘अमिलोपना बढाउन प्रयोग गरिने कडा खालका भिनेगरले एसिड उत्पन्न गराउँछ । यसले तत्काल असर नदेखे पनि लङ्गटर्ममा देखिने क्यान्सर र बालबालिकालाई पेटको समस्या ल्याउन सक्छ,’ उनले भनिन् । स्वस्थकर रूपमा घरमै बनाएर पानीपुरी खाएमा फाइदाजनक नै हुने उनको भनाइ छ ।

युवा ग्यालरी

सुशीला

Link copied successfully