पाँचथर — बिहान ९ बज्दासम्म पाँचथरको फिदिम नगरपालिका ४ सुखबोध मावि जोरसालमाका तीनवटा मतदान केन्द्रमा करिब २ सय जनाले भोट खसालिसकेका थिए ।
घाम छिप्पिन थालेसँगै मतदान स्थलमा मतदाता आँउनेक्रम बाक्लिँदै थियो । करिब ३०–४० जना भोट खसाल्ने लाममा थिए, त्यहि बखत मतदान केन्द्र नजिकै विस्फोटको आवाज आयो, मतदानमा खटेका कर्मचारी हच्किए, मतदाताल केहिवेर तितरवितर भए ।
पाँच मिनेट पछि पुन: मतदान सुरु गरियो । मतदान स्थलमा छिरेका एकजना पनि बाहिरिएनन् । सरासर भोट खसालेर घर फर्किए । बिहान ११ बज्दासम्म त्यहाँको अवस्था साम्य भइसकेको थियो । खाना खाएर भोट खसाल्न थप मतदाता धमाधम केन्द्रतर्फ आउँदैथिए थिए, त केहि लाममा उभिएका थिए । केहि भने भोट हालेर फर्कदै थिए । पुन: बिष्फोटको आवाज आयो । पहिलेभन्दा केहि टाढा धुवाँको मुस्लो देखियो । नजिकै रहेको सशस्त्र प्रहरीको बेस क्याम्पबाट थप मदत आइपुग्यो । मतदान निरन्तर अगाडी बढिरह्यो ।
फिदिम ४ को सुखवोध माध्यामिक विद्यालय मतदान केन्द्रमा निर्वाचन प्रक्रिया अगाडी बढिरहँदा २ पटकसम्म विस्फोट गराइए पनि निर्वाचत प्रकृया अवरुद्व भएन ।
‘पहिलो पटक ज्वाला सहित धुँवाको मुस्लो मतदान स्थलसम्मै आइपुग्यो दोस्रो पटकको आवाज केहि मन्द थियो,यद्यपी कर्मचारी र मतदाता, केहि त्रसित भएपनि मतदान प्रकृया रोकेनौं, सुरक्षाकर्मी,मतदाता र कर्मचारीको भावना मिलेकाले निर्वाचन सम्पन्न भयो,’ सहायक मतदान अधिकृत हिमा दंगालले भनिन् ।
सुरक्षा अधिकारीहरुले भने उक्त मतदान स्थलमा मतदातालाई प्रभावित पार्न केहि ठूलो साइजको पटाका पड्काइएको जनाएका छन । ‘ पड्केको आवाज र गन्ध आदीले पटाका नै हो भन्ने पुष्टि गर्न सकिन्छ,’ पाँचथरका प्रमुख जिल्ला अधिकारी गणेश गैरेले भने ।
मतदातालाई त्रसित पार्न नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी माओवादीका कार्यकर्ताले त्यो वस्तु राखेको हुनसक्ने उनको अनुमान छ ।
२ हजार ८ सय मतदाता रहेको यस मतदान स्थलका तीनवटै केन्द्रमा मतदान अधिकृतदेखि म्यादीसम्म सबै कर्मचारी महिला मात्रै थिए । जहाँ १ हजार ४ सय १६ मत खसेको छ ।
