भारत एउटा छिमेकी मित्रराष्ट्र हो । त्यस्तो देशसँग अनावश्यक तनाव गर्न खोजेको होइन । शेरबहादुरजीले भने जस्तो बन्दुक देखाउन, निहुँ खोज्न , अर्धेल्याइँ गर्न र पपुलिस्ट नारा लगाउन खोजेको पनि होइन'
काठमाडौँ — पूर्वप्रधानमन्त्री तथा केपी शर्मा ओलीले कालापानी क्षेत्रमा भारतले हडपेको नेपाली भूभाग फिर्ता ल्याउने कुरा चुनावी स्टन्ट नभएको उल्लेख गर्दै यो विषय उठाउँदा उत्तेजित नहुन भारतलाई आग्रह गरेका छन् ।
प्रतिनिधिसभा र प्रदेशसभाको चुनावी अभियानमा भारतले मिचेको नेपाली भूमि फिर्ताको विषयलाई जोडका साथ उठाउँदै आएका ओलीले यो कुरा मुलुकको भौगोलिक अखण्डताको विषय भएको बताए ।
देशभरको चुनावी अभियान करिब अन्तिम चरणमा पुगेपछि मंगलबार राजधानीमा कान्तिपुरसँगको अन्तर्वार्तामा ओलीले भने- 'यो भौगोलिक अखण्डताको सवाल हो । यसमा भारतले उत्तेजित हुनुपर्ने, आक्रोशित हुनुपर्ने कुनै विषय नै छैन । हामी संवादमार्फत कुराकानी गरेर हाम्रो भूमि फिर्ता लिन चाहन्छौं ।'
अध्यक्ष ओलीले नेपालको जमिन फिर्ता ल्याउने कुरा गर्दा प्रधानमन्त्री शेरबहादुर देउवाले ललकारेको भन्दै आपत्ति जनाए । 'मैले त्यो बोलेपछि शेरबहादुरजीले आक्रोशित भएर मलाई ललकार्नु भयो- कुरा गरेर जमिन फिर्ता आउँछ ? तपाईंले भनेर जमिन फिर्ता आउँछ ? बन्दुक लिएर जानुस् न ! लड्नुहोस् भनेर,' ओलीले भने, 'प्रचण्डजीसँगको डेढ वर्षको संगतले उहाँले फेरि बन्दुकको भाषा बोल्नु थाल्नुभयो, कांग्रेसले उहिले उहिले त बन्दुकको बोकेकै हो । तर अहिलेको परिस्थिति बन्दुकको भाषा बोल्ने होइन । तर शेरबहादुरजीले बन्दुकको भाषा बोल्नुभयो ।'
उनले नेपाली कांग्रेसका सभापति तत्कालीन प्रधानमन्त्री मातृकाप्रसाद कोइरालाले २००८ साल माघ ४ देखि ११ गते सम्मको भारत भ्रमणको बेला भारतीय फौजी चेकपोस्ट उत्तरी सीमानामा १७ ठाउँ राख्ने लिखित सम्झौता गरेर आएको प्रसंगसमेत उठाए । 'किर्तिनिधि विस्टले २०२६ सालमा थाहा पाएपछि त्यसलाई पत्राचार गर्नुभयो र पत्राचारमार्फत हटाउन लगाउनु भयो,' ओलीले भने,'शेरबहादुर देउवाजीहरु प्रधानमन्त्री हुँदा अनधिकृत रुपमा विराटनगरमा मिसनको अफिस राखिएको थियो । उहाँहरु आँखा चिम्लेर बस्नुभएको थियो । मैले कुराकानी गरेर फिर्ता गरेँ ।'
उनले भारतसँगको अनावश्यक तनाव बढाउन खोजेको नभई कूटनीतिक संवादबाट भूमि फिर्ता ल्याउने खोजेको उल्लेख गरे । 'भारत एउटा छिमेकी मित्रराष्ट्र हो हामीभन्दा आकारप्रकार जनसंख्यामा ठूलो छ, विकासमा अगाडि छ । सामर्थ्यमा अगाडि छ । त्यस्तो देशसँग जो छिमेकी हो । त्यस्तो देशसँग अनावश्यक तनाव गर्न खोजेको होइन । हामीले मित्रता गर्न खोजेको हो । शेरबहादुरजीले भने जस्तो बन्दुक देखाउन खोजेको होइन, निहुँ खोज्न खोजेको होइन । कुनै अर्घेल्याइँ गर्न खोजेको होइन र पपुलिस्ट नारा लगाउन खोजेको पनि होइन,' उनले भने ।
राष्ट्रियताको सवाल, छिमेक सम्बन्धको सवाल कुनै हल्काफुल्का सौदाबाजीको वा अलिकति भोट प्राप्त गर्ने सवालका लागि नउठाइने उनले बताए ।
'यो गठबन्धनका नेताहरुजस्तो मेरो शैली पनि होइन र मेरो पार्टीको शैली पनि होइन। हामी त्यसरी कुरा उठाउँदैनौं । हामीले हाम्रो पहिले भूभाग कहाँसम्म थियो त्यो छोडिदिउँ तर सुगौली सन्धिले नेपालको भूमि जहाँसम्म दियो त्यसअनुसारको जमिन हामीले १४६ वर्षसम्म भोगचलन गर्यौं- लिम्पियाधुरा, लिपुलेक र कालापानी' उनले भने, 'सन् १९६२ देखि यताको ६० वर्ष भारतले त्यसलाई आफ्नो नियन्त्रणमा राखेको हो । त्यो नेपालको भूमि फिर्ता ल्याउने कुरा कुनै चुनावी स्टन्ट हो र ? यो केहि भोट पाउनका लागि छापिएको नक्सा हो र ? केहि भोट पाउनका लागि संविधान संशोधन गरिएको हो र ? यो कुनै स्टन्ट हो र ? कुनै खेलाँची हो र ? हाम्रो भौगोलिक अखण्डता रहनुपर्छ । हाम्रो भूमि हामीले फिर्ता पाउनुपर्छ ।अनि यसमा भारत रिसाउनुपर्ने कुरा छ र ?'
(दलहरुको कसको कति सिट आउँछ ? आउँदो सरकारको समीकरण कस्तो हुन्छ ? यस्ता विषयमा ओलीले तथ्यांकसहित गरेको प्रक्षेपण समेतको विस्तृत अन्तर्वार्ता बिहीबार कान्तिपुर दैनिक र ईकान्तिपुरमा प्रकाशित हुनेछ ।
