बांकेमा कांग्रेसको संकल्पपत्र सार्वजनिक

कार्तिक २९, २०७९

रुपा गहतराज

नेपालगन्ज — नेपालगन्ज डुडुवा क्षेत्र समेटिएको बाँके क्षेत्र नं. २ का कांग्रेस उम्मेदवारले १० शीर्षकमा विभिन्न विषय समेटेर संकल्पपत्र सार्वजनिक गरेका छन्।

कांग्रेसले शिक्षा, स्वास्थ्य, कृषि, खानेपानी तथा सरसफाइ, पर्यटन, युवा स्वरोजगार तथा खेलकुद, भौतिक पूर्वाधार तथा सडक, आर्थिक विकास, महिला तथा पछाडि परेको समुदाय लगायत विषय संकल्पपत्रमा समेटिएको छ।

क्षेत्र नं २ का उम्मेदवार सुदीपनरसिंह राणा, प्रदेशसभाका उम्मेदवारद्वय राजकुमार बर्मा र सुरेन्द्रबहादुर हमालको उपस्थितिमा पार्टी कार्यालयमा कार्यक्रम गरेर कांग्रेसले संकल्पपत्र सार्वजनिक गरिएको हो।

शिक्षामा कांग्रेसले महेन्द्र बहुमुखी क्याम्पसलाई नेपालगञ्ज विश्वविद्यालयको रुपमा स्तरोन्नति गर्ने, मंगलप्रसाद कन्या क्याम्पसका छात्रालाई उपयोगी नवीन विषय अध्ययनका लागि प्रोत्साहित गर्न आवश्यक सहयोग गर्ने, सरकारी विद्यालयमा गुणस्तरीय शिक्षाका लागि विषयगत शिक्षकलाई प्रशिक्षण तथा उपयुक्त प्रविधि प्रयोगमा सहयोग गर्ने, भेरी प्राविधिक शिक्षालयलाई स्तरोन्नति गर्दै समय सुहाउँदो प्राविधिक उच्च शिक्षा अध्ययन प्रतिष्ठानको रुपमा विकास गर्ने, डुडुवामा नैतिक शिक्षाका लागि संस्कृत, उर्दु र अवधी भाषालाई प्रोत्साहन गरी सोको कार्यान्वयन गर्ने उल्लेख गरिएको छ।

स्वास्थ्यमा भेरी अस्पताललाई मेडिकल कलेजको रूपमा रुपान्तरण गर्न उच्च प्राथमिकता दिने, नेपालन्ज र डुडुवामा स्वास्थ्य बिमालाई सरल र सुलभ बनाई यसमा नागरिकको पहुँच विस्तार गर्ने, प्रत्येक नागरिकको स्वास्थ्य सेवामा पहुँचको अवधारणालाई दृष्टिगत गरी तत्काल आकस्मिक स्वास्थ्य सेवा प्रदान गर्न नेपालगन्ज र डुडुवा क्षेत्रअन्तर्गत स्वास्थ्य केन्द्रमा एम्बुलेन्स उपलब्ध गराउने रहेको छ।

कृषिमा नेपालगन्ज र डुडुवाका किसानका लागि सहज रूपमा मलखाद, बिउविजन भण्डारण र वितरण व्यवस्थाका सुनिश्चितताका लागि पहल गर्ने, भूउपयोग नीति निर्माण गरेर जग्गालाई कृषि, उद्योग, आवास क्षेत्रमा वर्गीकरण गरी कार्यान्वयन गर्ने, घरमा उत्पादन हुने फोहोरबाट कम्पोष्ट मल बनाई करेसाबारी तथा कौसी खेतीलाई प्रवर्द्धन गर्ने, सिक्टा सिञ्चाइको मूल नहर तथा शाखा नहर निर्माणको काम तत्काल सम्पन्न गरेर सिञ्चाइ सुविधाको व्यवस्था मिलाई नेपालगन्ज तथा डुडुवा क्षेत्रमा अन्नबाली, तरकारी तथा फलफूल उत्पादन वृद्धिका साथै यस क्षेत्रलाई सफा र हराभरा बनाउने, नेपालगञ्ज ग्रामीण वडा तथा डुडुवालाई तरकारी पकेट क्षेत्रको रुपमा विकास गर्ने पनि संकल्पपत्रमा उल्लेख छ।

यस्तै खानेपानी तथा सरसफाइ, पर्यटन विकास, ऐतिहासिक सम्पदा संरक्षण र पूर्वाधार निर्माणका विषय पनि संकल्पपत्रमा समेटिएका छन् ।

साथै भौतिक पूर्वाधार तथा सडकमा नेपालगन्ज चक्रपथ (रिङरोड) निर्माणलाई उच्च प्राथमिकतामा राखेर काम अगाडि बनाउनुका साथै नेपालगन्ज बजार जोड्ने सडक विस्तार गर्ने, राप्ती नदी तथा डुडुवा खोलामा भरपर्दो तटबन्धको व्यवस्था गर्न पहल गर्ने, होलियाबाट चौफेरी जोड्ने डुडुवा नदी तथा चौफेरीबाट मटेहिया राप्ती नदीमा पक्की पुल निर्माण गर्ने बाचा गरिएको छ।

रुपा गहतराज कान्तिपुरकी बाँके संवाददाता हुन् ।

Link copied successfully