२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९२

शान्ति प्रक्रियाका बाँकी काम पूरा गर्न गठबन्धन आवश्यक : प्रधानमन्त्री देउवा

ज्योति कटुवाल

सुर्खेत — प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले शान्ति प्रक्रियाका बाँकी काम पूरा गर्न गठबन्धन आवश्यक भएको बताएका छन् । संविधानको रक्षा, स्थायित्व र शान्तिका लागि लोकतान्त्रिक–वाम गठबन्धन निर्माण भएको बताउँदै यो दीर्घकालसम्म रहने उनको भनाइ छ ।

शान्ति प्रक्रियाका बाँकी काम पूरा गर्न गठबन्धन आवश्यक : प्रधानमन्त्री देउवा

उनले पाँच दलीय गठबन्धन संविधानको पूर्ण पालना गर्दै स्थिर सरकार निर्माण, शान्ति प्रक्रियाका बाँकी कामहरुको पूर्णता र तीव्र आर्थिक विकासमा केन्द्रित हुने पनि बताए । ‘संसद्‌लाई सरकारको विरोध गर्ने, आलोचना गर्ने, संसद्‌मा सरकारविरुद्ध अविश्वासको प्रस्ताव ल्याउने हक छ,’ सुर्खेतको मेहलकुनामा आयोजित चुनावीसभालाई सम्बोधन गर्दै देउवाले भने, ‘त्यसैले शंका नगरेर गठबन्धनका उम्मेदवारहरुलाई विजयी गराउन आग्रह गर्दछु ।’

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले अहिलेको गठबन्धनलाई पाँच पाण्डव भनेर सम्झिए पुग्ने बताए । उनले पाँच ‘पाण्डव’विरुद्ध ‘कौरव’हरुको समूह देखा परेकाले एकढिक्का भएर अगाडि बढ्न सुझाव दिए । उनले गठबन्धनले संविधानको रक्षा गर्दै कोरोना नियन्त्रण, संविधानको मर्म र भावनाअनुसार स्थानीय तहको निर्वाचन सम्पन्न सफल भएको बताए ।

दाहालले निर्वाचनमार्फत अहिलेको गठबन्धनलाई अझै बलियो बनाउँदै लगिने बताए । ‘अहिलेको परिवर्तन सानो दुःखले आएको होइन्, १२ बुँदे बिस्तृत शान्ति सम्झौतापछि देश नयाँ युगमा प्रवेश गरेको हो,’ उनले भने, ‘यसलाई उल्ट्याउने कुनै दुस्प्रयास हाम्रा लागि सैह्य छैन ।’

‘गठबन्धनको मूल सूत्रधार कर्णाली प्रदेश हो,’ उपसभापति खड्काले भने, ‘नयाँ बन्ने गठबन्धन सरकारले गठबन्धनको सूत्रधार कर्णालीलाई केन्द्रको बजेटमा पहिलो प्राथमिकतामा राख्छ ।’

उपसभापति खड्काले कर्णाली प्राकृतिक स्रोत–साधनले सम्पन्न भए पनि भौतिक पूर्वाधारमा पछाडि परेकाले केन्द्रको बजेटमार्फत कर्णालीलाई पूर्वाधार सम्पन्न बनाइने बताए ।

प्रकाशित : कार्तिक २९, २०७९ १६:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?