अन्तर्वार्ता

'संसदीय अनुभव र योगदान नै विजयको आधार हो'

कान्तिपुर संवाददाता

चितवन — कृष्णभक्त पोखरेल चितवनका परिचित कानुन व्यवसायी हुन् । ७० सालयता उनले संविधानसभा सदस्य र प्रतिनिधिसभा सदस्यको हैसियतले संविधान र कानुन निर्माणमा भूमिका खेले । विसं २०२४ सालमा जन्मेका पोखरेलले कानुनमा स्नातक गरेका छन् । उनी वरिष्ठ अधिवक्ता पनि हुन् । प्रतिनिधिसभा सदस्य पदका लागि चितवन–२ बाट उम्मेद्वार भएर पोखरेल लगातार तेस्रोपटक मतदाता सामु गइरहेका छन् ।

'संसदीय अनुभव र योगदान नै विजयको आधार हो'

चितवन–२ मा पोखरेलसहित सत्तारुढ गठबन्धनबाट नेपाली कांग्रेसका उमेश श्रेष्ठ उम्मेद्वार छन् । नवगठित राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय अध्यक्ष रवि लामिछाने पनि यहीँबाट उठेका छन् । राप्रपाका रविन अधिकारीसहित चितवन–२ मा प्रतिनिधिसभा सदस्यका लागि ६ जना स्वतन्त्रसहित १६ जना उम्मेद्वार प्रतिस्पर्धामा छन् । पटक-पटक उम्मेद्वार हुनुको कारण र भावी योजनाका विषयमा पोखरेलसँग रमेशकुमार पौडेलले गरेको कुराकानी :

तपाईं नौ वर्षअघि संविधानसभा सदस्य र पाँच वर्षअघि प्रतिनिधिसभा सदस्यमा निर्वाचित भइसकेको व्यक्ति हो । फेरि यही चितवन–२ बाटै प्रतिनिधिसभाका लागि किन उम्मेद्वार हुनुभएको छ ?

चितवन मेरो जन्मथलो, कर्मथाले सबै हो । यहीँबाट राजनीति अगाडि बढाएँ । कानुन व्यवसायी हुँ । ज्ञान र अनुभव देखेर पार्टीले ७० सालमा संविधान निर्माणका लागि उम्मेद्वार बनायो । मतदाताले ठूलो विश्वासले जिताउनु भयो । संविधानको मस्यौदा समितिको सदस्यमा रहेर काम गरें । संविधान बन्यो । ७४ सालमा त्यस्तै विश्वासका साथ मतदान गरेर विजयी बनाउनुभयो । मुलुकी अपराध संहितको मस्यौदा समितिको संयोजक भएर काम गरें ।

मैले प्रतिनिधिसभा नियमावली मस्यौदा समितिको संयोजकका रुपमा काम गरें । प्रतिनिधिसभा कानुन, न्याय तथा मानवअधिकार समितिको सभापति भएर पनि काम गरें । मैले आफ्नो ज्ञान र विकेकलाई कानुन निर्माण र अन्य भूमिकामा इमान्दार भएर कार्यन्वयनमा ल्याएँ । संसदले खेल्ने महत्वपूर्ण भूमिकामा चुक हुन दिइन । दुईसय जति कानुन निर्माण गर्नुपर्ने थियो । १७६ कानुन बनाएँ ।

पहिला चितवन–३ को चञ्डिभञ्ज्याङमा तीनसय मिटरभन्दा बढी बाटो थिएन । काउलेमा एक घरमा पनि बत्ती थिएन । दाहखानीका डाँडाहरुमा बत्ती थिएन । आज चञ्डिभञ्याङमा बाटो पुगेको छ । धेरै ठाउँमा बिजुली बत्ती पुगेको छ । पूर्वाधारका क्षेत्रमा शक्तिखोर फिस्लिङ पहाडी सडक, भरतपुरमा राजमार्ग विस्तारका काम अगाडि बढेका छन् । कालिका नगरपालिका र इच्छाकामाना गाउँपालिकामा धेरै कामहरु भए, केही बाँकी छन् । इच्छाकामना गाउँपालिका क्षेत्रमा वर्खामा पनि गाडी चल्नसक्ने बनाउनु छ । स्थानीयको समस्याहरुसँग एकाकार भएको छु । समाधानको प्रयास गरे । बाँकी रहेका योजनाहरु पुरा गराउन सक्ने विश्वास छ । त्यसैले पार्टीले मलाई उम्मेद्वार बनाएको हो ।

मतदाताले दोहरिएर आउने उम्मेद्वारलाई भन्दा नयाँलाई मन पराउने, पुराना दलभन्दा नयाँ दलसँग आकर्षित भए जस्तो देखिन्छ । मतदाताको मन जित्न कत्तिको गाह्रो भएको छ ?

म उमेरले बूढो छैन । यसअघि पनि सांसद भएको भन्ने कुराले त झन् सकारात्मक प्रभाव पर्ने देख्छु । मुख्य कुरो मेरो भूमिका के रह्यो भन्ने हो । त्यसमा असन्तुष्ट हुने ठाउँ छैन । प्रतिस्पर्धी उम्मेदवारहरु भन्दा म कुन मानेमा कम छु ? पढाइ लेखाइ, युवा भावनाको प्रतिनिधित्व गर्ने कुरा र महिला बालबालिकाको मुद्दाहरुमा म कोभन्दा कम रहें ? मतदातालाई मूल्यांकन गर्नुभएको छ । यसअघि पनि प्रतिनिधि भएको कुराले संसदीय प्रक्रिया, बजेट विनियोजनाको विषयमा जानकारी रहने भयो । यो जानकारी र अनुभवलाई जनताको पक्षमा प्रयोग गर्न म प्रतिबद्ध छु । हाम्रो जनाधार कायम नै छ ।

तपाईंको निर्वाचन क्षेत्र चितवन–२ मा विकट पहाडी भूभाग र सदरमुकाम भरतपुरको सहरी क्षेत्र समावेश छ । पहाडमा आधारभूत सुविधा पनि पुगेन, सहरमा ठूला पूर्वाधारका काम भएनन् भन्ने जनगुनासो छ नि ।

पहाडी क्षेत्रमा धेरै काम भएको हो । केही बाँकी छ । केही भेगमा बिजुली नपुग्नुमा बजेट नभएर हैन ठेकेदारले काम राम्रोसँग नगरेर हो । महानगरमा ल्याण्डफिल साइट र रिङरोड बनाउन प्रयासरत छौं । जीवनस्तर सुधार्न अझै पनि नसकेको हो ।

नेकपा एमालेले केन्द्रीय घोषणापत्र ल्याएको छ । त्यसका आधारमा पनि कार्यक्रमहरु बनेका छन् । एमालेको सरकार बनेमा हामी जीवनस्तर बदल्ने धेरै काममा अग्रसर हुने छौं । संघीय सरकारले चितवनको आवश्यकतालाई पुरा गर्नुपर्ने नीतिगत विषय र बजेट प्रबन्ध गर्ने सवालमा म आउँदा दिनमा सक्रिय रहने छु ।

चितवन–२ मा विगतमा एमालेको राम्रो प्रभाव भएको ठाउँ हो । तर स्थानीय निर्वचनको नतिजाले धेरै मतदाता रहेको भरतपुर महानगरमा एमालेलाई कमजोर देखायो । पार्टीमा आएको फुट र पार्टीभित्रैको असहयोगले महानगरमा एमाले पराजित भयो भन्ने गरिन्छ । त्यसको प्रभाव यो चुनावमा पर्छ ?

स्थानीय निर्वाचनमा चितवन–२ का तीन स्थानीय तहमध्ये कालिका नगरपालिका र इच्छाकामाना गाउँपालिकामा हाम्रो नतिजा राम्रो रहयो । भरतपुरमा सोचे जस्तो नभए पनि धेरै मतदाता रहेका वडाहरुमा हाम्रो प्रभाव गुमेको अवस्था हैन । त्योबेला एमालेबाट अलग पार्टीमा लागेका भरतपुरका धेरै साथीहरुलाई हामीले समेटेका छौं । अहिले त एमालेमा गुट भन्ने नै छैन । समग्रमा अहिले हामी राम्रो अवस्थामा छौं । फुट र गुटको असर पर्दैन ।

प्रकाशित : कार्तिक २९, २०७९ १९:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?