ओनसरीको घोषणापत्र : तीनकुनेमा अन्तर्राष्ट्रियस्तरको पार्कदेखि गृहिणीसम्मका लागि प्रतिबद्धता

कार्तिक २२, २०७९

कान्तिपुर संवाददाता

काठमाडौँ — कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादीको गठबन्धनबाट काठमाडौं-२ की प्रतिनिधिसभा सदस्य उम्मेदवार ओनसरी घर्तीमगरले निर्वाचन घोषणापत्र जारी गरेकी छन् । पूर्वसभामुख रहेकी माओवादी नेता घर्ती काठमाडौं-२ बाट प्रतिनिधिसभा उम्मेदवार छन् ।

वाम-लोकतान्त्रिक गठबन्धनबाट काठमाडौं-२ का लागि जारी घोषणापत्रमा घर्तीले आफूले गर्ने कामको सूची सार्वजनिक गरेकी हुन् । उनले निर्वाचन क्षेत्रका स्थानीय समस्या समाधान गर्ने प्रतिबद्धतासहित घोषणापत्र ल्याएकी छन् । उनले घोषणापत्रमा मनोहरा करिडोर, पेप्सीकोला–सिनामगंल टनेल निर्माण र जडिबुटी–तीनकुने अन्डर पास बनाई कोटेश्वरको ट्राफिक जाम न्यूनीकरण गर्ने प्रतिबद्धता व्यक्त गरेकी छन् । 

काठमाडौं-२ का आवश्यक स्थानलाई मेलम्ची खानेपानी आयोजनामा जोड्न पहल गर्ने पनि उनको घोषणापत्रमा उल्लेख छ । 'तीनकुने मुआब्जा समस्या समाधान गरी उक्त स्थानमा अन्तर्राष्ट्रियस्तरको पार्क निर्माण गर्ने । स्थानीय, प्रदेश तथा संघीय सरकारको समन्वयनकर्ताको भूमिका निर्वाह गरी फोहर र ढल व्यवस्थापन गर्ने,' उनको घोषणापत्रमा लेखिएको छ, 'साँखु –फड्केश्वर सडकलाई पूर्णता दिई मध्यपहाडी लोकमार्ग सडकसँग जोड्ने । साँखु–बज्रयोगिनी–घुमारचोक– डाँडाकटेरी–चौकी भज्याङ–धारापानी–पटाप–कुण्डेश्वर–सिन्धुपाल्चोक सडक निर्माणलाई पूर्णता दिने । इन्द्रायणीसाना गाउँ–भुल्बु–घुमारचोक–मणिचूड–चिसापानी सडक स्तरोन्नती गर्न पहल गर्ने । यस क्षेत्रका बाटो नपुगेको ठाउँमा नयाँ बाटो र पुगेको ठाउँमा मर्मत सम्भार तथा पिच गर्ने ।'

लामो समयदेखि काठमाडौं तीनकुनेमा पार्क बनाउने भन्ने एजेन्डा निर्वाचनका घोषणात्रपमा परे पनि अझैसम्म निर्माण हुन नसकेको अवस्थामा घर्तीले पनि आफ्नो चुनावी घोषणापत्रमा राखेकी छन् । आफू निर्वाचित भए शंखरापुर नगरपालिकाको वडा ३ स्थीत जहरसिंहपौवामा सुविधासम्पन्न अस्पताल निर्माण गर्ने पनि घर्तीले घोषणा गरेकी छन् । प्रत्येक घरमा शुद्ध खानेपनीका लागि निर्वाचन क्षेत्रभित्र विभिन्न खानेपानी आयोजना निर्माण र पूर्णता दिने भनिएको छ । खेलकुद पार्क, खेलकुद एकेडेमी तथा वैकल्पिक राष्ट्रिय रगंशाला निर्माण गरी खेल पर्यटनको पर्बर्धन गर्ने पनि भनिएको छ । 

घर्तीले दिगो विकास र समावेशी अर्थतन्त्रका लागि प्रतिबद्धता व्यक्त गरेकी छन् । उनले काठमाडौं-२ को दिगो विकासका लागि आवश्यक नीति, कार्यक्रम र पूर्वाधार निर्माणमा आफूले जोड दिने घोषणापत्रमार्फत प्रतिबद्धता व्यक्त गरेकी छन् । 

सस्तो, भरपर्दो र स्वच्छ ऊर्जाको लागि नीति निर्माण गर्ने पनि घोषणा गरेकी छन् । त्यस्तै, रोजगारी स्थापना गर्नका लागि 'स्टार्ट अप' कार्यक्रम लागु गर्ने भनिएको छ । 'साना व्यवसायको सुरक्षा र प्रबर्धनका लागि नीति निर्माण गर्ने र ‘स्टार्टअप लगानी कोष’ को स्थापना गर्ने,' घोषणापत्रमा भनिएको छ, 'गृहिणी र स्वरोजगारका लागि उद्यममा आधारित सीपमुलक तालिम सञ्चालन गर्ने । सामूहिक कृषि, उत्पादन र वितरणको अवधारणा ल्याउने र कृषिको आधुनीकिकरण र व्यावसायिकीकरण गर्ने ।'

सरकारी तथा सामुदायिक विद्यालयमा भौतिक तथा प्राविधिक पूर्वाधार र शैक्षिक गुणस्तरको सुधार गरी सबै सरकारी शैक्षिक संस्थालाई विद्यार्थी र अभिभावकको पहिलो रोजाइ बनाउन पहल गर्ने पनि घर्तीको घोषणापत्र छ । 'सिमान्तकृत गरिब समुदायका घरपरिवार लक्षित पौष्टिक आहार, सुत्केरी स्याहारलगायतका विषेश कार्यक्रम संचालनमा ल्याइने । ‘प्रत्येक नागरिक स्वस्थ नागरिक’ अभियानअन्तर्गत खुला 'जीम'को व्यवस्थापन गर्ने,' घोषणापत्रमा उल्लेख छ । 

काठमाडौं- २ मा प्रतिनिधिसभा सदस्यका लागि माओवादी केन्द्रकी ओनसरी घर्ती उम्मेदवार छन् । यो क्षेत्रको बागमती प्रदेशसभाका लागि काठमाडौं २ (१) मा कांग्रेसका ध्रुव केसी र काठमाडौं २ (२)मा एकीकृत समाजवादीका भरतप्रसाद फुयाँल उम्मेदवार छन् । 



आमनिर्वाचन २०७९

कान्तिपुर

Link copied successfully