ललितपुरको सांस्कृतिक वैभवलाई आर्थिक उपार्जनसँग जोडौँ : मन्त्री भुसाल

कार्तिक २१, २०७९

कान्तिपुर संवाददाता

काठमाडौँ — ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले ललितपुरको सांस्कृतिक वैभवलाई आर्थिक उपार्जनसँग जोडेर ललितपुरलाई समृद्ध बनाउन सकिने बताएकी छिन् । 

आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनमा वाम–लोकतान्त्रिक गठबन्धनका तर्फबाट ललिपतुर क्षेत्र नं ३ को साझा उम्मेदवारसमेत रहेकी मन्त्री भुसालले यहाँको मूर्त तथा अमूर्त कला संस्कृतिको संरक्षणमा उल्लेख्य भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरिन् ।

केपी शर्मा ओली नेतृत्वको सरकारले गुठियारसँग छलफल नै नगरी एकलौटी रूपमा यहाँको कला संस्कृतिमाथि अतिक्रमण गर्ने गरी गुठी विधेयक ल्याउँदा आफूले संसद्बाट प्रतिरोध गरेको उनले बताइन् । 'मैले त्यतिबेला पनि संसद्मा गुठियारसँग छलफल नगरी ल्याएको विधेयक फिर्ता गर्न र सम्बन्धित पक्षसँगको समन्वयबाट मात्र विधेयक अगाडि बढाउन आग्रह गरेको यहाँहरुले सुन्नुभएकै छ,' उनले भनिन् । 

ललितपुर महानगरपालिका वडा नं २० र १० भित्र आयोजित घरदैलो कार्यक्रममा उनले सांस्कृतिक नगरीका रुपमा रहेको ललितपुरमा पर्यकटीय सम्भावना उच्च रहेको र यसको अधिकतम् सुदपयोग गर्नुपर्ने बताइन् । ललितपुरवासीको समृद्धिको आकाङ्क्षा पूरा गर्ने अभिभावकीय जिम्मेवारी निर्वाह गर्ने उद्देश्यले आफू फेरि निर्वाचनमा आएको जनाउँदै उनले नगरवासीको चाहना पूरा गर्न कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता व्यक्त गरिन् ।

काठमाडौं उपत्यकामा रहेको शुद्ध पिउने पानीको समस्या समाधान गर्न आफूले निरन्तर पहल गर्दै आएको स्मरण गराउँदै उम्मेदवार भुसालले खानेपानी समस्याको दीर्घकालीन समाधान खोज्न आफू लागि पर्ने बताइन् । राजधानीभित्रै रहे पनि आफ्नो क्षेत्रमा खानेपानी, बेरोजगारी, अव्यवस्थित शहरीकरणलगायत समस्यालाई आफूले नजिकबाट नियालेको र आगामी दिनमा त्यस्ता समस्या समाधान गरिने प्रतिबद्धता व्यक्त गरिन् ।

कान्तिपुर

Link copied successfully