मुख्यमन्त्रीका आकांक्षी पुनलाई एमाले र माओवादी ‘विद्रोही’ को चुनौती


रोल्पा — मंसिर ४ मा हुने प्रदेशसभा सदस्य निर्वाचनमा रोल्पा–१(२) मा सत्ता गठबन्धन दलका साझा उम्मेदवार अमरसिंह पुनविरुद्ध माओवादी केन्द्रका विद्रोही नेता स्वतन्त्रबाट उम्मेदवार बनेपछि यहाँको निर्वाचन रोचक बन्ने भएको छ ।


माओवादी केन्द्रको सहयोगमा साझा उम्मेदवार बनेका कांग्रेस प्रदेश सभापति पुनविरुद्ध माओवादी केन्द्रका पोलिटब्युरो सदस्य दिपेन्द्रकुमार पुनले स्वतन्त्र उम्मेदवारी दिएकाले गठबन्धन दलबीच साझा चुनावी योजना बन्न सकेको छैन । पुन लुम्बिनी प्रदेशका मुख्यमन्त्रीका आकांक्षीसमेत हुन् ।
दिपेन्द्रलाई पार्टीको निर्णय नमानेकामा पार्टीको साधारण सदस्यबाट कारबाही गरी हटाइएको निर्णय सुनाए पनि स्थानीय तहका कार्यकर्ताले उनलाई नै साथ दिने निर्णय गरेका हुन् । साथै विद्रोही उम्मेदवार बनेकाले त्यसबाट पछि नहट्न र बरु अघि बढ्न दबाब दिँदै आएका छन् । ‘पार्टीले कारबाही गर्नु सामान्य औपचारिकताको कुरा हो, मलाई मेरै कार्यकर्ता र नेताले निर्वाचनमा उम्मेदवार होऊ भनेकाले म उम्मेदवार बनेको हुँ,’ पार्टीले कारबाही गरेको सूचना सार्वजनिक भएपछि दिपेन्द्रले भने ।
गठबन्धनको निर्णय कार्यान्वयन गराउन कांग्रेस र माओवादी केन्द्रका नेता र कार्यकर्ताले पटक–पटक बैठक बस्ने, संयुक्त राजनीतिक गतिविधि गर्ने र चुनावी एकतालाई अर्थपूर्ण टुंगोमा पुर्याउने कार्यमा ध्यान केन्द्रित गरेका छन् । यस क्रममा दुवै दलका नेता साथै गाउँ पुग्ने र भेला र बैठक आयोजना गर्ने गरेका छन् । तर माओवादी केन्द्रका तल्लो तहका नेता र कार्यकर्तामा गठबन्धनको निर्णयप्रति न रुचि देखिएको छ, न त आकर्षण देखिएको छ । उल्टै कतिपय नेता र कार्यकर्ताले विद्रोही उम्मेदवार दिपेन्द्रका पक्षमा प्रचार बढाएका छन् । उनी समर्थक नेता कार्यकर्ताले भित्रभित्रै चुनावी अभियान चलाउँदै आएका छन् ।
केन्द्रीय गठबन्धन कार्यदलको निर्णयअनुसार रोल्पाको दुई प्रदेश क्षेत्रमध्ये एउटा क्षेत्र, रोल्पा–१(२) मा कांग्रेसका उम्मेदवार उठाउने केन्द्रीय तहमा सहमति भएको थियो । त्यसअनुसार उक्त क्षेत्रमा कांग्रेसले प्रदेश सभापति पुनलाई उम्मेदवार बनाएको हो । तर उक्त निर्णय तल्लो तहमा जानकारी हुनेबित्तिकै माओवादी केन्द्रका कार्यकर्ता विभाजित अवस्था देखिएका हुन् । गठबन्धनको निर्णयप्रति आक्रोश देखिएपछि नेता दिपेन्द्रले उम्मेदवार हुने निर्णय गरेका थिए । जिल्लाको अर्को क्षेत्रमा भने माओवादी केन्द्रका स्थायी समितिका सदस्य जोखबहादुर महरालाई साझा उम्मेदवार बनाइएको छ । उक्त क्षेत्रका कांग्रेस कार्यकर्तामा पनि अलमल देखिएको छ । दुई कांग्रेसबीच एकीकरण गर्ने क्रममा बाँकी रहेको मनमुटाव अझै पनि देख्न सकिन्छ । पार्टीभित्रै दुई धार देखिएपछि कांग्रेसका जिल्ला र गाउँ तहका कार्यकर्तामा मतदान गर्दा विभाजित हुने मनोविज्ञान एवं अवस्था देखिएको हो ।
रोल्पालाई माओवादी केन्द्रको आधार क्षेत्र मान्दै विद्रोही नेता दिपेन्द्रले कांग्रेसलाई कुनै हालतमा पनि उम्मेदवार बनाउन नहुने दाबी गर्दै स्वतन्त्र उम्मेदवारी दर्ता गरेका थिए । पार्टीको स्वीकृतिबिना स्वतन्त्र उम्मेदवारी दर्ता गराउनु पर्ने अवस्था भए पनि उनले पार्टीकै कार्यकर्ताको मतबाट जित हासिल गर्ने योजना बनाएका छन् । ‘यो क्षेत्रबाट कांग्रेसलाई उम्मेदवार बनाउनुहुन्न भन्ने कार्यकर्ताको चेतावनी र धारणा भएकाले म उम्मेदवार हुन तयार भएको हुँ । यो कुरा पार्टीको माथिल्लो तहसम्मै जानकारी गराइएको हो,’ दिपेन्द्रले भने । उनले चुनावी प्रचार रोकेका छैनन् । गत स्थानीय तहको निर्वाचनमा गठबन्धन गर्ने विषयमा कांग्रेस र माओवादी केन्द्रबीच चिसिएको सम्बन्ध अझै सुधार हुन सकेको छैन ।
दिपेन्द्र उक्त क्षेत्रका निवर्तमान सांसद पनि हुन् । उनले २०७४ को निर्वाचनमा कांग्रेसका खगेन्द्र हमाललाई पराजित गरेका थिए । तत्कालीन माओवादी सशस्त्र द्वन्द्वका बेला विस्फोटमा परी एउटा हात र अर्को हातका औंला गुमाएका उनी पार्टीको घाइते र अपांग समितिका केन्द्रीय इन्चार्जसमेत थिए । उनका छोरा आलोक पुनले प्रदेश सांसद भएका बेला जिल्लाको सबै स्थानीय तह, सबै गाउँमा विकासे योजनासहित आफ्नो बुबा दिपेन्द्र पुगेकाले उनले जित्ने निश्चित भएको दाबी गरे । ‘उहाँले जित्नु भनेको माओवादी आन्दोलनका घाइते, अपांग र पार्टीका इमान्दार कार्यकर्ताको जित हुनु हो,’ उनले भने ।
कांग्रेस नेता तथा गठबन्धनका साझा उम्मेदवार अमरसिंहले पनि आफ्नो जितमा ढुक्क भएको बताउँछन् । ‘म यस क्षेत्रमा विकास गर्नुपर्छ भनेर उम्मेदवार भएको हुँ, आफ्नो व्यक्तिगत फाइदाका लागि म अन्यत्र पनि जान सक्थेँ,’ उनले भने । यहाँबाट जित हासिल गरेपछि प्रदेश सरकारको मुख्यमन्त्री हुने आकांक्षा राखेका उनले माओवादीको साथ पाएकाले दोब्बर मतले जित्ने दाबी गरे । सुशील कोइराला प्रधानमन्त्री भएका बेला सिंचाइ राज्यमन्त्री भएका अमरसिंहले छोटो अवधिमा कांग्रेसको माथिल्लो तहमा पुग्ने मौका पाएका हुन् ।
राजनीतिमा आउनुअघि निर्माण व्यवसायी रहेका उनले पार्टीभित्रैका थुप्रै प्रतिस्पर्धीलाई समेत पछि पार्दै जिल्ला र प्रदेश तहको नेतृत्वमा पुग्न सफल भएका हुन् । तर गठबन्धनबाट निर्वाचनमा भाग लिइरहँदा माओवादी केन्द्रका नेता कार्यकर्ताबाट धोका पाइने हो कि भन्नेमा उनी यतिबेला बढी चिन्तित छन् । ‘कांग्रेस र माओवादी केन्द्रबीच विभाजित मानसिकता छ, कार्यकर्ता बाँडिएका छन् । त्यस क्रममा उनले जित्नु एक ठूलो सफलता हुनेछ,’ कांग्रेसका एक जिल्ला नेताले भने ।
कांग्रेस र माओवादी केन्द्रबीच विभाजित मानसिकता रहेका बेला मत आफ्नो पक्षमा आउने आशामा एमालेका उम्मेदवार प्रेम घर्ती छन् । ‘म युवा हुँ, इमान्दार छु । युवाले मलाई साथ दिने वचन दिएका छन्,’ उनले भने । पहिलोपटक संसदीय निर्वाचनमा भाग लिएका उनी एमालेका प्रदेश सदस्य हुन् । विगतमा विद्यार्थी र पार्टीको गाउँ हुँदै जिल्ला तहका नेतृत्वमा पुगेर अनुभव सँगालेका उनी गठबन्धनलाई प्रभावित पार्दै मत आफ्नो पक्षमा ल्याउने दाउमा छन् । जिल्लामा दुई चिरामा कांग्रेस नेतृत्व बाँडिनु र माओवादी केन्द्रका नेताले विद्रोही उम्मेदवारी दिनु आफ्ना लागि राजनीतिक फाइदाको विषय भएको उनको ठहर छ ।
यस क्षेत्रमा मतका आधारमा माओवादी केन्द्र, कांग्रेस र एमाले क्रमश: पहिलो, दोस्रो र तेस्रो अवस्थामा छन् । एकीकृत समाजवादीका जिल्ला अध्यक्ष हरिप्रसाद घर्तीमगरले गठबन्धन भए पनि यो पटकको निर्वाचन रोचक हुने बताए । लुम्बिनी प्रदेशमा गठबन्धनका पक्षबाट आफ्ना उम्मेदवार उठाउन कांग्रेस र माओवादीले साथ नदिएको दाबी गर्दै उनले शक्तिका भरमा व्यवहार गर्नु राम्रो नहुने बताए । जसले जिते पनि जिल्लाको विकासमा इमान्दार भएर ध्यान दिनुपर्ने अवस्था रहेको उनले बताए ।
तस्बिर : काशीराम डाँगी/कान्तिपुर
