काठमाडौँ — चुनावमा आफ्नो दल वा उम्मेदवारप्रति मतदाता आकर्षित गर्न आम समुदायको ध्यान खिच्न सक्ने व्यक्तिलाई चुनावमा 'स्टार क्याम्पेनर'को रुपमा अघि सार्ने चलन अन्य मुलुकहरुमा छ । चुनावहरुमा नेताको अनुहार देखाएर उनका लागि मत माग्ने र भावी सरकारको स्वरुप र त्यसका कार्यक्रमको खाका चुनाव अघि दलहरुले दिने गर्छन् । तर नेपालमा भने चुनावअघि नै दलहरुले घोषणापत्र सार्वजनिक गरे पनि भावी प्रधानमन्त्रीको रुपमा चुनाव अघि नै पार्टीले व्यक्ति तोक्ने अभ्यास विरलै छ ।
नेकपा एमालेले भने यसपटक विगतभन्दा पृथक् शैली अपनाएको छ । उसले अध्यक्ष केपी शर्मा ओलीलाई प्रतिनिधिसभा र प्रदेशसभा चुनावको मूल अभियानकर्ता 'स्टार क्याम्पेनर'को रुपमा अघि सारेको छ । भावी सरकारको प्रधानमन्त्री पनि ओली नै हुने घोषणामात्र गरेको छैन उक्त सरकारले गर्ने कामका सूची पनि सोमबार घोषणापत्रमार्फत ओलीले आफैंले सार्वजनिक गरेका छन् । मूल चुनावी नारा 'मंसिर चार, ओली सरकार' छ ।
विगतमा पार्टी कार्यालय वा कुनै पार्टीका फोरम मार्फत् चुनावी अभियान वा घोषणा पत्र सार्वजिनक गर्दै आएको एमालेले यसपटक भने 'कर्पोरेट शैली' अपनायो । घोषणा पत्र सार्वजनिक कार्यक्रमको सजावटदेखि सबै गतिविधि ओली केन्द्रित थियो । कम्युनिस्ट पार्टीको घोषणापत्र सार्वजनिक गर्ने स्थान पाँचतारे होटल थियो । त्यहाँ मूल गेटबाट छिर्ने बित्तिकै पिल्लर पिल्लरमा ओलीका पोस्टर र फ्लेक्स टाँगिएका थिए ।
विगतमा जस्तो कार्यक्रमको संचालन गर्ने पार्टीकै कुनै नेता थिएनन् । प्रोफेसनल कार्यक्रम प्रस्तोताको रुपमा पूर्व मिस नेपाल सदीक्षा श्रेष्ठलाई ल्याइएको थियो ।
डिजिटल प्लेटफर्मको अत्याधिक प्रयोग गरेर सञ्चालन गरि अन्य राजनीतिक दल भन्दा नयाँ प्रविधिको उपयोग गर्न र व्यवस्थित देखाउने कोसिस भएको थियो ।
अध्यक्ष ओलीले फिङगर प्रिन्ट स्क्यान गरेर घोषणापत्र सार्वजनिक गरे । सार्वजनजिक भएको घोषणा पत्र विगतमा जस्तै कसैले मौखिक वाचन गरेन । डिजिटल भिज्यूलाईजेसन गरियो । घोषणा पत्रमा मुख्य बुँदा सार्वजनिकपछि 'ओलीसँग लाइभ डिबेट' कार्यक्रम राखिएको थियो । जसको संचालक पूर्व बैंकर अनिलकेशरी शाह थिए । करिब २ घण्टा ओलीले शाह र अन्यले सोधेका प्रश्नका उत्तर दिए ।
कार्यक्रमको सम्पूर्ण डिजाइन ओलीलाई ब्रान्डिङ गर्ने खालको थियो । यसअघि एमालेको २०५६ सालको चुनावमा तत्कालीन एमाले अध्यक्ष मनमोहन अधिकारीलाई प्रधानमन्त्रीको रुपमा प्रोजेक्सन गरेको थियो । तर यो तहको क्याम्पेन मार्फत् हैन ।
एमालेले मंगलबार घोषणा गरेका कार्यक्रममा विगतमा ओली सरकारले गरेकै कामलाई उपलब्धीको रुपमा चर्चा गरेको छ । त्यही कामको आधारमा चुनाव लडेको र बाँकी काम गर्नका लागि ओलीकै सरकार आवश्यक पर्ने घोषणा पत्रको मूल् उद्देश्य छ । ४१ महिना सरकारमा नेतृत्व गर्दा गरेका ८२ वटा उपलब्धी एमालेको घोषणा पत्रमा छ ।
एमालेले ३० कार्यक्रमको घोषणा गरेको छ भने र २ सय ४७ वटा प्राथमिकता निर्धारण गरेको छ । लामो समयदेखि विवादको विषय बनेको नागरिकतामा रहेको समस्या ६ महिनामा समाधान गर्ने एमालेले घोषणा गरेको छ । त्यसैगरी आगामी ५ वर्षमा एमालेले गर्ने २० वटा 'ग्यारेन्टी'का विषय रहेका छन् ।
'एमालेले जारी गरेको घोषणापत्र यो जनतालाई अल्मल्याउन, छक्याउनका लागि होइन, यो देश विकासको मार्गचित्र हो,' घोषणापत्र सार्वजनिक गर्दै उनलेले भने, 'यो देश विकासको निम्ति एउटा संकल्प हो । देश विकासका निम्ति एउटा प्रतिबद्धता हो ।'
एमाले देश विकास गर्ने पार्टी भएको घोषणापत्रले पनि सोही कुरा देखाएको ओलीको भनाइ छ । उनले भने, 'एमाले विकासप्रेमी मात्रै होइन‚ विकासका लागि प्रतिबद्ध र क्रियाशील तथा नेतृत्व गर्न सक्ने पार्टी हो ।'
'नेपालीका लागि मात्रै नेपाली नागरिकता' भन्ने नारा एमालेले अघि सारेको छ । 'हाम्रो काम राष्ट्रिय गौरव बढाउन र सबै नागरिकताको सम्मानजनक जीवनस्तर हासिल गर्ने कार्यक्रममा केन्द्रित हुने छन्,' एमालेले भनेको छ, 'सरकार गठन भएको एक महिनाभित्र बंशजको आधारमा नागरिकता दिने र छ महिनाभित्र नागरिकता सम्बन्धी समस्या हल गरिने छ । एक वर्षभित्र राष्ट्रिय परिचय पत्र वितरण हुने छ ।'
एमालेले सार्वजनिक गरेको ७४ पृष्ठको घोषणापत्रमा राष्ट्रियता र समृद्ध लोकतन्त्र बनाउने विषयदेखि स्वतन्त्र र सन्तुलित अन्तर्राष्ट्रियसम्बधका विषयसम्म रहेका छन् । जसमा भौतिक पूर्वाधार विकासका महत्वकांक्षी आयोजनादेखि देशभित्र रोजागरी दिनेसम्मका विषय छन् । पाँच वर्षभित्र देशको अर्थतन्त्रलाई १ सय खर्ब रुपैयाँको बनाउनेदेखि सुरुको वर्षमा ७ प्रतिशत र त्यसपछि दोहोरो अंकमा आर्थिक वृद्धि गर्ने दाबी गरिएको छ ।
घोषणपत्र चुनावी नारैनारा छन् । दिगो र उच्च आर्थिक वृद्धि, भूमिको वैज्ञानिक व्यवस्थापन : प्राकृतिक संरक्षण, आधुनिक कृषि र सम्पन्न किसान, सिँचाई, औद्योगिकरणमार्फत् अर्थतन्त्रको रुपान्तरण, वन र वातावरणको संरक्षण, जलवायु अनुकूलन र विपद् व्यवस्थापन, स्वच्छ खानेपानीको हक, विद्युत तथा उर्जा विकास, गुणस्तरीय शिक्षा र शैक्षिक पूर्वधार, निगोरी नेपालसहितका विषय रहेका छन् ।
पूर्व पश्चिम तथा उत्तर दक्षिण रेलदेखि नेपाली झण्डासहितको पानीजहाज र नेपाली नदीहरु पानीजहाज सञ्चालन गर्ने समेतका विषय रहेका छन् ।
एमालेले चीनसँग भएको पारवहन सन्धिदेखि चुच्चो नक्सा जारी गरेको विषयलाई पनि घोषणापत्रमा प्रमुखताको साथ ल्याएको छ । त्यसैगरी ५० युनिटसम्म निशुल्क विजुली दिनेदेखि महिलालाई सेनेटरी प्याडका लागि प्रत्येक वर्ष १ हजार ५ सय रुपैयाँ उपलब्ध गराउने विषय घोषणापत्रमा उल्लेख छ ।
अब यीनै घोषणापत्रका विषय लिएर ओली शुक्रबारदेखि देशव्यापी चुनावी 'क्याम्पेन' मा निस्कँदै छन् । जसको सुरुवात सुदूरपश्चिमको दार्चुलाबाट हुँदैछ । एमालेले केन्द्रबाट सञ्चालन हुने सबै चुनावी कार्यक्रमहरु अध्यक्ष ओलीमाथि केन्द्रित गरेर निर्माण गरेको छ । एमालेको अध्यक्ष ओलीले मात्रै कम्तीमा ४० जिल्लाको चुनावी सभालाई सम्बोधन गर्ने छन् । उनले दैनिक ३ वटा आमसभा सम्बोधन गर्ने गरि कार्यक्रम तय गरिएको छ ।
यसअघि पार्टीको महाधिवेशनसहितका मुख्य कार्यक्रमहरु एमालेले ओलीलाई नै ओलीलाई नै ब्रान्डको रुपमा सार्ने गरिएको थियो । गत वर्षको असोजमा भएको विधान महाधिवेशन, मंसिरमा आयोजित राष्ट्रिय महाधिवेशनमा पनि ओलीमय थियो ।
