म्याग्दी — मुख्य निर्वाचन अधिकृतको कार्यालयलाई नेकपा (एमाले)का उम्मेदवारद्वयले आचारसंहिता उल्लंघन नगरेको जिकीर गर्दै विपक्षी सत्ता गठबन्धनले आरोपमात्र लगाएको जवाफ पठाएको छ ।
सोमबार मुख्य निर्वाचन अधिकृतको कार्यालयले म्याग्दीबाट एमालेको तर्फबाट प्रतिनिधिसभा सदस्य उम्मेदवार बनेका हरिकृष्ण श्रेष्ठ र तथा प्रदेशसभा (१) का उम्मेदवार यामबहादुर गर्वुजालाई निर्वाचन आचारसंहिता उल्लंघन गरेको विषयमा २४ घण्टे स्पष्टीकरण सोधेको थियो ।
‘आचारसंहिता अनुगमन समितिका अध्यक्ष रामभक्त रानाभाटका अनुसार एमाले उम्मेदवारहरूले मुख्य निर्वाचन अधिकृतको कार्यालयलाई पठाएको जवाफमा निर्वाचन निर्देशिकाको अनुसूची ६ अन्तर्गत नै चुनावी गतिविधि गरेका छौं‚’ जवाफमा भनिएको छ । जवाफमा आचारसंहिता उल्लंघन गरेको कुरा विपक्षीले लगाएको आरोप मात्र भएको जिकिर गरिएको छ ।
प्रतिद्वन्द्वी नेपाली कांग्रेस उपसभापति केवी भण्डारीले उम्मेदवारद्वय श्रेष्ठ र गर्वुजाविरुद्ध निर्वाचन आचारसंहिताविपरीत एमालेका उम्मेदवारहरूले मालिका गाउँपालिका ३ रुममा चामल वितरण गरेको र धवलागिरी गाउँपालिका ४ खिवाङस्थित जनसुधार युवा क्लबलाई गत असोज ६ गते १० हजार रुपैयाँ चन्दा दिएको भन्दै उजुरी दिएका थिए ।
‘मुख्य निर्वाचन अधिकृतको कार्यालयले सोमबार उम्मेदवारद्वय हरिकृष्ण श्रेष्ठ र यामबहादुर गर्वुजालाई स्पष्टीकरण सोधेकोमा मंगलबारको समयसीमाभित्रै प्रतिनिधिमार्फत जवाफ प्राप्त भएको छ‚’ आचारसंहिता अनुगमन समितिका अध्यक्ष रामभक्त रानाभाटले भने, ‘दुवै उम्मेदवारको जवाफमा आफूहरूले आचारसंहिता उल्लंघन नगरेको र विपक्षीले आरोपमात्र लगाएको उल्लेख छ । जवाफमाथि समितिको बैठक बसी छलफलबाट निर्णय गर्ने छ ।’
