राजनीतिक दलको निर्वाचन खर्च सीमा ५ करोड ५० लाख

कार्तिक १५, २०७९

मकर श्रेष्ठ

काठमाडौँ — निर्वाचन आयोगले आउँदो मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनमा राजनीतिक दलका लागिखर्च सीमा ५ करोड ५० लाख रुपैयाँ निर्धारण गरेको छ । दलहरुले समानुपातिकतर्फको बन्दसूचीको आधारमा आयोगले खर्चसीमा निर्धारण गरेको हो ।

कुनै एक दलले प्रतिनिधिसभाको समानुपातिकतर्फ एउटा उम्मेदवार बराबर २ लाख र प्रदेश समानुपातिकतर्फ १ लाख ५० हजार रुपैयाँ खर्च गर्न पाउने छ । यसअनुसार प्रतिनिधिसभातर्फ १ सय १० जना समानुपातिक उम्मेदवारको सूची बुझाउने दलले २ करोड २० लाख रुपैयाँ खर्च गर्न पाउने छ । 

प्रदेश समानुपातिकतर्फ दलहरूले अधिकतम २२० जनासम्मको नाम बुझाएका छन् । त्यस आधारमा कुनै एक दलले ३ करोड ३० लाख रुपैयाँ प्रदेश समानुपातिकतर्फ खर्च गर्न पाउनेछ । 

यसअघि प्रत्यक्षतर्फका उम्मेदवारको खर्च सीमा तोकिसकेको छ । २५ देखि ३३ लाख प्रतिनिधसभातर्फ र प्रदेशसभाका प्रत्यक्ष उम्मेदवारले १५ देखि २३ लाख रुपैयाँ खर्च सीमा निर्धारण गरिसकेको छ । 

निर्वाचन आयोगले उम्मेदवार र दलले मतदाता नामावली खरिद, प्रचारप्रसार सामग्री, गोष्ठी, अन्तरक्रिया, सञ्चारमाध्यम र सामाजिक सञ्जालमा प्रचार, कार्यालय सञ्चालन‚ प्रतिनिधि परिचालन र सवारी साधनमा खर्च गर्न सक्ने जनाएको छ । 

आमनिर्वाचन २०७९

मकर विगत डेढ दशकदेखि पत्रकारिता गरिरहेका श्रेष्ठ शिक्षा, संसदीय मामिला र सुशासनका विषयमा लेख्छन्।

Link copied successfully