सांसद दोहोर्‍याउँदैन जुम्ला

२०४८ सालयताका संसदीय निर्वाचनमा दलले दोहोर्‍याएर जित हात पारे पनि कोही पनि सांसद फेरि सदन छिर्न सकेका छैनन्

कार्तिक ९, २०७९

डीबी बुढा

जुम्ला — हरेक निर्वाचनमा उम्मेदवारहरूको मनोनयन दोहोरिन्छ तर अहिलेसम्म कसैले पनि जित दोहोर्‍याउन सकेका छैनन् । कारण जुम्लेली जनमत बदलिरहन्छन् । दलहरूले पनि जनताको चाहना बुझेर निर्वाचनैपिच्छे नयाँ अनुहार चुनावी मैदानमा पठाउने गरेका छन् ।

जुम्लामा पुरानै अनुहारलाई दलले टिकट दिएर मैदान पठाए पनि जितेको इतिहास नभएको बताउँछन्, लामो समयदेखि जिल्लाको राजनीतिलाई नजिकबाट नियालिरहेका रमानन्द आचार्य । ‘जुम्ली मतदाता नयाँ परिस्थितिअनुसार नयाँ अनुहार चुन्न चाहन्छन्, उनीहरूले हरेक नेताको परीक्षणसमेत गरिसकेका छन्,’ उनले भने, ‘कहिल्यै सांसद नदोहोर्‍याउँदा एक पटक मैदानमा उत्रिएको नेतृत्व पुन: मैदान आउन तर्सिनुपर्ने अवस्था छ ।’

०४८ सालको संसदीय निर्वाचनमा नेपाल मजदुर किसान पार्टीका डिल्लीबहादुर महत सांसद चुनिएका थिए । ०५१ र ०५६ सालमा पनि नेमकिपाकै क्रमश: भक्तबहादुर रोकाया र देवीलाल थापा निर्वाचित भए । संविधानसभाको पहिलो निर्वाचन (०६४) मा माओवादी केन्द्रका नरेश भण्डारी र दोस्रो (०७०) मा कांग्रेसका ललितजंग शाहीले विजय प्राप्त गरे ।

०७४ सालमा माओवादीकै गजेन्द्रबहादुर महत निर्वाचन जितेर प्रतिनिधिसभा पुगे । ‘जनताले दललाई दोहोर्‍याए पनि दोहोरिएर जित्ने व्यक्ति भने कोही छैनन्,’ आचार्यले भने, ‘दोहोर्‍याएर उठेकाहरूले पनि हारे, त्यसैले यहाँको जनमत देशभरमै नमुना छ ।’

उनका अनुसार पञ्चायतकालमा पनि जिल्लामा सांसद दोहोरिएनन् । आगामी मंसिर ४ मा तोकिएको प्रतिनिधिसभा निर्वाचनका लागि अहिले गठबन्धनका तर्फबाट माओवादीकी गोमा गौतम कुँवर प्रतिस्पर्धामा छिन् । उनीसँगै एमालेका रतननाथ योगी र राप्रपाका ज्ञानेन्द्रबहादुर शाही पनि चुनावी मैदानमा छन् । यी सबै नयाँ अनुहारहरू हुन् ।

जुम्ली मतादाताले हरेक निर्वाचनमा नयाँ पात्र छानिरहेको सन्दर्भमा दलहरूले पनि जनताको मनस्थिति बुझैरै उम्मेदवार खडा गरिरहेको बताउँछन्, स्थानीय अगुवा कमल न्यौपाने । ‘०७४ सालमा माओवादी नेता नरेश भण्डारी दोहोरिन सक्ने आकलन थियो तर उनी प्रदेशसभा सदस्यको उम्मेदवार बनेपछि झरेपछि प्रतिनिधिसभामा यसपल्ट पनि नयाँ अनुहारले नै प्रवेश पायो,’ उनले भने, ‘आसन्न निर्वाचनमा पनि सबै दलका उम्मेदवार नयाँ नै छन् । यस्तोमा फेरि नयाँ अनुहार नै संसद् छिर्ने पक्का छ ।’

नागरिक समाजका अध्यक्ष राजबहादुर महत निर्वाचित सांसदले मतदाताको मन जित्न सक्ने गरी काम नगरेका कारण दोहोरिन नसकेको दाबी गर्छन् । ‘एक त जनताको मनोविज्ञान बुझेरै पार्टीहरूले उम्मेदवार दोहोर्‍याउँदैनन्, तर चुनिएका सांसदले चुनावी प्रतिबद्धता पूरा गर्न सक्दैनन्,’ उनले भने, ‘अनि जनमत नबदलिने कुरै भएन ।’

संघीय सांसद बनेका नेतासमेत स्थानीय रूपमा स्थापित हुन नसक्नु र चुनाव जितेर गएपछि मतदातालाई बिर्सनुले यो अवस्था आएको उनको ठम्याइ छ । ‘जुम्लामा हरेक निर्वाचन नेताका लागि परीक्षणस्थल जस्तै बनेको छ,’ उनले भने ।

निवर्तमान सांसद गजेन्द्रबहादुर महतले अहिलेसम्म जितेर गएका सांसदमध्ये सबैभन्दा बढी जुम्ली जनताको समस्या आफूले सदनमा उठाएको दाबी गरे । ‘तर उठाएका अधिकांश समस्या हल हुन सकेनन्, त्यसैले मैले नै दोहोर्‍याएर सांसद नबन्ने घोषणा संसद्मै गरेको थिएँ,’ उनले भने, ‘सांसद बनेर जनताको अपेक्षा पूरा गर्न सकिँदैन भने किन फेरि भोट माग्न घरदैलो गर्नु ? यो त सरासर जनतामाथिको धोखा भएनर ?’

लामो समय राजनीतिमा क्रियाशील रामकृष्ण बुढ्थापाले जनताले आफ्नो अवस्थामा आमूल परिवर्तन चाहेकाले यस्तो परिणाम आएको बताए । ‘जितेर गएपछि उनीहरूसँग न देशको नेतृत्व गर्न सक्ने सामथ्र्य हुन्छ, न उनीहरूले संसद्मा बोलेको भाषण कार्यान्वयन,’ उनले भने, ‘जुम्ली जनताले परिवर्तन चाहेका छन्, तर कुनै नेताले परिवर्तन नल्याएपछि मतदाता पनि नयाँ पात्र छान्न बाध्य छन् ।’

गोमा गौतम कुँवर, माओवादी केन्द्र

रतननाथ योगी, एमाले

ज्ञानेन्द्रबहादुर शाही, राप्रपा

आमनिर्वाचन २०७९

डीबी बुढा कान्तिपुरका जुम्ला संवाददाता हुन् ।

Link copied successfully