१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

सन्दीप लामिछाने आज बिहान १० बजे फर्किने, एयरपोर्टबाटै प्रहरी जिम्मामा

कान्तिपुर संवाददाता

काठमाडौँ — बलात्कारको आरोप लागेका क्रिकेटर सन्दीप लामिछाने आज बिहान १० बजे स्वदेश फर्किने भएका छन् । कतार एयरवेजको फ्लाइटबाट फर्कन लागेको उनले आफ्नो फेसबुक स्टाटसमा लेखेका छन् ।

सन्दीप लामिछाने आज बिहान १० बजे फर्किने, एयरपोर्टबाटै प्रहरी जिम्मामा

नेपाल झर्नेबित्तिकै उनले एयरपोर्टमा प्रहरीसमक्ष आफूलाई बुझाउने छन् । उनले आफूमाथि गलत आरोप लागेको उल्लेख गर्दै छानबिनमा सहयोग गर्ने उल्लेख गरेका छन् ।

आरोपित लामिछानेले आफू एयरपोर्टमाा उत्रिँदा आफ्ना वकिल सरोजकृष्ण घिमिरेलाई पनि उपस्थित गराइदिन प्रहरीलाई यसअघि नै अनुरोध गरेका थिए । उनले आफ्नो सुरक्षाका लागि घिमिरेलाई उपस्थित गराइदिन फेसबुक स्टाटसमा पनि अनुरोध गरेका छन् ।

एक १७ वर्षीया नाबलिग किशोरीले भदौ २१ गते लामिछानेविरुद्ध जबर्जस्ती करणी गरेको भन्दै गौशाला प्रहरी वृत्तमा जाहेरी दिएकी थिइन् । त्यसको भोलिपल्टबाट प्रहरीले जाहेरी दर्ता गरेर अनुसन्धान सुरु गरेको थियो ।

जाहेरीमा गत भदौ ५ गते साँझ लामिछानेले नगरकोट लगेको र त्यही रात फर्किएर गौशालाको एक होटलमा ल्याई जबर्जस्ती करणी गरेको आरोप लगाइएको छ । स्रोतका अनुसार सुरुमा लामिछानेका साथीसँग किशोरीको चिनजान भएको थियो । उनै साथीमार्फत किशोरी लामिछानेको सम्पर्कमा पुगेकी थिइन् । एक महिनाअघि मात्र दोहोरो चिनजान भएका उनीहरूबीच त्यसपछि सामाजिक सञ्जालमा कुराकानी र फोटो आदानप्रदान हुने गरेको थियो । पछिल्लो समय आफू केन्या जान लागेको भन्दै लामिछानेले किशोरीसँग भेट्न चाहेका थिए ।

जाहेरीमा उल्लेख गरेका केही विषय उद्धृत गर्दै प्रहीले जारी गरेको विज्ञप्तिमा लामिछानेले किशोरीलाई भदौ ५ मा काठमाडौं र भक्तपुरका विभिन्न स्थानमा लगी पुनः त्यही रात ११:५५ मिनेटमा गौशालाको एक होटलमा ल्याई पटकपटक जबर्जस्ती करणी गरेको उल्लेख छ । दुवै जना भोलिपल्ट बिहान पौने ७ बजेतिर होटलबाट बाहिरिएका थिए । जाहेरीमा किशोरीले आफूले लामिछानेसँग सामाजिक सञ्जाल (स्न्याप च्याटमार्फत) एक प्रशंसकका रूपमा कुराकानी गर्ने गरेको र त्यसकै आधारमा भेट्न बोलाएर होटलमा लगी बलात्कार गरेको बताएकी छन् ।

जाहेरीलगत्तै प्रहरीले घटनास्थल पुगेर सीसीटीभी फुटेज निकाल्नुका साथै होटल सञ्चालकसँग पनि सोधपुछ गरिसकेको छ । प्रहरीले पीडितलाई ‘एकद्वार संकट व्यवस्थापन केन्द्र’मा विस्तृत स्वास्थ्य परीक्षण गराएको छ ।

उक्त घटनापछि लामिछाने नेपाली टोलीको नेतृत्व गर्दै उनी केन्याविरुद्ध ट्वान्टी–२० अन्तर्राष्ट्रिय शृंखला खेल्न भदौ ६ गते नैरोबी प्रस्थान गरेका थिए । उनी त्यतैबाट सीपीएल खेल्न वेस्ट इन्डिज गए । उनी उतै हुँदा यहाँ उजुरी परेपछि उनी कानुनी प्रबन्ध मिलाउनका लागि उतै बसेर बिहीबार मात्र फर्किन लागेका हुन् ।

प्रहरीले लामिछानेविरुद्ध मुलुकी अपराध संहिता २०७४ अनुसार अनुसन्धान सुरु गरेको छ । संहिताको दफा २१९ मा ‘कसैले कुनै महिलालाई निजको मञ्जुरी नलिई करणी गरेमा वा मञ्जुरी लिएर भए पनि १८ वर्षभन्दा कम उमेरको कुनै बालिकालाई करणी गरेमा निजले त्यस्तो महिला वा बालिकालाई जबर्जस्ती करणी गरेको मानिनेछ’ उल्लेख छ । संहितामा १६ देखि १८ वर्ष उमेरको नाबालिग किशोरीलाई जबर्जस्ती करणी गरेको पुष्टि भएमा १० वर्षदेखि १२ वर्षसम्म कैद सजाय हुने उल्लेख छ ।

प्रकाशित : आश्विन २०, २०७९ ०७:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?