२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६३

सन्दीप लामिछानेविरुद्ध इन्टरपोलको ‘डिफ्युजन नोटिस’ जारी

कान्तिपुर संवाददाता

काठमाडौँ — नाबालिग किशोरी बलात्कारको आरोपमा सम्पर्कविहीन रहेका राष्ट्रिय क्रिकेट टिमका निलम्बित कप्तान सन्दीप लामिछानेविरुद्ध इन्टरपोलले ‘डिफ्युजन नोटिस’ जारी गरेको छ । नेपाल प्रहरीको अनुरोधमा इन्टरपोलले लामिछानेविरुद्ध फरारसूचीमा राख्दै डिफ्युजन नोटिस जारी गरेको हो । उनीविरुद्ध तीन दिनअघि (शुक्रबार) नोटिस जारी भएको प्रहरी प्रधान कार्यालय इन्टरपोल शाखाले जनाएको छ ।

सन्दीप लामिछानेविरुद्ध इन्टरपोलको ‘डिफ्युजन नोटिस’ जारी

उक्त नोटिस जारी भएसँगै लामिछाने इन्टरपोलका सदस्य राष्ट्रका प्रहरीको फरारसूचीमा परेका छन् । यी देशमा लामिछाने भेटिए सम्बन्धित देशका प्रहरीले उनलाई पक्राउ गरी नेपाल प्रहरीलाई बुझाउन सक्छन् ।

गत भदौ ५ गते काठमाडौंको एक होटलमा लगेर नाबालिग किशोरीलाई बलात्कार गरेको आरोपमा लामिछानेविरुद्ध भदौ २२ गते गौशाला प्रहरीमा जाहेरी परेको थियो । घटनाको भोलिपल्टै लामिछाने केन्यविरुद्ध ट्वन्टी-२० श्रृंखला खेल्न नैरोबी प्रस्थान गरेका थिए । उक्त श्रृंखलापछि उनी क्यारेबियन प्रिमियर लिग (सीपीएल) खेल्नका लागि वेस्टइन्डिज पुगेका थिए । जाहेरी दर्ता हुँदा लामिछाने वेस्टइन्डिजमै थिए । त्यहाँ रहँदा नेपाल क्रिकेट संघ (क्यान)को सम्पर्कमा रहेका उनको त्यसपछि भने अत्तोपत्तो छैन ।

जाहेरी परेको भोलिपल्ट भदौ २३ मा काठमाडौं जिल्ला अदालतले लामिछानेलाई पक्राउ गरी अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको थियो । अदालतको आदेशलगत्तै उनी फरारसूचीमा समेटिएका थिए । त्यसको भोलिपल्ट २४ गते फेसबुक र ट्विटरमार्फत आफू निर्दोष रहेको दाबी गर्दै छिट्टै नेपाल फर्किएर कानुनी लडाइँ लड्ने बताएका उनी अहिलेसम्म नेपाल फर्किएका छैनन् । फेसबुकमा उनले आफू कुन देशमा रहेको भन्नेबारे पनि केही खुलाएका छैनन् ।

आइतबार पनि उनले पुनः फेसबुकमार्फत आफूमाथि लागेको आरोप निराधार रहेको भन्दै कानुनी उपचार खोज्ने बताएका थिए । त्यसको भोलिपल्टै प्रहरीको अनुरोधमा उनलाई इन्टरपोलले डिफ्युजन नोटिसमा समेटेको हो ।

प्रकाशित : आश्विन १०, २०७९ १९:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?