कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४४

सबै आरोपको सामना गर्न तयार छु : सन्दीप लामिछाने

काठमाडौँ — बलात्कारको आरोप लागेका सन्दीप लामिछानेले आफूमाथि लागेका सबै आरोपको सामना गर्न तयार रहेको बताएका छन् । शुक्रबार सामाजिक सञ्जालमार्फत उनले आफूमाथि लागेका सबै आरोप आधारहीन रहेको बताउँदै आरोपको सामना गर्न तयार रहेको बताएका हुन् ।

सबै आरोपको सामना गर्न तयार छु : सन्दीप लामिछाने

उनले क्यारेबियन प्रिमियर लिग (सीपीएल) बाट बिदा लिएर केही दिनमा नेपाल फर्किनेसमेत बताएका छन् । ‘म निर्दोष छु र नेपालको सम्मानित कानुनप्रति पूर्ण विश्वास राख्दछु‚’ लामिछानेले लेखेका छन्‚ ‘मैले सीपीएलबाट बिदा भएर केही दिनमा नेपाल फर्किने निर्णय गरेको छु । सबै आरोपहरूको सामना गर्न म तयार छु ।’

आफू निर्दोष भएको दाबी गर्दै लामिछानेले निर्दोषलाई न्याय मिल्ने विश्वास व्यक्त गरेका छन् । आफूमाथि लागेका सम्पूर्ण आधारहीन आरोपको सामना गर्ने बताउँदै उनले भनेका छन्‚ ‘निर्दोषलाई न्याय मिलोस् । संलग्न सबैमाथि उचित अनुसन्धान होस् । आशा गर्छु कि कानुनले सबैलाई समान व्यवहार गर्छ ।’

गत मंगलबार १७ वर्षीया एक नाबालिग किशोरीले लामिछानेविरुद्ध जबर्जस्ती करणी गरेको भन्दै गौशाला प्रहरी वृत्तमा जाहेरी दिएकी थिइन् । त्यसको भोलिपल्ट बुधबार प्रहरीले जाहेरी दर्ता गरेर अनुसन्धान सुरु गरेको थियो ।

लामिछानेले भने क्यानका कार्यवाहक सचिव प्रशान्त मल्लसँगको टेलिफोन कुराकानीमा आफू निर्दोष भएको र सीपीएल सकिनेबित्तिकै वेस्ट इन्डिजबाट फर्किने बताएका थिए । लामिछाने नेपाली टोलीको नेतृत्व गर्दै उनी केन्याविरुद्ध ट्वान्टी–२० अन्तर्राष्ट्रिय शृंखला खेल्न भदौ ६ गते नैरोबी प्रस्थान गरेका थिए । उनी त्यतैबाट सीपीएल खेल्न वेस्ट इन्डिज गएका हुन् । बिहीबार बिहान उनीसम्मिलित टिम जमैका तलावाजको खेल भए पनि उनलाई भने खेलाइएको थिएन ।

जाहेरीमा गत भदौ ५ गते साँझ लामिछानेले नगरकोट लगेको र त्यही रात फर्किएर गौशालाको एक होटलमा ल्याई जबर्जस्ती करणी गरेको आरोप लगाइएको छ । स्रोतका अनुसार सुरुमा लामिछानेका साथीसँग किशोरीको चिनजान भएको थियो । उनै साथीमार्फत किशोरी लामिछानेको सम्पर्कमा पुगेकी थिइन् । एक महिनाअघि मात्र दोहोरो चिनजान भएका उनीहरूबीच त्यसपछि सामाजिक सञ्जालमा कुराकानी र फोटो आदानप्रदान हुने गरेको थियो । पछिल्लो समय आफू केन्या जान लागेको भन्दै लामिछानेले किशोरीसँग भेट्न चाहेका थिए ।

प्रहरीले लामिछानेविरुद्ध मुलुकी अपराध संहिता २०७४ अनुसार अनुसन्धान सुरु गरेको छ । संहिताको दफा २१९ मा ‘कसैले कुनै महिलालाई निजको मञ्जुरी नलिई करणी गरेमा वा मञ्जुरी लिएर भए पनि १८ वर्षभन्दा कम उमेरको कुनै बालिकालाई करणी गरेमा निजले त्यस्तो महिला वा बालिकालाई जबर्जस्ती करणी गरेको मानिनेछ’ उल्लेख छ । संहितामा १६ देखि १८ वर्ष उमेरको नाबालिग किशोरीलाई जबर्जस्ती करणी गरेको पुष्टि भएमा १० वर्षदेखि १२ वर्षसम्म कैद सजाय हुने उल्लेख छ ।

जाहेरीमा उल्लेख गरेका केही विषय उद्धृत गर्दै परिसरले बुधबार जारी गरेको विज्ञप्तिमा लामिछानेले किशोरीलाई भदौ ५ मा काठमाडौं र भक्तपुरका विभिन्न स्थानमा लगी पुनः त्यही रात ११:५५ मिनेटमा गौशालाको एक होटलमा ल्याई पटकपटक जबर्जस्ती करणी गरेको उल्लेख छ । दुवै जना भोलिपल्ट बिहान पौने ७ बजेतिर होटलबाट बाहिरिएका थिए । जाहेरीमा किशोरीले आफूले लामिछानेसँग सामाजिक सञ्जाल (स्न्याप च्याटमार्फत) एक प्रशंसकका रूपमा कुराकानी गर्ने गरेको र त्यसकै आधारमा भेट्न बोलाएर होटलमा लगी बलात्कार गरेको बताएकी छन् ।

जाहेरीलगत्तै प्रहरीले घटनास्थल पुगेर सीसीटीभी फुटेज निकाल्नुका साथै होटल सञ्चालकसँग पनि सोधपुछ गरिसकेको छ । प्रहरीले पीडितलाई ‘एकद्वार संकट व्यवस्थापन केन्द्र’मा विस्तृत स्वास्थ्य परीक्षण गराएको भए पनि स्वास्थ्य परीक्षण रिपोर्टबारे भने केही खुलाएको छैन ।

प्रकाशित : भाद्र २४, २०७९ ०७:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?